प्रिय बाउ, लोकसेवा अभागी छोरालाई माफ गर्छौ ?

bhimkanta Bhandari
बाउ, म अर्ध भइसकें। अब यो वर्ष लोक सेवा रोकियो भने ३ वर्ष खुल्दैन। त्यसपछि त मेरो उमेर पनि जान्छ। त्यही भएर बाउ अब १ हप्ता हेर्छु, यदि विज्ञापन रद्द भए म यतैबाट खाडी जान्छु। ऋण तिरेर मात्र गाउँ फर्किउँला। तिम्री बुहारी र नातिलाई गाउँ पठाई दिँदैछु। मलाई क्षमा गरे है बाउ। म नेपाल बस्न नपाउने भएँ, तिमीले सोचेजस्तो नेपालको हाकिम पनि नहुने भएँ।
लाेकपाटी न्यूज

भीमकान्त भण्डारी

बाउ शाष्टङ्ग दण्डवत्,

आराम छु, आराम चाहन्छु। घर परिवारमा आमा, बहिनी पनि सञ्चै होलान् । भैंसी ब्याउने समय भएको थियो, भैंसी ब्यायो कि नाई ? कि गत वर्षजस्तै भैंसी ब्याउने समयमा पाडो उल्टो परेर भैंसीले संसार त छोडेन ? बाउ, मलाई गत वर्षको याद आउँछ। छोरा बुहारी काठमाडौंमा बसेर लोक सेवाको तयारी गरेका छन्। नाति पनि छ। नाति, छोरा, बुहारीलाई यसो अलिअलि घ्यू खान पाउन भनेर ऋणमाथि भए नि ६० हजारमा भैंसी किनेर लिएको वर्ष बितेको छैन। यस्ता काम सकि नसकी कतिसम्म गर्‍यौ है बाउ तिमीले मेरा लागि ! अब त बिस्तारै लाग्दैछ तिम्रा लागि म बोझको रुपमा पृथ्वीमा जन्म लिएँ कि !

बाउ आमा तिमीहरुले मेरा लागि छोरा बुहारीले पढेका छन्, यो देशमा ठूला सरकारी जागिरे बन्छन् भनेर कतिसम्म गर्‍यौं। माथिल्ला घरे साहुले तिमीलाई कतिपटक वचन लगाएको मैले आफै कति सुनेको छु कति । ठूलाबोटे साहुले त गोठबाट बाख्रा फुकाएर लगेको ४ पटक भइसक्यो। यो सबै म अभागीका कारणले भएको हो बाउ, मलाई माफ गर। तिमीले मेरा लागि कतिपटक आँशुसँग मुछेर खोले खायौ, कति रात निद्रा लागे पनि मेरै लागि ज्यामी काम गर्‍यौ, कति रात निद्रा लागे पनि मेरै बारेमा सोच्दासोच्दै रात कटायौ। तिमी त्यसै मेरा बाउ भएका रहेनछौ। तिमीले मेरा लागि जति गर्दैछौ, त्यसको लाख भागको १ भाग पनि बाउ मैले तिम्रा लागि गर्न सकिनँ।

‘देशभरि १५ हजार कर्मचारी खुल्ने रे’ भन्ने तिमीले त्यो तिम्रो प्यारो रेडियोबाट समाचार सुन्दा ठूले साहुलाई तिमीले ठूलो छाती गरेर ‘मेरा छोरा बुहारी अब हाकिम बन्छन् भनेर १ लाख ऋण लिएका थियौ, अनि माझारे ठूलदाइ विदेश जाने बेला काठमाडौं पढाइदिएका थियौ। त्यो पैसामध्ये ३० हजार खनक्क लगेर लोक सेवा ट्युसन पढाउने ठाउँमा बुझाएँ, ५ हजार भाडा तिरें, ५ हजारका किताब किनें, ८ हजारको लोक सेवाको फर्म भरें, अरु १५ हजार पूरानो ऋण तिरें। बाँकी पैसा मसँगै छ। बाउ, हल्ला त १५ हजारको भयो। तर, खुल्ने बेलामा ९ हजार मात्र खुल्यो, तैपनि मनमा आँट, आशा बोकेर अन्तिम पटक भनेरै लोक सेवाको तयारी गर्दैछु।

तर, संसदीय समितिले ‘लोक सेवाको विज्ञापन रद्द गर्नू’ भन्ने निर्देशन दिएपश्चात् म अर्धपागल भएको छु। सायद तपाईको छोरो अब ‘हापमाइन्ड’ हुन्छ होला। यसका धेरै कारण छन् बाउ, हालसम्म पढेर पनि नाम निकाल्न नसक्नु, लोक सेवाको विज्ञापन रद्द गर्न निर्देशन दिनु, आफ्ना नातेदार आफन्तलाई करारमा नियुक्ति गर भनेर समितिले निर्देशन दिएको प्रचार हुनु। यी सबै कारणले म हापमाइन्ड भइसकें। अब तिमी आफैं छोरालाई भन म के गरुँ ? तिमीसँग अनुहार त देखाउन सकुलाँ। तर, तिमीले मेरा छोरा बुहारी हाकिम हुन्छन् भन्दै रिन खोज्दै हामीलाई पठाउने साहुसँग के गरी मुख देखाउँ ? तिमी के गरी मुख देखाउला ? बाउ मलाई क्षमा देउ।

समितिले विज्ञापनमा त्रुटि देखिए तापनि खारेज गर्न नभनी संशोधन गर्न निर्देशन दिएको भए पनि त हुन्थ्यो होला। बाउ, हुन त तिमी पनि ‘क, ख’ राम्रोसँग पनि पढ्न नजान्ने भएर नै त हो, छोरो ठूलो मान्छे होस् भनेर नै हामीलाई पढाउने सपना बोक्यौ र पढायौ। माननीयले नजानेको कानून, ऐन, नियम तिमी हामीले त कहाँ जान्न सक्छौं र ? यदि विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भए पनि रद्दभन्दा संशोधन गर्न निर्देशन गरेको भए पनि तिनको के जान्थ्यो होला र, होइन र बाउ ? बरु, त्यसका लागि थप म्याद दिन पनि त सकिन्थ्यो होला।

बाउ, तिम्रो रहर इच्छा छोरो सरकारी जागिरे होस्, नेपालमै बसोस्, यहीँ इलम गरोस। मलाई पनि यसो दुख पर्दा मलाइ हेरोस् भन्ने थियो। तर, बाउ ! अब त म हरेस खाइसकें। नेपालबाट मलाई राज्यले त विदेश गएर रेमिट्यान्स पठाई भन्न थाल्यो। म अब विदेश जाने तयारी गर्छु। बाउ, मलाइ क्षमा देउ। समितिले कर्मचारी करारमा राख्न निर्देशन दियो, तिमी किसान, गाउँको गरीब, म तिम्रो छोरो। अब आफै भन बाउ, तिम्रो छोरोलाई कसले करारमा जागिर लगाइदिन्छ ? न पावर, न पैसा, न कोही नातागोता, न कोही जनप्रतिनिधि। त्यसैले बाउ, टुप्पी कसेर लोक सेवा लडेर जागिर खाने जुन धोको थियाे, त्यो धोको धोकोमा मात्रै सीमित हुने भयो।

बाउ, म अर्ध भइसकें। अब यो वर्ष लोक सेवा रोकियो भने ३ वर्ष खुल्दैन। त्यसपछि त मेरो उमेर पनि जान्छ। त्यही भएर बाउ अब १ हप्ता हेर्छु, यदि विज्ञापन रद्द भए म यतैबाट खाडी जान्छु। ऋण तिरेर मात्र गाउँ फर्किउँला। तिम्री बुहारी र नातिलाई गाउँ पठाई दिँदैछु। मलाई क्षमा गरे है बाउ। म नेपाल बस्न नपाउने भएँ, तिमीले सोचेजस्तो नेपालको हाकिम पनि नहुने भएँ।

जागिरे त हुने थिए होला। तर, म कोही पावरवालाको छोरो परिनँ। आखिर भएँ त एक गरीब, ४ महिना खान पुग्ने किसानको छोरो भएँ। बाउ, मलाइ माफ त गर्छाै नि ? बाउ, मजस्तै आफ्ना बाउआमासँग २ लाख जना छोराछोरीले माफ माग्छन् होला। त्यसमध्ये एक अभागी बाउ तिमी पनि भयौं, मलाई माफ गर बाउ तिम्रो ऋण तिर्न सकिनँ, सपना साकार पार्न सकिनँ। दोष कसलाई दिउँ व्यवस्थालाई कि नेतालाई ? कि भाग्यलाई सरापुँ ? बाउ, अहिलेलाई यति नै। अर्को पत्र खाडी पुगेपछि कोर्ने नै छु। बाउ, अहिलेलाई बिदा चाहन्छु।

उही तिम्रो छोरो भीमकान्त भण्डारी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्