राजपा अध्यक्षमा महतो र ठाकुर भिड्न्त, कसले मार्ला बाजी ?

Mahato-Thakur
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) काे अध्यक्षका लागि राजेन्द्र महतो र महन्थ ठाकुर भिड्ने भएका छन्। पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेको बताइएकाे छ। राजपामा आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको हाे।

पार्टीको विधान संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था छ। यसअघि वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा त्यसलाई खारेज गर्दै आगामी महाधिवेशनबाट एकल नेतृत्वमा पार्टी जान लागेको हो। राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्षीय व्यवस्थाअनुसार हुने बताए। २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ।

पार्टीको विधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकामा अब उप्रान्त महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा अघि बढ्ने व्यवस्था हुनेछ’ भन्ने संशोधन भइसकेको छ।

७ वैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका विभिन्न ६ मधेसवादी दलबीच एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो। ती ६ वटै दलका संयोजकहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन्। अहिलेसम्म पार्टी चक्रीय प्रणालीअनुसार आलोपालो अध्यक्ष हुने व्यवस्था रहेकामा महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाँदै छ। याे समाचार आजकाे राजधानी दैनिकमा प्रकाशित छ।