चलचित्र कलाकार संघको चुनाव भोलि, कसले मार्ला बाजी ?

Sarita
लाेकपाटी न्यूज

काठमाडौं, २४ जेठ। नेपाल चलचित्र कलाकार संघको चुनाव जेठ २५ अर्थात भोली हुने भएको छ। गतवर्ष चैत २३ गते हुने भनिएको निर्वाचन स्थगित भएपछि, अन्ततः शनिबार निर्वाचन हुने पक्का भएको हो।

शुरुमा अध्यक्ष पदका लागि कलाकार तथा निर्देशक लय संग्रौला, कलाकार रविन्द्र खड्का, अभिनेत्री सरिता लामिछाने तथा नायक विशाल बिष्टले उम्मेदवारीमा नाम टिपाए थिए। तर, अहिले भने संग्रौला र विष्टले आफनो उम्मेदवारी फिर्ता लिएका छन्। अब भने रविन्द्र खड्का र सरिता लामिछानेबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुनेभएको छ।

उपाध्यक्ष पदका लागि मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती प्रतिस्पर्धीका रुपमा रहेका छन्। महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाले प्रतिस्पर्धा गर्दा सचिवमा कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी तीन जनाको उम्मेद्वारी छ।

यस्तै कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् भने सह–कोषाध्यक्षका लागि अभिनेत्री पवित्रा आचार्य र डीबि बम्जन भिड्दैछन्। यसका साथै सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन्।

अहिले कलाकार संघमा चुनावी माहोल चर्किएको छ। कलाकारहरु सामाजिक सञ्जाल साथै विभिन्न इभेन्टहरुमा भएको जमघटमा भोट मागिरहेका छन्। अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी सरिता लामिछानेले केहीदिन अघि राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संघको भवन निर्माण गर्ने बताएकी थिइन।

अध्यक्ष पदका अर्का उम्मेदवार रविन्द्र खड्का पनि सरितालाई टक्कर दिन विभिन्न चुनावी कार्यक्रमहरुल ल्याइरहेका छन्। उनले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरे। उनले पनि संघको भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। दुवैले एउटै उदेश्य लिएर चुनावमा प्रतिस्पर्धा गर्दा कसले बाजी मार्ला त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्