काठमाडौं, २० जेठ। नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच पारस्परिक समझदारी भएको छ। हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित मापदण्ड तथा सिफारिसहरु, निर्देशिकाहरु, नागरिक उड्डयन सम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रममा रहेका प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्न उक्त पत्र आदान प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उक्त प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच सो सम्बन्धी समझदारीपत्र आदान प्रदान गरे। समझदारीबारे कुराकानी गर्दै उक्त प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवचन्द्र लाल कर्णले विश्वका सम्पूर्ण हवाईको नियमन गर्ने संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा प्रतिपादित कानुन सबै सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने बताए।
नेपालका सबै विमानस्थलको सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी र प्राधिकरणबीचको यस समझदारीले सबै विमानस्थलमा अझै गुणस्तरीय सुरक्षा सेवा प्रदान गर्न मद्धत पुग्ने भएकोले समझदारी गरिएका उनको भनाइ थियो। कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्राधिकरणका उच्चपदस्थ अधिकारीहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति थियो।



लाेकपाटी न्यूज

