रोल्पामा एक शिक्षिका जसले ९ विद्यार्थीको एकै पटक हात भाँचिदिइन्

Rolpa pic
लाेकपाटी न्यूज

रोल्पा,२० जेठ। रोल्पाको रुम्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ।

सो विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यालयमा ढिलो गरी आएको भन्दै ती विद्यार्थीमाथि कुटपिट गरेकी हुन्।
घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन्। घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको एवं अनुहार तथा हातसमेत सुन्निएको छ। जोर्नीमा दबाब देखिए पनि केही दिनपछि सुधार आउन सक्ने डा. शर्माले बताए।
शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारी बाँठाले बताइन्।
‘विद्यार्थीहरू लाइन लाग्दै थिए, हामी पनि स्कुलमा आइपुग्यौं,’ बाँठाले भनिन्, ‘मिसले किन ढिलो आयौ भनेर हामीलाई लौराले धमाधम हान्न थाल्नुभयो। अरू शिक्षक शिक्षिका हेर्न नसकेर अफिसतर्फ दौडिनुभयो।’

शिक्षिकाको कुटाइबाट घाइते हुने अन्य विद्यार्थीमा प्रेम पुन, सन्तोष बुढा मगर, दीपा बाँठा, वीरबहादुर घर्ती, अरुणा पुन, सुशीला विक, विपना घर्ती, मनकुमारी घर्ती र पूर्णकली छन्। दुखाइका कारण रातदिन सताउने र लेख्न, पढ्नसमेत नसकेको अभिभावक प्रताप घर्तीले बताए।

केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छोडेको विद्यार्थीले बताएका छन्। वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्