ललितपुर, १९ जेठ । सानेपामा तीन जीप र एक मोटरसाइकल ठोक्किएर भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
आइतबार अपरान्ह भएको सो दुर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरेको मृत्यु भएको छ। केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे। मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन।
दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल र्पुयाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको प्रहरीले जनाएको थियो। नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ। ‘हाम्रोमा ल्याउनुभन्दा अगाडि नै दुवै जनाको मृत्यु भइसकेको थियो। सायद घटनास्थलमै मृत्यु भएको हुनुपर्छ’, अस्पताल स्रोतले भनेको छ।
पत्रकार घिमिरे मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए। अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेको थियो।



लाेकपाटी न्यूज
