विद्रोही र सेनाबीच भिडन्त, सेनाका उच्च कमान्डरको मृत्यु

yemen pic 1
लाेकपाटी न्यूज

यमन, १७ जेठ। यमनको सरकारी फौजका एक जना बरिष्ठ कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ।

यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो।साउदी अग्रसरतामा हवाई आक्रमण तिब्र भएसँगै ढाली प्रान्तमा पहिल्ला केही दिनदेखि सशस्त्र सङ्घर्ष चर्किएको छ।

भिडन्तकै क्रममा सरकारी सेनाका ब्रिगेड कमान्डर सैफ सुक्राको मृत्यु भएको हो। स्रोतका अनुसार अरु दुई जना सैनिक अधिकृतको पनि ज्यान गएको छ। स्रोतका अनुसार ढालीमा भारी हातहतियार र तोपको समेत प्रयोग गरिएको छ। जनधनको निकै क्षति भएको अनुमान गरिएको यस भिडन्तका क्रममा हुथी विद्रोहीका लडाका पनि मारिएका र केही घाइते भएका छन्।

स्थानीय अधिकारीहरुले हुथी विद्रोही विरुद्ध ढालीमा ठूलो सैन्य कारबाही थालिएको बताएका छन् । ढालीका चाखाब, सुलेम र अलराबीलाई सरकारी फौजले पुनः नियन्त्रणमा लिएको छ। गत बुधबार साउदी गठबन्धनले ढालीमा हवाई आक्रमण तिब्र बनाइएको जनाएको थियो।

सरकारी नियन्त्रणमा रहेको ढाली प्रान्तमा केही सातादेखि दुबै पक्षबीच भिषण युद्ध चर्किएको छ। यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ। हुथी विद्रोहीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अब्द–राब्बु मन्सुर हाडीलाई निर्वासित गर्न बाध्य पारेका थिए, तर साउदी गठबन्धनको सहयोगमा राष्ट्रपति हाडी पुनः सत्तामा रहेका छन्। –सिन्ह्वा