ईच्छुकका सपना र आदर्श नभुलौं

rasuwali kabi
लाेकपाटी न्यूज

रसुवाली कवि/काठमाडौं। वि.सं २०७६ सालको ईच्छुक बलिदानी दिवसको दिन एउटा दृश्य देखियो । माओवादी आन्दोलनलाई फासिस्ट दाबी गर्ने ईच्छुकको बलिदानलाई घृणा गर्ने एक जना पात्र मञ्चमा उक्लिए । ईच्छुकको नाममा पुरस्कार थापे । अहो ! इतिहासमा कस्तो बिडम्वना दोहोरिएको ? यो कस्तो मजाक हो ? के ती पात्रलाई यो पुरस्कार लिन लाज लागेन ? मलाई ननिको लाग्यो ।

ईच्छुकलाई आदर्श मान्ने धेरै जना छन् । नयाँ कोटमा ईच्छुकको लोगो टासेर हिँड्ने धेरै कमरेड समाजवादका रुमानी भाषण गरिरहेका भेटिन्छन् । तर, एकदिन ईच्छुकको श्राद्ध गर्ने अरु दिन उनलाई भुल्ने रित दोहोरिन थालेको छ ।

ईच्छुकको नाममा साँस्कृतिक प्रतिष्ठान पनि बनेको छ । यसले के गर्दैछ ? यसको बजेटमा हिनामिना भएको समाचार बाहिर आयो । ईच्छुकको नामलाई बजारीकरण गर्ने काम गरियो । यसैलाई बिक्री गरेर प्रगतिशील हुने होड चलेको छ । यसरी ईच्छुकलाई सम्झनु कर्मकाण्डी काम हो । ईच्छुकको नाममा प्रेमपत्र लेख्नु झन् नाटक हो ।

एक पटक खेम थपलियाको लेखनमा रहेको ईच्छुक सम्बन्धि नाटक ‘उनी मरेका छैनन्’ सर्वनाम नाटक घरमा मन्चन भयो । नाटकले राम्रै दर्शक पायो । तर, यसका निर्देशकले बुद्धनगरको पार्टी कार्यालयमा धर्ना बस्नेसम्म मन बनाए । के ईच्छुकको नाममा नाटक बनाएर आर्थिक उपार्जन गर्नु विद्रोह हो ? त्यतिबेलाको कार्यदिशा जनयुद्धको जगमा जनविद्रोहलाई यस्ता कामले गति दिन सक्थ्यो त ?

हिजो ईच्छुकले जनपक्षीय पत्रकारिता गर्यो भनेर यातना दिने हत्या अभियोग लागेका एकजना प्रहरी अहिले अनलाइन चलाउन थालेका छन् । त्यो पत्रिका अहिले मानव अधिकार, सुशासन र समृद्धिको गीत गाउछन् । नागरिकको अधिकार खोसिएको पप गीत गाउँछ । यस्तो स्थिति छ । ईच्छुक बारे धेरै लेखिए, बोलिए । उनका कविताका चर्चा पनि उत्तिकै भयो । पाठ्यक्रममा समेत ईच्छुकका कविता पढ्न सकिन्छ । तर, हामी उनको पथमा हिँड्न सकेका छैनौं । उनको सपनालाई पछ्याउन सकेका छैनौं ।

ईच्छुकको चिहानबाट वर्तमानलाई नियाल्दा

हिजो ईच्छुक जेका लागि लडे । आज त्यही कुरा दोहोरिएको छ । सपनाहरू मरिरहेका छन् । युग परिवर्तनको अभिलाषा अलपत्र छ । दलित जनजाति श्रमजीवी जनतालाई अत्याचारी व्यवस्था उस्तै छ । हामी ईच्छुकका कविता पढेर घर फर्किरहेका छौं । टिभीमा भारतीय माओवादीले चुनाव हारेको भन्दै मोदीको भाषण सुनेर मख्ख परिरहेका छौं ।

उनिसँगै पत्रिका चलाउने, रिपोर्टिङ गर्ने, रातभर प्रेसमा बसेर पत्रिका छाप्ने साथीहरु आज राशिफल छापेर भाइरल भइरहेका छन् । प्रिय ईच्छुक तिमीलाई सम्झनु खास कुरा होइन । खास कुरा चाहिँ तिमीले देखाएको बाटोमा अविचलित भई हिँड्नु हो । हिजो तिमीले देखेको सपना र आजको यथार्थमा फरक होला । तर, साझा गन्तव्य एकै हो । हामी चढ्ने क्षितिज दुर छ, टाढा छैन ।

ईच्छुकप्रति राज्यको उदासीनता

महान् शहिद ईच्छुकप्रति नेपाल सरकार पुर्वाग्रही छ । बालकृष्ण ढुङ्गेलले एक जना कुख्यात गुण्डालाई कारबाही गर्दा जेलमा सडिनु पर्यो । तर, आज नेपाल प्रहरी सेनको गिरफ्तारी गरेको सम्म पनि स्वीकार गर्दैन । सेनलाई दिएको यातना र उनको दर्दनाक हत्या बारे राज्यले कुनै जवाफ दिन सकेको छैन । युद्धमा यसरी नै निकै मानिसहरू बेपत्ता पारिए र सरकारले बेपत्ता पारेका अधिकांशको हत्या पनि भएको विद्रोही पक्षले दाबी गरेका छन्। मानव इतिहासमा नै क्रुर मानिने यातनागृहमा याताना दिएर मारिने आस्थाका बन्दीहरुको चित्कार वास्तवमा यो युगको दर्दनाक मानव आवाज हुन् ।

सेनलाई राज्यले शहिद भन्नेसम्म आँट गर्न सकेको छैन । सेनले आस्था राख्ने पार्टीकै सरकार बन्यो । उनका सहयात्रीहरु मन्त्री बने । तर, इतिहासमा उनलाई अपहेलित गर्ने काम मात्र भयो । नेपाल टेलिभिजनमा जिएम भएका वरिष्ठ कमरेड ईच्छुक सम्बन्धि डकुमेन्ट्रीसम्म बजाउन मानेनन्, पैसाको बार्गेनिङ गरे ।

ईच्छुकको नाममा बजारमा धेरै ठूला साँस्कृतिक क्रान्तिका खेती भएका छन् । कवि गोष्ठीदेखि आँसु गोष्ठीसम्म भएका छन् । तर, उनका कवितालाई आम जनतासम्म लैजान सकिएको छैन । उनको विचारलाई गाउँसम्म पुर्याउन सकिएको छैन । उसो त क्रान्तिकारी जनतामा ईच्छुक एउटा युगिन लोकगीत जस्तो भइसके । निमुखा श्रमजीवी जनताका उनी प्रिय मान्छे थिए, त्यो युगभरी रहिरहने छ ।

आजको वामपन्थी आन्दोलनले उनलाई बिर्से पनि, तिरस्कार गरे पनि, अपमान गरे पनि, इतिहासको वेगलाई कसैले रोक्न सक्ने छैन । हजारौं फर्मान विरुद्ध एउटा योद्धाको बलिदान पहाडझैं अजङ्गको हुन्छ । लामखुट्टे झिँगा वा सुलसुलेले चाहँदैमा वीरताको गति कहाँ रोकिन्छ र ? पहाडको टुप्पोवाट क्षितिजलाई अङ्गालो हाल्दै घामहरु झुल्किरहन्छन् । रात्रीलाई चिर्दै जूनहरुले शीतलता र उज्यालो छरिरहन्छन् ।

यो सत्ता हाम्रो होइन । यो सत्तासँग कृष्ण सेनको आदर्श जोडिँदैन । यसैले यो सत्तासँग के गुनासो ? सत्ता त व्यापार गर्छ, लुट र झुटको खेती गर्छ । यदि सत्ता हाम्रो हुँदो हो त चन्द्रागिरीको डाँडामा भालेश्वर महादेवको मुर्ति किन बन्थियो । कमसेकम पनि त्यहाँ ईच्छुक स्मारक बन्थियो ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्