काठमाडौं। स्वस्थ र सुखी जीवन प्रत्येक मानिसको चाहना हुन्छ। तर, चाहनाले मात्र जीवन सुखी र स्वस्थ बन्न सक्दैन। त्यसका लागि हाम्रै जीवनशैली, आहारव्यहार मूख्य रुपमा जिम्मेवार हुन्छ। के खाने, के नखाने, के गर्ने, के नगर्ने ? जस्ता विषयमा ध्यान दिन सकेमा जीवन स्वस्थ बन्छ।
स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्ः
१. निन्द्रा – निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई निन्द्रा आवश्यक हुन्छ। व्यस्त जीवनशैलीका कारण केही मानिस पर्याप्त निन्द्रा पाउन सक्दैनन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पर्याप्त सुत्न नपाउने मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै मानसिक समस्या उत्पन्न हुने खतरा हुन्छ।
२. पानी – पानी सम्पूर्ण जीवित प्राणीलाई बाँच्नका लागि नभई नुहने तत्व हो। पानीबिना जीवनको अस्तित्व नै असम्भव छ। मानिसको शरीर पानीले नै बनेको हुन्छ र शरीरमा बारम्बार पानी पूर्ति गर्नुपर्छ। यसका लागि सक्दो बढी पानी पिउनुपर्छ। पानीले शरीरबाट अनावश्यक उत्तेजक पदार्थ फाल्न सहयोग गर्छ। स्वस्थ रहन र अन्य रोगबाट बँच्न पनि एक वयस्क मानिसलाई दैनिक कम्तिमा ५ लिटर पानी चाहिन्छ। पानीले शारीरिक र मानसिक रुपमा स्फूर्ति दिन्छ।
३. उचित भोजन – स्वस्थ जीवनशैलीका लागि अर्को आवश्यक तत्व हो स्वस्थ भोजन। यसका लागि स्वस्थ फलफुल, सागसब्जी, मासु, गेडागुडी नियमति उपभोग गर्नुपर्छ। तेलीय, चिल्लोयुक्त, सोडियम बढी भएको खानेकुरा कहिल्यै खानुहुन्न।
४. व्यायाम – स्वस्थ जीवनशैलीका लागि व्यायाम पनि एउटा महत्वपूर्ण पाटो हो। नियमित व्यायाम गरेर स्वास्थ्यसम्बन्धी केही समस्यामा सुधार ल्याउन सकिन्छ। ड्युक टुडेका अनुसार स्वस्थ भएर बाँच्न वयस्क मानिस कम्तिमा पनि आधा घन्टा व्यायाम गर्नुपर्छ।
५. सकारात्मक सम्बन्ध – जीवनमा सकारात्मक र मैत्रीपूर्ण सम्बन्धले मानिसको जीवनशैलीलाई अझै स्वस्थ बनाइदिन्छ। कतिपय मानिसले नकारात्मक सम्बन्धलाई महसुस गर्दैनन् जसका कारण उनीहरुमा शारीरिक रुपमा अस्वस्थ हुन्छन्। नकारात्मक सम्बन्धले पेट दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने लगायतका समस्या उत्पन्न हुन्छन्। स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक सम्बन्ध कायम गर्नुपर्छ।
६. विश्राम – दैनिक काममा केही क्षण विश्राम लिनु पनि स्वस्थ जीवनशैलीको अर्को महत्वपूर्ण पाटो हो। आफ्नो बहुमुल्य समय खेर नफाली समय–समयमा ब्रेक लिनुपर्छ। लगातार काम गरिरहँदा शारीरिक तथा मानसिक बोझको अनुभूति हुन्छ। तसर्थ, कामको बीच बीचमा विश्राम लिनु अझ उत्तम मानिन्छ।
७. मानसिक स्वास्थ्य – मानसिक रुपमा स्वस्थ भएमा तपाईंको समग्र स्वास्थ्य जीवनशैलीमा सुधार आउछ। मानसिक पीडा र चिन्ताले शारीरिक रुपमा समेत असर गर्छ। योगा, ध्यान, रमाइलो पार्ने व्यायामबाट तनावमुक्त भई खुसी जीवनयापन गर्नुहोस्। एकाग्रता पनि स्वस्थ जीवनको एक महत्वपूर्ण पक्ष हो।
८. ताजा हावा र सूर्यको घाम – कार्यालय र कामबाट फुर्सद लिएर बाहिरको ताजा मौसमको स्वच्छ हावा लिनुहोस्। शरीरलाई घाम पनि आवश्यक हुने भएकाले कामबाट ब्रेक लिएर घाम लिनुहोस्। बिहानको घाममा भिटामिन डी हुने भएकाले घाम ताप्नु राम्रो मानिन्छ।
९. नियमित स्वास्थ्य परीक्षण – सम्भव भए वर्षमा एकपटक सम्पूर्ण शरीर परीक्षण गर्नुहोस्। नियमित स्वास्थ्य परीक्षणले तपाईलाई शारीरिक स्फूर्तिका साथै मानसिक आनन्द प्रदान गर्छ। मेरो सबै स्वास्थ्य अवस्था ठीक छ भन्ने अनुभूति लिँदा थप स्वस्थ भइन्छ।
१०. मनोबल – मनोबल मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ। कुनै पनि समस्या वा चुनौति सहज रुपमा लिनुहोस्, समस्याबाट नआत्तिनुहोस्। यसले तपाईको जीवनमा सकारात्मक उर्जा र ईच्छाशक्तिको विकास हुन्छ।



लाेकपाटी न्यूज

