अमिनका दुःख

amin
amin
लाेकपाटी न्यूज

स्याङ्जा, १२ जेठ। पढेर लोकसेवामा नाम निकाल्न सके निकै सजिलो हुन्छ भनेर उनी निजामती जागिरमा प्रवेश गरे।सरकारी जागिर खाएपछि जिविकोपार्जनमा सहज हुन्छ भन्ने मान्यताले उनी पनि निजामतीप्रति आकर्षित भएका थिए।

धनगडी जिल्ला जन्मिएका कृष्णदत्त पन्त हाल स्याङ्जाको नापी कार्यालय वालिङ्मा कार्यारत छन्।  अमिन पद रहेका पन्तले कार्यालयको सूचना अधिकारीको जिम्मेवारी समाल्दै आएका छन्। जग्गाको काम साह्रै झन्झटिलो रहेको बताउदै पन्त भन्छन्, ‘फिल्डमा नै गएर नाप्ने काम त बरु सकिहाल्छ तर, कार्यालय फर्किएर सेवाग्राहीको चित्त बुझाउदा निकै समय लाग्छ ।’

छेउ–कुना नमिलेको जमिन र झगडा परेको परिवारको अंश कित्ता गर्ने गरी नाँपजाँच गर्ने जग्गामा बढी समय लाग्ने उनी बताउछन्। उनका अनुसार विवादित नभएको जग्गा नाँप्नको लागि फिल्डमा खासै समय लाग्दैन। कार्यालयको दुरी कति छ भन्नेमा मात्र भर पर्छ। तर, फिल्डमा नापेर आए पश्चात कार्यालयमा गर्नुपर्ने काम अथाह हुन्छ।’ झगडालु परिवारको व्यक्तिपिच्छे अंशको कित्ता काँटको काम गर्दा चार महिना पुगेको अनुभव उनीसंग छ।

‘एउटा रेखा तान्नको लागी चार महिना लाग्छ । तर, अन्य कार्यालयमा दिइने सेवाभन्दा नापीमा आउने सेवाग्राही अमिनको काम झन्झटिलो हुन्छ भन्ने बुझ्दैनन्’ उनले भने, ‘कर्मचारीले काम गर्दिएनन् भन्ने म्यासेज बाहिर जान्छ। एउटा रेखा तान्यो अनि सेवाग्राहीलाई प्रिन्ट गरेर दियो एउटै परिवारको एउटा सदस्यले हुन्छ भन्छ अर्कोले हुदैन। फेरी अर्काले अर्को डिजाइनमा रेखा तान्न लगाउछ। यस्तै–यस्तै कारण कामको समय लम्बिने हो ।’

उनले निजामती भएपछि पाउने सुखभन्दा भिन्न अनुभव बटुलेको बताए। नापी कार्यालय प्रमुख प्रदीप श्रेष्ठ पनि अमिनको काम गर्छन्। अन्य अमिन कर्मचारी व्यस्त हुदाँ र झगडा परेका परिवारको काम नमिल्दासम्म उनी आफै फिल्डदेखी कार्यालयसम्मको काममा खटिने बताउछन्।

यसो त कार्यालय प्रमुखको काम जमिन नाँप्ने र काट्ने मात्र हुदैन। जग्गाको नक्सा उर्ताने काममा पनि उत्तिकै व्यस्त हुने अर्का अमिन रामकृष्ण विक बताउछन्। ‘हामीले काम र क्षेत्र बाँडफाँड गरेर रहेका हुन्छौ’ उनले भने, ‘सवै कर्मचारी मिलेर काम गर्दा सजिलो र छिटो पनि हुन्छ। सल्लाह गरेर नै कोही बाहिर फिल्डमा हिडेका हुन्छौ भने कोही कार्यालयमा नै बसेर सेवा दिन्छौ।

यसले गर्दा एउटा अमिन कर्मचारी बाहिर भएमा कार्यालय आउने सेवाग्राही रित्तो हात फर्किनु पर्दैन्।’ तीन वर्षपहिले वालिङ्मा स्थापित नापी कार्यालयमा प्रमुखबाहेक अमिन पदमा तीन जना कर्मचारी कार्यरत छन्। ‘जागिरको करीब १५ वर्षीय अनुभव छ’ सूचना अधिकृतसमेत रहेका पन्त भन्छन्, ‘वालिङ्मा अहिले हाम्रो टिम एकदम मिलेको छ।

एक–अर्कामा सम्मान् गर्छौ। कार्यालयभित्र र बाहिरी फिल्डमा गर्ने काम सल्लाह गरेर कसले कहाँ गर्ने भन्छौ। कार्यालय प्रमुख र म अधिकांश काम कार्यालयभित्रको नै गर्छौ। बाँकी दुई जना अमिन साथि फिल्डमा खटिनुहुनछ।’ उनले आफूहरु उदाहरण बनेर सेवा दिएको दाबी गरे।

कर्मचारीको सहकार्यले स्याङ्जा बसाईको कार्यकाल स्मरणीय रहने उनको अनुभव छ। अमिनको काम दुखसँगै झन्झटिलो भएकाले विभिन्न जिल्लामा रहदा टिम नमिलेको अनुभव सुनाउदै उनले पुनःभने, ‘टिम मिल्दा काम प्रभावकारी हुन्छ। जतिसुकै गाह्रो र असजिलो काम भएपनि एक–आपसमा सुल्झाउनतर्फ लाग्छौ र सेवाग्राहीले कर्मचारीप्रति सम्मान दिन्छन्।’ उनले सेवाग्राहीको खुशि नै कर्मचारीको जिम्मेवारी रहेको सुनाए।

यसो त अदालतमा मुद्दा मामिला पश्चात मिलापत्रको लागि जग्गाको काम गर्न आउनेहरु पनि निकै भेटिन्छन्।
विदेशमा बसेर वा जिल्लाबाहिर रहेका अधिकाशं मानिसको जग्गा विवादित हुन्छ। उनको अंशियारा सवैलाई चित्त बुझाएर लैजाने काम अमिनको नै रहेको बताउँछन् अर्का अमिन अर्जुन जोशी।

‘यस्ता विवादित जग्गा पटक–पटक नाँप्न फिल्ड जानुपर्ने हुन्छ’ उनले भने, ‘कुनै–कुनै जमिन त यतिसम्म लफडा हुन्छ की काम गर्न नै अन्योल हुन्छ। त्यस्तै नमिलेको जग्गाका धनी पनि नमिलेका नै हुन्छन्। जसले गर्दा एउटै काममा पटक–पटक समय खर्चिनुपर्छ।’

सामान्यतयाः सर्वसाधरणमा जग्गा जमिनको काम मालपोत कार्यालयमा हुन्छ भनिएता पनि सम्पुर्ण काम नापी कार्यालयबाट गर्नुपर्ने हुने कार्यालय प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘मालपोत कार्यालयमा गरिने भनेको काम विग्रिएको कित्ता सच्याउने र नामासरी मात्र हो’ श्रेष्ठले भने, ‘जमिन नाँपजाँचदेखी कित्ता काँट सवै काम नापीमा नै हुने हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्