चितवन, ११ जेठ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ भवनको स्थानपनासँगै नयाँ तरिकाले सभ्य, शिष्ट एवम् नागरिकमैत्री व्यवहार गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
चितवन भरतपुर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय चनौलीको नियमित बजेटबाट नवनिर्मित व्यारेक भवन तथा मेसको समुद्घाटनको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा प्रहरी महानिरीक्षक खनालले बताएका हुन।
सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीको अहम भूमिका समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण गर्नु रहेको चर्चा गर्दै अपराध नियन्त्रण तथा शान्ति स्थापनामा लोभ लालच नराखी कानूनी कठोरता एवम् निर्भयपूर्वक र विवेकपूर्ण निर्ममता अपनाई कार्य गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए। कुनै पनि प्रहरी कर्मचारीलाई गल्ति गर्न छुट नरहेको बताउँदै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने र तोकिएको जिम्मेवारी पुरा नगरेमा कानून बमोजिम कारवाही गरिने उनले बताए।
कुनै पनि अपराधी अपराध गरेर जुनसुकै स्थानमा बसे पनि त्यसलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशिल रहेको बताउँदै उनले अवैध सामाजिक क्रियाकलाप नियन्त्रण, शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजाने बताए।
नागरिकको चाहना अनुरुप प्रहरीले प्रदान गर्ने सेवाप्रति नेपाल प्रहरी सदैव कटिवद्ध रहेको व्यक्त गर्दै नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी अवधारणले प्रहरी र समुदायको भावना जोडिएको हुँदा समाजलाई सुरक्षित बनाउन अहोरात्र खटिने प्रहरी कर्मचारीलाई थप उर्जा प्राप्त भएको बताए। साथै समुदाय–प्रहरी साझेदारी अवधारण अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, सडक सुरक्षा र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुमा नेपाल प्रहरीले ‘प्रहरी सँग १ दिने’ कार्यक्रहरु संचालन गरिएको समेत उनले उल्लेख गरे।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिल सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल १ करोड ८७ लाख १ हजार ८३ रुपैयाँ १४ पैसा लागतमा उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए। कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमूखहरु, स्थानीय संघसंस्थाका पदाधिकारी, समाजसेवी लागयत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज
