समाजवादी क्रान्तिका लागि नयाँ वैचारिक संश्लेषण गरौं

bhim bk
ध्यक्ष प्रचण्ड र केपीको यो दुरदर्शी र ऐतिहासिक निर्णयले विश्व कम्युनिष्ट आन्दोलनका समकालीन पार्टीहरुलाई नयाँ सन्देश दिएको छ। विश्वभरिका कम्युनिष्ट बिरोधी शक्तिहरुलाई शोकमग्न र चिन्तित बनाइदिएको छ। टुट, फुट र बिभाजनको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत र केन्द्रीकृत गर्ने महाअभियानको शुरुवात गरेको छ।
लाेकपाटी न्यूज

– भिम बहादुर बि.क. ‘क्षितिज’

ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) को एकता भएको एक वर्ष पूरा भयो। जेठ ३ को जनवर्गीय संगठनको एकताको घोषणासँगै आधारभूत रुपमा संगठनात्मक एकता पनि सम्पन्न भयो। पछिल्लो घोषणासँगै आम कार्यकर्तामा उत्साह आएको छ। गत एक वर्षदेखि फुसर्दमा रहेका कार्यकर्ताहरु संगठनात्मक गतिविधिहरुमा सक्रिय सहभागिता देखाइरहेका छन्। देशभरि बिभिन्न स्थानीय तहका समितिको बैठक बसिरहेको खबर आइरहेको छ। पार्टी केन्द्रले कार्यबिभाजन साथै आगामी योजना बनाउँदै छ। स्थानीय तहको तल्लो एकाइदेखि महाधिवेशनको तयारीमा पार्टी जुट्दैछ। यो सँगसँगै नेताहरुमार्फत् वैचारिक बहसको शुरुवात पनि भएको छ।

पार्टीभित्र वैचारिक बहसले नै पार्टीलाई जीवन्त बनाउँछ। निरन्तर वैचारिक बहसहरुमार्फत् पार्टीको विचारलाई समयानुकूल परिवर्तन, परिमार्जन गर्दै परिष्कृत गर्न जरुरी छ। झन् नेपाली कम्युनिष्ट आन्दोलनका यी दुई स्कुल एक ठाउँमा आइपुग्दा वैचारिक बहसको आवश्यकता टड्कारो रुपमा देखा परेको छ। तर, अनपेक्षित ध्रुवीकरणबाट जन्मिने गुटमुक्त, स्वस्थ र स्वच्छ वैचारिक बहस आजको आवश्यकता हो। पूर्ववत स्कूल र धारणाको आग्रहयुक्त भावनाबाट नभई आजको पार्टी एकता, समय र परिस्थितिको आवश्यकतालाई दृष्टिगोचर गर्दै बहस गर्नुपर्छ। पार्टी एकता गर्दैगर्दा पूर्वएमालेको जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमाओवादी केन्द्रको एक्काइशौं शताब्दीको जनवाद (एशज) र माओवादबारे महाधिवेशनबाट निष्कर्षमा पुग्ने समझदारीले पनि बहसलाई स्वतः जन्माएको छ।

जनवादी पूँजीवादी क्रान्तिपूर्व नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक थियो। यस खाले सामाजिक संरचना कायम भएको मुलुकहरुमा कम्युनिष्टहरुको नेतृत्वमा जनवादी पूँजीवादी क्रान्ति हुनुपर्छ। नेपालमा पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्न कम्युनिष्टहरुले अलग अलग बाटो अपनाए। ने.क.पा. (एमाले) ले जनताको बहुदलीय जनवादको कार्यक्रममार्फत् पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य राख्यो। सोहीअनुसार संसदीय अभ्यासमार्फत् शक्ति सञ्चय गर्दै अगाडि बढ्दै गयो।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले नयाँ जनवादी क्रान्तिको कार्यक्रममार्फत् क्रान्ति अगाडि बढाउने लक्ष्य राख्यो। २०५२ फागुन १ गते जनयुद्धको शंखघोष गर्‍यो। तर, नेपालको जनवादी क्रान्ति यी दुवै पार्टीको एकल कार्यक्रममार्फत् सम्पन्न भएन। एमालेको कार्यक्रमले समाजलाई लोकतान्त्रिकरण गर्‍यो। माओवादी कार्यक्रमले समाजलाई रुपान्तरण गर्‍यो। समाजको लोकतान्त्रिकरण नहुँदा रुपान्तरण सम्भव थिएन। रुपान्तरण बिनाको लोकतन्त्र औपचारिक लोकतन्त्रबाहेक केही हुँदैन्थ्यो। संसदीय अभ्यास गरिरहेको भए आजको परिवर्तन सम्भव नै थिएन। जनयुद्धले मात्र पनि यो परिवर्तनको समूल नेतृत्व गर्न सकेन। यसरी हेर्दा जवज र जनयुद्ध एकआपसमा परिपुरक भएर आए र नेपाली समाजको आजको परिवर्तन सम्भव भयो।

अब यो परिवर्तनलाई संस्थागत गर्ने, बाँकी रहेका क्रान्तिका कार्यभारहरु पूरा गर्ने, पूँजीवादी जनवादी अर्थव्यवस्था तयार पार्ने र समाजवादमा संक्रमण वा फड्को मार्ने आजको कम्युनिष्ट आन्दोलनको लक्ष्य हो। त्यो लक्ष्यलाई शीर्षस्थानमा राखेर छलफल गरौं। अबको राजनीतिक कार्यक्रम ठोस गरौं। अबको राजनीतिक कार्यक्रम ठोस गर्दा जबज र एशज एवं माओवादलाई पुनः अध्ययन गरौं। आजको नेपाली समाजवादी क्रान्तिको मोडेल तयार पार्दा मार्क्सवाद लेनिनवादको आलोकमा जबज, एशज र माओवादलाई पनि एकहदसम्म आधार मानौं। एशज र जबजको हुबहु पुनरावृत्ति होइन, आजको क्रान्तिको आवश्यकताको आधारमा यीभित्रका सकारात्मक कुरालाई ग्रहण गर्दै एकताको नयाँ आधारमा नयाँ वैचारिक संश्लेषण हुन जरुरी छ।

माओवादीले दोस्रो राष्ट्रिय सम्मेलन हुँदै एक्काइसौं शताब्दीको जनवादसम्म आइपुग्दा दलीय राजनीतिक प्रतिस्पर्धा र आवधिक निर्वाचनलाई आफ्नो सिद्धान्तको अङ्ग बनाएको देखिन्छ। यता एमालेले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वको नीतिलाई आठौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको देखिन्छ। जबकी यी दुई पार्टीको क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद र नयाँ जनवादी क्रान्तिमा माथि उल्लेखित कुराहरु पाउन सकिँदैन। वस्तुगत परिस्थितिको उपजले यी दुई पार्टीले सैद्धान्तिक विकास गर्नुका अलावा एकआपसमा सैद्धान्तिक निकटता बढ्दै गएको देखिन्छ।

माओवादी केन्द्रको हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले नेपालमा मूलभूत रुपमा जनवादी पूँजीवादी क्रान्ति सम्पन्न भएको घोषणा गर्दै अबको यात्रा समाजवादी क्रान्ति भएको निष्कर्ष निकाल्यो। ठीक त्यसैगरी एमालेको काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले पनि उपरोक्त निष्कर्ष निकाल्यो। यी दुई पार्टीको रणनीतिक कार्यक्रम समाजवाद हुन गयो। रणनीति एउटै छ, रणनीतिको बाटो जोडकोणका अन्तरबाहेक एउटै छ भने अलग थलग रहनुको अर्थ छैन। यस मानेमा यी दुई पार्टीबीच एकता भयो। अध्यक्ष प्रचण्ड र केपीको यो दुरदर्शी र ऐतिहासिक निर्णयले विश्व कम्युनिष्ट आन्दोलनका समकालीन पार्टीहरुलाई नयाँ सन्देश दिएको छ। विश्वभरिका कम्युनिष्ट बिरोधी शक्तिहरुलाई शोकमग्न र चिन्तित बनाइदिएको छ। टुट, फुट र बिभाजनको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत र केन्द्रीकृत गर्ने महाअभियानको शुरुवात गरेको छ।

तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुईखाले अति देखिँदैछ । एकथरिमा जबज सबैथोक हो, अरु भ्रम हो भन्ने छ। आजको परिवर्तन जबजले गर्‍यो र अन्ततः माओवादी जनयुद्धको शान्तिपू्र्ण अवतरण पनि जबजले गर्‍यो भन्ने मानसिकता पाइन्छ। अर्काथरिमा जनयुद्ध नै सबैथोक थियो, जनयुद्धले मात्र परिवर्तन आयो भन्ने छ। यी दुवै खाले अतिबाट बचेर आजको एकतालाई अक्षुण राख्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले एकताको नयाँ आधारमा विचारको संश्लेषण गर्नुपर्ने कुरामा जोड दिएको देखिन्छ। विचारणीय कुरा के छ भने मदन भण्डारीले मार्क्सवादमा नयाँ विचार पस्कनुभयो।

अबको कम्युनिष्ट आन्दोलनले भण्डारीको त्यो विचारलाई आजको सापेक्षतामा समृद्ध बनाउनुपर्छ। अब पुनः पाँचौं महाधिवेशनमा फर्किंदा वास्तवमा मदन भण्डारीको वैचारिक स्प्रीड पक्रन नसकेको ठहरिन सक्छ। भण्डारी मार्क्सवादमा नवीनता खोज्नुहुन्थ्यो । के हिजोको वैचारिक जडतालाई समातेर मार्क्सवादको नवीन विकास गर्न सक्छौं ? के हिजो हिजो भनेर आजको कार्यभार पूरा गर्न सक्छौं ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले आजको परिवेश र कार्यभारको हेक्का राख्नु जरुरी छ।

हो, नेकपा (एमाले) ले चलाएको शान्तिपूर्ण जनसङ्घर्ष, संसदीय अभ्यास र शक्ति सञ्चयको सिद्धान्तले आजको नेपाली समाजको निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै हो। हो, माओवादीले सञ्चालन गरेको जनयुद्धले नेपाली समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रुपान्तरण गरेकै हो। यी दुवै पार्टीको भूमिकाले मात्र आजको समाज निर्माण भएको हो। आजको संघीय गणतन्त्रात्मक शासन व्यवस्था आएको हो। यस मानेमा हिजोका दुई स्कुलले एकआपसको भूमिकालाई न्यूनीकरण गरिनु हुँदैन। कसैको अधिक मूल्याङ्कन र अवमूल्यन गरिनु हुँदैन। हिजोका दुई स्कूललाई एउटै स्कूलमा रुपान्तरण गर्न भावनात्मक सम्बन्ध कायम गर्नुका साथै पूर्ववत विचार, भूमिका र स्कुलको यथोचित सम्मान गर्न जरुरी छ। वैचारिक बहसमार्फत् श्रेष्ठता हासिल गर्नुछ।

एमालेको नवौं महाधिवेशन र माओवादी केन्द्रको सातौं महाधिवेशन हुँदै यो एकतासम्म आइपुग्दा करीव करीव दुई तिहाइको सरकार कम्युनिष्ट पार्टीले चलाइरहेको छ। निसन्देह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको जनवादलाई सुदृढ गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउँदै विश्वभरि एक नयाँ सन्देश दिने नै छ। अतः अब समाजवादी क्रान्तिलाई दृष्टिगत गरी नयाँ वैचारिक संश्लेषण गर्नुछ। विगतमूखी भएर होइन। बरु, बिगतबाट शिक्षा लिई समाजवादी क्रान्तिको पक्षमा निरन्तर जुटौं। कम्युनिष्ट एकता – जिन्दावाद !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्