— भीम गाैतम
संसारका विकसित र समृद्ध विश्वविद्यालयहरुको सूचिमा यसपटक नेपालको सबैभन्दा पूरानो र ठूलो त्रिभूवन विश्वविद्यालय पनि परेको छ। संसारभरमा १००० भित्र र एसिया भरमा ३०० भित्रको सूचिमा पर्नु सामान्य विषय होइन। विद्यार्थी संख्या र देशको उच्च शिक्षाको दायित्वलाई मूल्याङ्कन गर्ने हो भने त्रि.वि. अहिले पनि ‘टप–टेन’ विश्वविद्यालयमा पर्ने अनुमान गर्न सकिन्छ। आफ्नो स्थापनाको ६० वर्ष पूरा गरिसकेको यस विश्वविद्यालयमा १००० भन्दा बढी ग्राजुएट र अण्डर ग्राजुएट कार्यक्रम तथा ६० वटा आंगिक र १००० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरुमा लगभग ५ लाख बढी विद्यार्थीहरु अध्ययन गर्दछन्।
कीर्तिपुरमा लगभग १५५ हेक्टर जमिनमा केन्द्रीय विभाग एवं कार्यालयहरु रहेको त्रि.वि.ले नेपालको आगामी भविष्यको तथा समृद्धिलाई दिशादिर्नेश गर्न सक्नुपर्दछ। बदलिँदो राजनीतिक, सामाजिक एवं शैक्षिक परिवेशलाई मध्यनजर गर्दै त्रि.वि.ले आफूभित्र र बाहिर रहेका समस्या एवं चुनौतिहरुलाई सुधार गर्दै जानुपर्ने देखिन्छ। केही बुँदागत सुधारहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छ।
१) संरचना : हाल त्रिविभित्र रहेका विशाल, शैक्षिक एवं प्रशासनिक संरचनालाई बदलिँदो राजनीतिक परिवेश अनुसार ब्यापक रुपमा व्यवस्थित बनाउन जरुरी छ। केन्द्रीकृत शासन व्यवस्था हुँदाको बेला बनेको पूरानो संरचनालाई सङ्घीय राज्य व्यवस्थामा विकेन्द्रीकरण गर्नु आवश्यक छ। कीर्तिपुर हाताभित्रको केन्द्रीय क्याम्पसलाई केन्द्रीय विश्वविद्यालय बनाएर सोही अनुसारको बजेट, जनशक्ति एवं शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सकियो भने हाल देखिएको संचनागत दुविधाको अन्त्य हुनुको साथै केन्द्रीय विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिन्छ।
केन्दीय क्याम्पस बाहेक अन्य क्याम्पसहरुलाई सात प्रदेशमा विभाजन गरी त्रिविका प्रादेशिक विश्वविद्यालयहरु निर्माण गर्न सकिन्छ। यसको लागि हरेक प्रदेशका ठूला र सुविधासम्पन्न क्याम्पसहरु जस्तैः विराटनगरको महेन्द्र मोरङ्ग क्याम्पस, वीरगञ्जको ठाकुरराम क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको बुटवल बहुमूखी क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस एवं सुदूरपश्चिमको त्यस्तै एउटा क्याम्पसलाई अझ बढी ब्यवस्थित र विकसित बनाई हालको संरचनामा सुधार गर्न सकिन्छ।
२) शैक्षिक तथा प्राज्ञिक कार्यक्रम : कुनै पनि विश्वविद्यालयको मूल्याङ्कन त्यसले सञ्चालन गरेको शैक्षिक तथा प्राज्ञिक कार्यक्रमको आधारमा गरिन्छ। हिजो कुनै बेला त्रिविको ‘टप फाइभ’ अर्थशास्त्रको एम.ए. उत्तीर्ण विद्यार्थीलाई सिधै राष्ट्रिय बैङ्कमा जागिर प्राप्त हुन्थ्यो। त्रिविको पुल्चोक इञ्जिनियरिङ्ग र महाराजगञ्जको एम.वि.वि.एस. प्रोग्राम अहिले पनि तारिफयोग्य छ। बदलिँदो परिवेशमा त्रि.वि.ले नयाँ अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन गर्न सकियो भने यहाँको उत्पादित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा पनि सजिलै बिक्री हुन सक्छ।
त्रि.वि.मा हाल सञ्चालित ब्यवस्थापनका विभिन्न प्रोग्रामहरु एम.ए.मा अन्तर्राष्ट्रिय सम्बन्ध, भाषा विज्ञान, द्धन्द्ध र शान्ति व्यवस्थापन, सामाजिक कार्य, पुस्तकालय विज्ञान तथा विज्ञानतर्फ कम्प्युटर विज्ञान, भूगर्भ विज्ञानजस्ता विषयहरुको आकर्षण महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बढेको देखिन्छ।
३) अनुसन्धान : विश्वविद्यालयको सबैभन्दा महत्वपूर्ण कुरा त्यस विश्वविद्यालयमा सञ्चालित कार्यक्रमहरुको अनुसन्धानहरुमा शिक्षक र विद्यार्थीहरुको अनुसन्धानमा हुने सहभागिता, सोही अनुसार प्रकाशित हुने जर्नल एवं आयोजना हुने राष्ट्रिय, क्षेत्रीय एवं अन्र्तराष्ट्रिय, नीति निर्माण महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। बदलिँदो परिवेशमा त्रिभूवन विश्व विद्यालयलाई नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक परिवेशको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिन्छ। हाल त्रि.वि.मा सञ्चालित अनुसन्धान केन्दूहरु जस्तै सेडा, सेरिड, रिकाष्ट तथा सिनासलाई कर्मचारी भर्तिकेन्द्र मात्र नबनाएर सम्बन्धित केन्द्रीय विभागहरुसँग समन्वय गरी अनुसन्धानमा प्रेरित गर्न सकिन्छ। यसका लागि त्रिभूवन विश्वविद्यालयभित्रका सवै विभाग एवं कार्यक्रम बीचमा प्रतिस्पर्धाभन्दा पनि संयोजन एवं सहयोग वृद्धि गर्न सकिन्छ।
४) भौतिक सुधार : त्रिभूवन विश्वविद्यालय देशको सबैभन्दा महत्वपूर्ण सरकारी विश्वविद्यालय भए पनि भौतिक रुपमा यो निकै जीर्ण छ। नेपाल सरकारले यो विश्वविद्यालयको भौतिक संरचनामा व्यापक विकास एवं सुधार गर्नुपर्ने देखिन्छ। धेरै विदेशी प्राध्यापकहरुले त्रि.वि.को वर्तमान भौतिक अवस्थालाई देखेर दुखी भएको अनुभव मसँग छ। खासगरि आभारभूत कुराहरु जस्तै फर्निचर, श्रव्य–दृश्य सामाग्री, कम्प्युटर, शिक्षक–प्राध्यापक क्याबिन, व्यवस्थित शौचालय, ठाउँ–ठाउँमा चमेना गृह एवं २–४ वटा अत्याधुनिक सम्मेलन हलहरु मात्रै हुन सके पनि त्रि.वि.ले धेरै मजबुत र आकर्षक देखिने थियो।
५) गुणस्तर र अन्तर्राष्ट्रियकरण : त्रिभूवन विश्वविद्यालयमा हाल सञ्चालित एम.फिल. एवं पिएचडी कार्यक्रमलाई गुणस्तरीय बनाउनका लागि धेरै कुराहरुमा ध्यान दिन जरुरी छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिनका लागि विदेशी विश्वविद्यालयसँग सहकार्य एवं भाइचारा सम्बन्ध स्थापना गरेर ती कार्यक्रमहरुलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन सकिन्छ। एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा जान चाहेमा क्रेडिट ट्रान्सफर एवं अत्याधुनिक सफ्टवेरको प्रयोग गरेर त्रि.वि.लाई नमूना विश्वविद्यालय बनाउन सकिन्छ। त्रि.वि. ठूलो र पुूरानो विश्वविद्यालय हुनाले देशको शैक्षिक उत्तरदायित्व पनि यसमै आधारित छ। हिजो विश्वविद्यालय राजनीतिक आन्दोलनको केन्द्र थियो। अब मुलुकमा राजनीतिक स्थायित्व स्थापित बनेको छ।
अब हिजोको पूरानो जनशक्तिलाई नयाँ प्रविधि र शैक्षिक अभियानमार्फत् विकास र समृद्धिको यात्रामा अघि बढाउन सकियो भने त्रि.वि. फेरि पनि नेपाली समाजको पथप्रर्दशक हुन सक्छ। यसका लागि त्रि.वि. नेतृत्वमा इमान्दारिता एवं शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुमा नैतिकता एवं प्राज्ञिकता बढ्न सक्यो भने पुनः यो विश्वविद्यालय नेपालको मात्र नभएर दक्षिण एसिया एवं विश्वको नमूना विश्वविद्यालय बनाउन सकिन्छ।
(लेखक गौतम त्रिभूवन विश्वविद्यालयमा भाषा विज्ञानका उपप्राध्यापक हुन्।)



लाेकपाटी न्यूज

