राजपाकाे अध्यक्ष फेरिए, महाधिवेशनकाे समय १ वर्ष थपियाे

लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ ।  मधेश केन्द्रित ५ वटा राजनीतिक पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) काे अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अब अनिल झाले पाएका छन् । चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको नेतृत्व गर्ने समझदारीअनुसार झाले सोमबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

पार्टी एकीकरणपछि महन्थ ठाकुर लामो समयसम्म अध्यक्ष मण्डलको संयोजक रहेका थिए । त्यसपछि नेताहरु राजेन्द्र महतो, महेन्द्र राय यादवले अध्यक्ष मण्डलको संयोजकका रुपमा जिम्मेवारी सम्हालिसकेका छन् । अहिले शरतसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक छन् ।

जेठ २ गतेदेखि शनिबारसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले आगामी महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालीमा अगाडि बढ्ने गरी विद्यान संशोधन गर्ने निर्णय समेत गरेको छ ।

राजपाले यसअघि २ वर्षभित्रमा महाधिवेशन गरिसक्ने व्यवस्था विधानमा गरेको भएपनि अब महाधिवेशन गर्ने समय १ वर्ष बढाएको जनाएकाे छ ।