स्पेन। नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बरिष्ठ लोक गायक विष्णु खत्रीको विशेष उपस्थितिमा विदेश समन्वय परिषद स्पेनको तदर्थ समिति बनाइएको हो। कोष्टाव्लाङ्कामा रहेका केशरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति बनेको हो। उपाध्यक्षमा स्मृति गौतम, प्रविन गुरुङ, सचिव विप्लव काफ्ले, सह-सचिवमा असिम लोप्सन, कोषाध्यक्ष रुद्र आचार्य, सहकोषाध्यक्ष सेजल कँडेल चयन भएका छन्।
सदस्यहरुमा सोनल पुन, उजेला थापा, माधव न्यौपाने, प्रेम किसान चयन भएका छन्। तदर्थ समितिलाई छिटै १७ सदस्यीय बनाइने जनाइएको छ। लोक गायक तथा सर्जक विष्णु खत्रीले नेपाली मौलिक भाका, संस्कृति जगेर्ना गर्ने अभियानमा परदेशमा रहेका नेपालीहरुलाई गोलबद्ध गर्ने कार्य तीव्र पारिएको बताए। नेपाली पहिचान देशभित्र मात्रै सिमित बन्नु हुँदैन, नेपाली पहिचान, संस्कृति अध्ययन गर्ने संयन्त्रको खाँचो छ, उनले भने, परिषद विश्वभर फैलिदा नेपाली मौलिकता, संस्कृति पनि प्रवद्र्धन हुनेछ। विश्वभर छरिएका नेपालीले नेपाल चिनाउने सेतुका रुपमा परिषद मार्फत योगदान गर्न सक्ने बताए। नेपाली असल अभ्यास, मौलिक खाना, भाका, चाडपर्व सबै विश्व समुदाय माझ पुर्याउदा नेपाल र नेपाली दुवैको हित हुने टिप्पणी गरे। नेपालका संस्कृति, रहनसहनबारे अध्ययन गर्न सहजताका लागि विधागत प्रकाशन, दस्तावेजीकरण, तथ्यांक, अभिलेख संकलनका कामहरु पनि हुने बताए।
नाचगान मात्रै होइन, नेपाल देखाउने ऐना बनाउन लागेका छौँ, उनले भने, लोकदोहोरीका सबै विधाबारे खोज अनुसन्धान पनि हुनेछ, संस्कृतिबारे पनि दस्तावेज बनाएर विश्वव्यापीकरण गर्ने सोचमा छौँ। नेपालका ७७ जिल्ला, ७ वटै प्रदेशमार्फत अध्ययन-अनुसन्धान सुरु गर्ने तयारीमा रहेको जानकारी दिए। युरोप यात्रामा रहेका खत्रीले नेपाली संस्कृति जगेर्ना गर्न प्रवासीहरुमा हुटहुटी देखिएको बताए। नवगठित स्पेन समितिका अध्यक्ष केशर बहादुर थापाले नेपाल चिनाउने गरि परिषद गठन भएकोमा खुशी व्यक्त गरे। नेपाली नाचगान, भेषभुषा देखाउदै कार्यक्रम भैरहेका छन्, अब नेपाली असल अभ्यासबारेका कामहरु सुरु हुनेछन्, उनले भने, नेपाली चाडपर्व, मौलिक खानाको प्रवद्र्धन गर्ने थप कामहरु हुनेछन्। तदर्थ समितिले छिटै अधिवेशन गरेर स्पेनमा रहेका बौद्धिक, संस्कृतिविद्, इतिहासका जानकारहरुलाई एक्यवद्ध पार्ने बताए। उनले दूतावाससँग पनि सहकार्य गरेर लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, संस्कृतिको खोज अनुसन्धान गरिने बताए।



लोकपाटी न्यूज

