आज १५ मे अर्थात् अन्तर्राष्ट्रिय परिवार दिवस। यो दिवसलाई खासै महत्व दिएको देखिँदैन। सामाजिक सञ्जालमा पनि उतिविधि चर्चा भएको पाइँदैन। तर, परिवारको महत्व नबुझ्नेले अरु केहीको पनि महत्व बुझ्न सक्दैन।
परिवार ठीक हुँदा मानिसलाई विभिन्न काममा सफलता मिल्छ, परिवारमा सधैँ तनाव वा झगडा छ भने काम बिग्रने सम्भावना अधिक हुन्छ। मान्छेको स्वास्थ्यमा पनि परिवारको स्वास्थ्यले अहम् भूमिका खेलिरहेको हुन्छ। यस वर्ष अर्थात् सन् २०१९ को परिवार दिवसको नारा ‘परिवार र जलवायु अभियान’ रहेको छ।
हामीमध्ये कतिपयलाई परिवारको महत्व थाहा छ। तर, पनि त्यसलाई सन्तुलित बनाउन सकिरहेका हुँदैनौं। एउटा परिवारलाई सुखी राख्नका निम्ति परिवारका सबै सदस्यको महत्वपूर्ण हात हुन्छ। पछिल्ला वर्षहरुमा तीव्र गतिमा संयुक्त परिवार, मूल परिवारको रुपमा सानो बन्दै गएको छ। यसकारण पनि आउँदा पुस्तालाई पारिवारिक महत्वबारे सिकाउनु–बुझाउनु अत्यावश्यक भइसकेको छ।
पहिला आमा र पत्नीलाई खान दिउँ
परिवारलाई एकजुट बनाइराख्नु आवश्यक छ। त्यसका निम्ति हामीले आफ्नो निजी स्वार्थलाई छाडेर पहिला परिवारको अर्को सदस्यका बारेमा सोच्ने गर्नुपर्छ। प्रायः परिवारमा पत्नी वा आमा पहिला अरुलाई खाना खुवाएरमात्र आफू खाने गर्छन्। हामीले पनि पहिला पत्नी वा आमालाई खान दिएर आफू खान सक्ने हो भने कत्ति सुन्दर अवस्था बन्ला ?
प्रेमले कुराकानी गरौं
परिवारको कुनै सदस्यले यदि कुनै गलत काम जानेर वा नजानेर गरेको रहेछ भने विस्तारै सम्झाउनुपर्छ। ठूलो स्वरमा कुरा गर्ने वा हप्काउने गर्नुहुँदैन। यस्तो आदतले परिवारको सदस्यबीच आपसी समझदारी विकसित हुँदै जान्छ।
शिष्टतामा ध्यान दिउँ
ज्येष्ठ वा आदरणीय व्यक्तिको आदर र बच्चालाई स्नेह गर्नुलाई हामीले संस्कारका रुपमा विकास गर्नुपछ। बुज्रुगसँग कुरा गर्दा आदरका साथ गर्नु अनि परिवारका सदस्यमध्ये कसैलाई आवश्यक परेको खण्डमा तत्कालै मद्दतको हात बढाउनु पनि शिष्टाचारको एउटा हिस्सा हो। मान्छेलाई मन पराउनु र नपराउनु भनेको नै उसमा निहित शिष्टाचार हो।
माफी दिन सिकौं
मान्छेले आफूलाई तनावरहित राख्ने हो भने, सबैभन्दा महत्वपूर्ण सूत्र ‘माफ दिनु’ र ‘भुल्नु’ नै हो। गल्ती मान्छेबाटै हुन्छ, त्यसलाई कम गर्ने वा नियन्त्रण गर्ने अचुक औषधि भनेकै माफी हो। बदलाको भाव राख्दा कुनै पनि समस्या समाधान हुँदैन। त्यसैले तिक्ततामात्रै बढाउँछ।
नातेदार वा छिमेकसँग कुनै विषयमा विवाद हुन खोज्दा आफू पनि तात्ने वा आवेगमा आउने हो भने पछि गएर त्यसले सम्बन्धमै चिसोपना ल्याइदिन्छ। त्यसकारण पनि सकेसम्म माफीको नीति अँगाल्नु श्रेयष्कर हुन्छ।



लाेकपाटी न्यूज

