शिक्षामा नयाँ बहस : ‘गुणस्तर र सभ्यताका लागि अभिभावक पढाऔं’

adult education class
शिक्षित हुनुको अर्थ सक्कली, नक्कली छाप लागेका, सही भएका र केही विषयको नाम तथा अंक समावेश भएको प्रमाणपत्र बोक्नुमात्र होइन। ब्यक्तिले सीप र ज्ञान हासिल गर्नैपर्छ। सीप र ज्ञानविना शिक्षाको कुनै अर्थ हुँदैन र जीवनमा परिवर्तन आउँदैन पनि। मानवीय जीवनशैली, व्यक्तिगत व्यवहार, पारिश्रमिक भूमिका तथा राष्ट्र एवं मातृभूमिप्रतिको कर्तव्यबोध हुनु र सोचअनुसारको आचरणका लागि शिक्षा जरुरी पर्ने हो। चरित्रबाट र असल नागरिकबाट मात्र एउटा शिष्ट मर्यादित तथा अनुशासित परिवार निर्माण हुन्छ। त्यस्तै स्तरीय समाज निर्माणमा पनि सामाजिक व्यवहारको भूमिका अग्रणी रहन्छ। यस पृष्ठभूमिमा तलका सवालहरुमा आफूलाई परीक्षार्थी बनाउन सकिन्छ।
लाेकपाटी न्यूज

विषय प्रवेशः

शिक्षित व्यक्ति, परिवार, समुदायबाट मात्र राष्ट्रिय विकासको सपना साकार हुन्छ। शिक्षित नागरिक नै विकासको पहिलो आधार हो। विकास अभियानमा लागिपरेका मुलूकले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन्। गुणात्मक र स्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आजको आवश्यकता हो। विकसित मुलूकको पहिलो पहिचान नै शैक्षिक स्तरीयता हो, जुन वर्तमान विश्वमा सजिलै अनुभूति गर्न सकिन्छ।

विकास सबैको इच्छा हो, अनि माग हो। विकास र शिक्षा एक अर्काका परिपूरक हुन्। शिक्षाविनाको विकास कल्पनासम्म पनि गर्न सकिन्नँ। विकसित मुलूकको प्रगतिको रहस्य नै त्यहाँको शतप्रतिशत शिक्षित नागरिक नै हुन्। हाम्रो जस्तो विकासोन्मुख मुलुकको समस्या नै शिक्षा हो। शिक्षाप्रतिको दृष्टिकोण हो, योजना र कार्यान्वयन पक्ष अर्को महत्वपूर्ण सवाल हो। हामी साक्षर र निरक्षरको आँकडामा अल्झिरहेका छौं।

Dildhyoj tamang
लेखक : दिलध्वज तामाङ

तथ्याङ्क नाम मात्रका छन्। साठी प्रतिशतभन्दा माथि साक्षरताको आँकडा देखाइएको छ। शिक्षितको तथ्याङ्क थप कहालिलाग्दो हुनसक्छ। सिंगो मुलूकमा दश प्रतिशत नागरिक मुस्किलले शिक्षित हुनुपर्छ। प्राप्त गरेको शिक्षा र सीपले विकासको गतिमा अग्रणी भूमिका निर्वाह गर्दछ। कुनै पनि देशका सबै नागरिक शिक्षित भएको अवस्थामा नागरिक शिक्षा अर्थात् अभिभावक शिक्षा कार्यक्रमले खासै महत्व राख्दैन। तर, नेपालजस्तो मुलूक, जहाँ शिक्षाको अवस्था दयनीय रहेको छ, यस्ता राष्ट्रमा अभिभावक शिक्षालाई शिक्षाको मूल प्रवाहमा समेट्नुपर्छ। अभिभावक र शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाएर मात्र विद्यालय शिक्षाको विद्यमान अवस्थामा परिवर्तन गर्न सकिन्छ।

अभिभावक शिक्षा के हो ?

शिक्षा नै त्यस्तो तत्व हो, जसले मानिसलाई व्यवहारिक रुपमा जनावरभन्दा पृथक बनाउँछ। आमा शिक्षित भए परिवार र बाबु शिक्षित भए ऊ एकमात्र शिक्षित हुने भनाइ हाम्रो समुदायमा यथार्थ पुष्ट्याईं हुँदै आएको छ। अभिभभावक शिक्षा र नागरिक शिक्षालाई एकअर्काका परिपूरकको रुपमा लिन सकिन्छ। आखिर शिक्षा के हो ? शिक्षाबाट के–के प्राप्त हुन्छ ? हामीले किन शिक्षा हासिल गर्नुपर्ने ? यस्ता प्रश्नहरुको जवाफ हामीले खोज्नुपर्छ। शिक्षाले परिवर्तन गर्नुपर्छ। मानवीय जीवनशैलीमा परिवर्तन नआएसम्म शिक्षाको अर्थ रहँदैन।

शिक्षित हुनुको अर्थ सक्कली, नक्कली छाप लागेका, सही भएका र केही विषयको नाम तथा अंक समावेश भएको प्रमाणपत्र बोक्नुमात्र होइन। ब्यक्तिले सीप र ज्ञान हासिल गर्नैपर्छ। सीप र ज्ञानविना शिक्षाको कुनै अर्थ हुँदैन र जीवनमा परिवर्तन आउँदैन पनि। मानवीय जीवनशैली, व्यक्तिगत व्यवहार, पारिश्रमिक भूमिका तथा राष्ट्र एवं मातृभूमिप्रतिको कर्तव्यबोध हुनु र सोचअनुसारको आचरणका लागि शिक्षा जरुरी पर्ने हो। चरित्रबाट र असल नागरिकबाट मात्र एउटा शिष्ट मर्यादित तथा अनुशासित परिवार निर्माण हुन्छ। त्यस्तै स्तरीय समाज निर्माणमा पनि सामाजिक व्यवहारको भूमिका अग्रणी रहन्छ। यस पृष्ठभूमिमा तलका सवालहरुमा आफूलाई परीक्षार्थी बनाउन सकिन्छ।

१) मैले बोलेका प्रत्येक शब्दहरु शिष्ट र मर्यादिन छन् त ?

२) आफ्ना केटाकेटीप्रतिको जिम्मेवारी निर्वाहमा मेरो भूमिका के छ ?

३) म ज्ञान र सीप हासिल गर्न कत्ति समर्पित बनेको छु ?

४) हासिल गरेको ज्ञान र सीप व्यवहारमा कति प्रयोग भएकोे छ ?

५) जीवनलाई नितान्त औपचारिकभन्दा बाहिर लगेर सोच्ने, संसारलाई हेर्ने, बुझ्ने, ग्रहण गर्ने र बदल्ने कार्यमा आफ्नो स्थान कहाँ छ ?

६) परिवार र छिमेकी अनि सिंगो समुदायमा मेरो स्थान कहाँ र कति छ ?

७) आफ्नै परिवारका सदस्यको मूल्याङ्कन कस्तो रहेको छ ?

८) समुदायमा आफूले काम गर्ने स्थानका संगी, मित्रहरुको दृष्टिमा म कहाँ कसरी बाँचेको छु ?

९) मैले बोलेको खाएको, हिंडेको, गरेको कामहरु सबै ठीक छन्, छैनन् ? आफैंले फर्केर सोचेको र मूल्याङ्कन गरेको छ त ?

१०) सामाजिक कार्यमा आफ्नो लगानी र भूमिकाबारे कहिल्यै विचार गरेको छ ?

११) यो मुलूकको अग्रगतिका लागि एक नागरिकको हैसियतले कस्तो भूमिका खेलेको छु ?

१२) नगर्नुपर्ने र खराब क्रियाकलाप देखेर पनि सच्याउने मामिलामा कहिल्यै लागेको छु वा छैन ?

१३) परिवारदेखि समुदाय हुँदै तमाम सामाजिक संघसंस्थाहरुमा भइरहेको गतिविधिमा आफू सक्रिय वा निष्क्रिय के छु ?

१४) मैले आफ्नो जीवनस्तर विकासको लागि केकस्ता उपाय, योजना निर्माण र कार्यान्वयन गरें ?

१५) विगका दिन, महिना र वर्षहरुसँग वर्तमानको तुलना गर्दै आफूले गरेका र भएका राम्रा नराम्रो पक्षहरुबारे मूल्याङ्कन गर्ने गरेको छ वा छैन ?

१६) एउटा मान्छेको सोच र व्यवहार कस्तो हुनुपर्ने हो, सो मैले अवलम्वन गरिरहेको छु वा छैन ?

१७) मबाट बोल्न नहुने कुरा कति बोलिएका छन् ? खान नहुने कुरा कत्ति खाएको छु ? गर्नै नहुने काम के–के गरेको छु ? यस्ता प्रश्नको जवाफ स्मरण गर्दै आफूलाई परिवर्तनको बारेमा ठम्याउन आत्मालोचनासहितको प्रस्तुति भएको छ वा छैन ?

१८) आफू र आफूले भ्याएसम्म विकृतिजन्य तमाम संस्कार विरुद्धको अभियानको लाइनमा कहाँ उभिएको छु ?

निश्चय नै माथि उल्लेखित सवालका जवाफका लागि पर्याप्त ज्ञान र सीपसहितको शिक्षालाई अभिभावक शिक्षा भनिन्छ। यस शिक्षाले पछिल्लो सन्तति अर्को पिँढीलाई सहजै विकासको पथमा हिंडाउन र सभ्य एवं अर्थपूर्ण नागरिक तयार गर्न सकिन्छ। सरल अर्थमा एउटा व्यक्तिलाई ठीक र बेठीक छुट्याउन सक्ने क्षमताको उजागर हुन अभिभावक शिक्षा हो। कम्तिमा यो तहको कुन कार्य ठीक कुन बेठीक र मैले ठीक रोज्नुपर्छ र असलहरुको अनुशरण गर्नुपर्छ। ठूलो मान्छे होइन, असल मान्छे बन्नुलाई जीवनको ध्येय बनाउनुपर्छ। चरित्रवान् राष्ट्रप्रेमी सवालमा नागरिक नै मुलूकका सबैभन्दा मूल्यवान् सम्पत्ति हुन्।

अभिभावक शिक्षा किन ?

सामान्यतः अभिभावक भन्ने बित्तिकै विद्यालय पढ्न जाने विद्यार्थीका आमा, बुवालगायत अन्य नातेदार, जसले सम्बन्धित छात्रछात्राको अभिभावकत्व निर्वाह गरिरहेका व्यक्ति भन्ने बुझाईलाई थप व्यापकता र गहिराइमा बुझ्न समेत आवश्यक छ। समुदायका प्रत्येक व्यक्ति, नागरिक नै अभिभावक हुन्। जसको छोराछोरी, भाइ, बहिनीलगायत कोही न कोही विद्यालयमा पढ्न गएको हुन्छ नै।

अभिभावक शिक्षा के हो ? भन्ने पृष्ठभूमिसहित उल्लेख गरिएका माथिका भनाइले अभिभावक शिक्षाको आवश्यकताबारे लगभग प्रष्ट गरेको छ। यस प्रकारको शिक्षा प्रदान नगर्ने हो भने अझै आउने पिँढीसम्म पनि यसै कामको लागि धेरै समय धेरै जनाले खर्च गर्नुपर्ने हुन्छ। बुँदागत रुपमा अभिभावक शिक्षाको आवश्यकतालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ।

१) व्यक्तिगत जीवनमा सकारात्मक रुपान्तरण र जीवनशैलीमा स्तरीयता कायम गर्न।

२) आफूलाई आवश्यक ज्ञान र सीपले क्षमतायुक्त बनाउँदै आएमा विश्वास बढाउन।

३) पारिवारिक एवं सामाजिक जीवनलाई सहज, सरल र समयानुकूल बनाउँदै जिम्मेवारी बहन गर्न।

४) आफूभन्दा कम उमेरका व्यक्तिका लागि अनुकरणीय एवं उदाहरणीय व्यक्तिको रुपमा प्रस्तुत गर्ने।

५) सीमित स्रोत र साधनबाट अधिकतम उपयोगको ज्ञान र सीप हासिल गर्न।

६) रोजगारका अवसरको उपयोगसहित आफूलाई व्यस्त जीवनमा बदल्न।

७) सामाजिक विकृति, कुसंस्कार एवं गलत क्रियाकलापको अन्त्यका लागि आफ्नो भूमिकालाई अग्रणी स्थानमा राख्न।

८) समसामयिक घटना र क्रियाकलापबारे जानकार रहन।

९) आफूले बोल्ने, खाने, गर्ने तमाम क्रियाकलापको मूल्याङ्कन क्षमताको विकास गर्न।

१०) ठीक र बेठीक कुरा र कामको भिन्नता, सहजै छुट्याउन।

११) व्यक्तिगत, पारिवारिक र समुदाय हँुदै सिंगो मुलुकको विकास अभियानमा उल्लेख्य योगदान गर्न।

१२) आफ्नो समुदायका विद्यालय, मन्दिर, अस्पताल, बाटो, पानी पार्कजस्ता सामाजिक संस्थाहरुको विकासमा भएका र गर्नुपर्ने कामको जानकारीसहित आफूलाई यस्ता ठाउँको प्रगतिका लागि जिम्मेवार बनाउने।

१३) आफ्ना बालबालिकालाई भोलिका प्रतिस्पर्धात्मक वैज्ञानिक जगतमा सोअनुकुलताको क्षमता र विस्तारका लागि अभिप्रेरित गर्ने।

१४) समसामयिक विज्ञान र कलाको प्रत्यक्ष अनूभूति गर्ने।

अभिभावक शिक्षा कसरी ?

अभिभावक शिक्षाको आवश्यकता र महत्व बुझिसकेपछि यो शिक्षा कसरी प्रदान गर्ने ? कस्तो पाठ्यक्रम तयार गर्ने ? जस्ता प्रश्नहरु स्वभाविक रुपमा उब्जन सक्छन्। अभिभावक शिक्षा प्रदान गर्ने विधि, समय र स्थान परिवेशमा निर्भर गर्दछ। सबै समयमा सबै स्थानमा र भिन्न वातावरणमा यही विधि हुनैपर्छ भन्ने होइन। मुख्यतः अभिभावक, शिक्षा प्रदानमा समावेश सामग्री तथा विषयवस्तुबारेको प्रयोग एउटा पक्ष हो। बालबालिकाहरु विद्यालय गएजस्तै अभिभावकलाई स्कुलमा दैनिक कक्षा लिन वा दिन सम्भव छैन। तसर्थ, अभिभावक शिक्षा प्रदान कसरी ? भन्ने सवाललाई मुख्यतः निम्न चरणमा प्रस्तुत गर्न सकिन्छ।

पहिलो चरण : पाठ्यक्रम निर्माण

यसअन्तर्गत एकै पाठ्यक्रमले सबै स्थानमा, सबै अभिभावकलाई भिन्न परिवेशमा समेट्न सकिन्न। तसर्थ निम्न, मध्यम र उत्तम गरी ३ प्रकारका पाठ्यक्रमको निर्माण हुनुपर्छ। जसलाई अभिभावकको स्तर, रुचि, स्थान, संस्कृति अनुरुप नै समेट्न सहज बन्दछ। अभिभावक शिक्षाको पाठ्यक्रम समावेश गर्नैपर्ने विषयवस्तुलाई ज्ञान र सीपमूलक गरी २ भागमा विभाजन गर्नुपर्छ। ज्ञान तथा जिम्मेवारी व्यक्तिदेखि परिवार हुँदै समाज र राष्ट्र अनि अन्तर्राष्ट्रिय तहको पहिचानलाई समेट्ने हुनुपर्छ।

अर्कोतर्फ सीपमूलक अन्तर्गत व्यवसायिक एवं प्राविधिक सीप सिकाउने जुन कृषि, पशुपालन, उद्योगधन्दा, व्यवसायमूलक हुँदै प्राकृतिक स्रोत र साधनको उपयोग, विकास, खोज अनुसन्धानसमेत समेट्न सकिन्छ। यस चरणको पाठ्यक्रम निर्माण र समेट्नुपर्ने विषयवस्तुले नै एउटा पुस्तकको आकार लिन सक्छ। यहाँ संक्षिप्तमा अभिभावक शिक्षाको सम्बन्धमा विषय उठान र यसको परिवेश उजागर मात्र गर्न खोजिएको हो।

दोस्रो चरण : पाठ्यसामग्रीको उत्पादन

पाठ्यक्रममा आधारित पाठ्यसामग्रीको उत्पादनलाई दोस्रो चरणमा राख्न सकिन्छ। वैज्ञानिक र सहज पाठ्यसामग्रीसहित प्रयोगात्मक वस्तु एवं सामग्रीको उत्पादन र वितरणबारे ध्यान पुर्‍याउनुपर्ने हुन्छ। जुन तोकिएको तहगत पाठ्यक्रम र यसको राष्ट्रिय उद्देश्यसँग मेल खानेगरी तयार गर्नुपर्छ।

तेस्रो चरण : कार्यान्वयन पक्ष

यस चरणमा अभिभावकलाई शिक्षा प्रदान गर्ने कार्यान्वयन पक्षको प्रवेश गराउनुपर्छ। यसो गर्दा अभिभावकलाई उनीहरुको आवश्यकता, माग, रुचिस्तर तथा उपयुक्तताको आधारमा पाठ्यसामग्री एवं प्रयोगात्मक सामग्री वितरण गर्नुपर्छ र साप्ताहिक रुपमा कम्तीमा आधा घण्टा सम्पर्क कक्षा सञ्चालन गर्नुपर्छ। यस प्रकारको कक्षा सञ्चालनको व्यवस्थापनका लागि जिल्ला शिक्षा कार्यालयमा अलग डेस्कको व्यवस्था गरी सोअन्तर्गत योग्य, दक्ष, चरित्रवान क्षमतावान अनुकरणीय शिक्षक, प्राविधिकको छनौट गर्नुपर्छ।

केन्द्रीय तहदेखि नै अलग बजेट व्यवस्थासहित कार्यक्रम प्रभावकारी ढंगले चलाउनुपर्छ। शिक्षकलाई तालिम बोझ बनिसकेको हालको अवस्थामा उक्त जनशक्ति र बजेट यस शीर्षकमा लगानी गर्ने हो भने प्रभावकारी बन्न सक्छ। प्रत्येक साप्ताहिक सम्पर्क कक्षाबाट आउने साताका लागि काम लिने र प्राप्त समस्या तथा कठिनाई उक्त कक्षामा हल गर्ने परम्परा हुनुपर्छ। सम्पर्क कक्षा प्रयोगात्मक, भ्रमणात्मक, विविध खाले बन्न सक्छ। यो चरणलाई प्रभावकारी बनाउँदै लाँदा तहगत रुपमा स्तरबृद्धिका ज्ञान र सीपसमेत अभ्यास गर्नु गराउनु पर्दछ।

चौंथो चरण : अनुगमन र मूल्याङ्ककन

यो चरणमा कार्यक्रमको प्रभावकारीता बृद्धिका लागि कार्यक्रमस्थल अर्थात् सम्पर्क कक्षाको अनुगमन गरिनुपर्छ। आवधिक मूल्याङ्कन तोकिनुपर्छ। यसको लागि शिक्षा कार्यालयको अभिभावक डेस्क क्रियाशील बन्नुपर्छ। मूल्याङ्कनबाट अगाडिको चरण र सीप प्रदान गर्दै जानुपर्छ। यसप्रकारको शिक्षा कम्तीमा ५ वर्ष हुनुपर्छ। परीक्षा लिनेदिने र प्रोत्साहनको प्रमाणपत्र सोको उपयोग तथा प्रयोगबारे किटानी गरिनुपर्छ। शिक्षा ऐन नियममै अभिभावक शिक्षालाई समावेश गरी यसका विचलन प्रक्रियाबारे थप विधि निर्माण गर्न सकिन्छ। यो शिक्षा प्राप्त व्यक्तिले यी–यी स्थानमा जानसक्ने अन्यथा नमिल्नेजस्ता नीति पनि उल्लेख गर्नुपर्छ।

अन्तमा, यस लेखमा उल्लेख गरिएको अभिभावक शिक्षाको आवश्यकता र यसले पार्नसक्ने सामाजिक प्रभाव र कसरी जाँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा व्यक्त गरिएका धारणाहरुलाई प्रयोगबाट आवश्यकताअनुरुप स्थान, समय र अभिभावकका विभिन्न तहअनुसार परिमार्जन गर्दै जान सकिन्छ। जसले गर्दा अभिभावक शिक्षालाई नागरिक शिक्षाको महत्वपूर्ण अंगको रुपमा बुझ्ने प्रयत्न बन्न सक्दछ।

एउटा अभिभावक चेतनशील र शिक्षित बन्ने हो भने मात्र उसका सन्तानहरु सही मार्गमा सही शिक्षा प्राप्त गरी कुशल नागरिक बन्न सक्छन्। अन्यथा बालबालिकाहरुलाई सबैभन्दा बढी समय झण्डै १८ घण्टा आफ्नो दृष्टिमा पहुँचमा राख्ने अभिभावक स्वयं गैरजिम्मेवार तथा शिक्षाबाट टाढा रहने अवस्था भएसम्म ती बालबालिकाको आचरण, चरित्र, कामप्रतिको लगावमा सुधार हुन सक्तैन।

त्यसैले पनि एउटा अभिभावक अनिवार्य शिक्षित हुनुपर्छ, सन्ततिप्रति जिम्मेवार बन्नैपर्छ। तबमात्र सुन्दर समाजको निर्माण हुनसक्छ। हामीहरुमा भुँइमा छरिएको देख्ने तर आफ्नो पोल्टामा भएको वस्तुको संरक्षण गर्न नसक्दा र छरिएको भुईंको टिप्न खोज्दा पोल्टामा भएको सबै पोखिएको अवस्था शिक्षामा अनुभव गरिरहेको स्थिति छ।

(लेखक दिलध्वज तामाङ हरियाली साहित्य समाजका सचिव हुन्। उनले शैक्षिक र सामाजिक क्षेत्रमा कलम चलाउँदै आएका छन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्