- प्रा. डा. सुरेन्द्र गिरी
हाम्रो समुदायमा राष्ट्रियताको बहस पेचिलो बन्दै गएको छ। आम जनतामा यस बहसलाई पुर्याउन जरुरी छ। देशका राजनैतिक दलहरूले राष्ट्रियतालाई आफ्नो राजनीतिक एजेण्डाको रुपमा उठाई धुरीमै पुर्याउँछन् र सत्तामा जाने भर्याङको रुपमा प्रयोग गर्दछन्। सत्तामा पुगेपछि आफ्नो सत्ता लामो समयसम्म टिकाउनको लागि आम जनताको स्वार्थलाई लत्त्याउँछन्। आफ्नो स्वार्थ अनुकूल राष्ट्रियताको व्याख्या गर्दछन्। राष्ट्रिय एकताको नारा लगाई सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक पक्षमा आफ्नो प्रभुत्व कायम राख्ने प्रयास गर्दै आएका छन्।
वर्तमान परिवेशमा सामन्ती राजतन्त्रको नेतृत्व ढलेको छ। श्रमजीवी जनताहरूलाई पर्दा पछाडिबाट शोषण, दमन, अन्याय, अत्याचार गरी राज्यसत्तामा आफ्नो बागडोर समाल्दै आएका वर्गहरूका लागि छटपटी पैदा भएको छ। सामन्ती व्यवस्थाका अवशेषहरू ढल्दै छन्। समाजमा पुरानो आधारहरू भत्कँदै छन्। ठूलो युवा जनशक्ति आफ्नो गाउँ, घर, देश छोडेर रोजगारको लागि बाहिर जान बाध्य छ। आफ्नो श्रम पुँजीवादी बजारमा बेचेर ल्याएको पैसाले देशको अर्थतन्त्रलाई सहयोग गरेको छ।
सबै राजनैतिक दलहरू राजतन्त्र ढाल्नको लागि राष्ट्रिय एकता कायम गरी राजनैतिक परिवर्तन गर्न तयार भए। त्यहीअनुसार देशमा राजनैतिक परिवर्तन भयो, तर आमजनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको विकासमा राष्ट्रिय एकता कायम गर्न सक्ने आधारभूत एजेण्डामा विभाजित हुन पुगे। आफ्नो आफ्नो पार्टी र वर्गीय स्वार्थ, मुख्यमन्त्री मन्त्री, राज्यमन्त्री, तथा सांसद हुने दाउपेच बढ्न थाल्यो। परिवर्तनका एजेण्डाहरु अस्वीकृत हुन थाले। संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक लोकतान्त्रीकरणका पक्षमा विषवमन गरी परिवर्तनका एजेण्डाहरु हराउन थाले। यसले गर्दा आम सर्वसाधारणमा भ्रम सिर्जना हुन पुगेको अवस्था छ।
परिवर्तनले सतही इन्द्रिय ग्राह्य ज्ञानलाई जनताको संवेदनामा जोड्न सफल भएको थियो। त्यस भ्रमलाई चिर्नको लागि जुन बुद्धिसंगत ज्ञान प्रयोग गरियो। त्यसका गहिराइका कथनहरूलाई समेटी यहाँ चिरफार गर्ने प्रयास गरिएको छ। आज त्यही ज्ञानलाई सही वा सत्यसावित गर्नको लागि व्यवहारमा परीक्षण गरी मूल्यांकन गर्ने आम जनताहरूलाई सुम्पिएको छ।
राष्ट्र र राष्ट्रियताको परिभाषा
साधारण अर्थमा राष्ट्र भनेको जनता हो। जनताहरूको बिच एकता बलियो हुनु नै राष्ट्रियता हो। नेपालको संविधान (२०७२) अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।
राष्ट्रियताको सम्बन्धमा स्टालिनको कथनअनुसार राष्ट्रियताको लागि एउटै भाषा हुनु जरुरी छ। तर, एउटै भाषा बोल्नेहरूको पनि राष्ट्रियता फरक फरक हुन सक्दछ। जस्तै, ब्रिटिस र अमेरिकीहरू एउटै भाषा बोल्दछन्, तर उनीहरूको राष्ट्रियता एउटै होइन। यस्तो फरक एउटै भाषा बोल्ने मान्छेहरू फरक-फरक भूगोलमा बस्ने भएकोले हो। यसको अर्थ के हो भन्ने राष्ट्रियता भाषा मात्र होइन साझा भूगोल पनि हो। यो पनि हो कि, साझा भूगोल मात्र पनि राष्ट्रियता हुँदैन। त्यसको लागि आन्तरिक आर्थिक सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, जसले यसका विविध अंगहरुलाई त्यसको पूर्णतासित जोड्दछ। त्यस्तै जर्जियालीहरु सुधारभन्दा पहिले एउटै भाषा बोल्ने पनि र एउटै भूगोलमा बसे पनि एउटै राष्ट्र हुन सकेनन्। किनकि, उनीहरू एउटै आर्थिक जीवनसित आवद्ध रहेका थिएनन्।
उनीहरू साझा भूगोलमा बसे पनि अलग-अलग भू-भागमा विभाजित भएका थिए। एक आपसमा लडिरहेका थिए। यसर्थ, साझा आर्थिक जीवनले मात्र पनि राष्ट्रियतालाई जन्म दिँदैन। इग्लैंड, आयरलैंड र अमेरिकाले एउटै भाषा बोले पनि उनीहरूको एउटै राष्ट्रियता हुन नसक्नुको कारण नै उनीहरूमा विकसित भएका फरक मनोविज्ञान नै हो। राष्ट्रियता मनोविज्ञानको पनि विषय हो। यस्तो मनोविज्ञानले राष्ट्रिय चरित्र वा संस्कृतिको निर्माण गर्दछ। स्टालिनको भनाईअनुसार ‘राष्ट्रिय चरित्र वा संस्कृति कुनै स्थिर कुरा होइन यो गतिशील हुन्छ र समयअनुसार फेरिँदै पनि जान्छ। रूपान्तरित हुँदै पनि जान्छ।’ संक्षेपमा स्टालिनले राष्ट्रियतालाई यसरी परिभाषित गरेका छन् कि, कुनै राष्ट्र एउटा स्थिर समुदाय हो, जसको एक ऐतिहासिक रुपमा विकसित भाषा, सीमा, आर्थिक जीवन र मनोवैज्ञानिक रचना उसको संस्कृतिमा देखा पर्दछ। (शाहनी, २०७०)।
राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार जनता नै राष्ट्र निर्माता हुन्। हाम्रो इतिहास, भूगोल, संस्कृति तथा भविष्य नै राष्ट्रियता हो। उनको कथनअनुसार भविष्य ‘गाउँ छ गीत नेपाली ज्योतिको पंख उचाली, जय जय जय नेपाल सुन्दर शान्त विशाल’ इतिहास भन्नाले गौतम बुद्धको देश शान्त। प्राकृतिक स्रोत हिमाल, पहाड र तराई मिलेर बनेर सुन्दर देश नेपाल हो, साथै भविष्य भन्नाले विशाल देशको सिमाना पूर्वमा टिस्टा नदी र पश्चिममा काँगडा किल्लासम्मको भूभागको रहेको थियो भन्ने कुरा व्यक्त गरेका छन्।
देशको सिमाना सुगौलीसन्धिपछि मात्र खुम्चिएको हो। वीर सपूतहरूले हाम्रो नेपालको सिमाना विशाल बनाउनको लागि देशभक्त सहिदहरूले वीरताको इतिहास कायम गरेका थिए। त्यसैले आम श्रमजीवी, देशभक्त, स्वाभिमान जनतालाई राष्ट्रियताले भरिपूर्ण इतिहासबारे सचेत गराउनु हाम्रो दायित्व हो। ब्रिटिस र नेपालबीचमा युद्धको क्रममा विशाल नेपालको सिमाना वि.स.१८६१ मा भीमसेन थापाको समयमा पूर्वमा टिस्टा नदी र पश्चिमको सतलज नदीसम्म र हिमालको उत्तरी फेदीदेखि दक्षिणको उर्वरा समतल भू-भाग गंगा जमुना नदीको संगमस्थलको हाराहारीसम्म विशाल भौगोलिक क्षेत्र नेपालको मानचित्रको सीमारेखाभित्र रहेको थियो। (श्रेष्ठ, २०५७)
राष्ट्रियता भनेको मूलतः सांस्कृतिक शब्दावली हो। यो आत्मिक भावना वा सिद्धान्त हो। राष्ट्रिय अखण्डता अनेकतामा एकता हो। राष्ट्रिय एकताले राष्ट्रप्रतिको प्रेम र निष्ठालाई बुझाउँदा। समुदायमा रहेका विविध जातीय समूहहरूलाई एउटा स्वतन्त्र र समान संघभित्र कायम राख्नु नै राष्ट्रिय एकता हो वा राष्ट्रियता हो।
नेपाली काँग्रेसका नेता वीपी कोइरालाले राष्ट्रियताबारे व्यक्त विचारअनुसार ‘देश भनोस् त्यो भूगोल होइन, त्यो माटो होइन। त्यो यथार्थमा जनता हो। जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देशहितको कुरा हो। जनताको अधिकार हो। यदि नेपालको भूगोलबाट एक करोड नेपाली जनताको आबादी लोप भयो भन्ने मेरो अर्थमा नेपाल लोप हुन्छ, यद्यपि भूगोल आफ्नो ठाउँमा जस्ताको तस्तै स्थायी भइरहने छ।’ संक्षेपमा जनताहरूको बीच एकता नै राष्ट्रियता हो।
राष्ट्रियताको अर्थ राष्ट्रियहित हुने कार्यसँग जोडिएको छ, हाम्रो राष्ट्रियता भनेका राष्ट्रप्रतिको आस्था हो। राष्ट्रियहितको भावना हो। राष्ट्र प्रेम हो र राष्ट्रिय एकता हो। राष्ट्रियता नेपाली भूमि, नेपाली जनता, नेपाली भाषा, नेपाली संस्कृति र राष्ट्रिय गौरव र स्वाधीनताको प्रेम हो।
हाम्रो राष्ट्रियतामाथि प्रभाव पार्ने आयाम
राष्ट्रियताबारेका साहित्यको सिंहावलोकन गरी चिरफार गर्दा हाम्रो राष्ट्रियतालाई असर गर्ने आन्तरिक तथा बाह्य आयामहरु छन्। कुनै कुरोको विकास तथा विनाशको प्रमुख कारण नै वस्तुभित्रको बनावट वा अन्तर्वस्तु नै हुन्छ। त्यसैले प्रथम खण्डमा राष्ट्रियताबारे आन्तरिकरुपमा असर गर्ने आयामहरूको बारेमा निम्नरुपमा व्याख्या गरिएको छ।
राष्ट्रियताको विकास र यसलाई असर गर्ने आन्तरिक आयाम:
राष्ट्रियताको जन्म पुँजीवादी युगको विकास सँगसँगै भएको थियो। खासगरी पहिलो तथा दोस्रो विश्वयुद्ध पछि नै राष्ट्रियताको भावनाको विकास भएको थियो। नेपालमा पनि पृथ्वीनारायण शाह उनको उत्तराधिकारी राजेन्द्र लक्ष्मी र बहादुर शाहको नेतृत्वमा १८औँ शताब्दीको मध्यतिर पुराना ससाना भुरे टाकुरे राजा रजौटाहरूलाई र तिनले शासन गरेका राज्यलाई बलपूर्वक कब्जा गरी भौतिकरुपमा एकीकरणपछि आफ्नै नेतृत्वमा एक राष्ट्रको घोषणा गरेका थिए।
बाइसे-चौबिसे पश्चिमतिर पूर्वमा किरात, लिम्बु, राई, सेर्पा आदि राज्यहरूलाई फौजी कारबाहीमा एकीकरण गरेता पनि जनताहरुबिचको भावनात्मक एकता भएको थिएन। किनकि खास आर्यहरूको एक नेपाली भाषा, संस्कृति चालचलन, हिन्दु संस्कार, आदिको मात्र विकासको लागि राज्यस्तरबाट नै सुरुवात भयो। परिमाणस्वरुप भावनात्मक एकता हुन सकेन। राज्यबाट नै एकल जाति, एकल भाषा, र एकल धर्म परम्पराको बलपूर्वक थालनी हुँदै जाँदा आन्तरिक उत्पीडन र आन्तरिक राष्ट्रियताको समस्याको पनि बीउ रोपियो।
पृथ्वीनारायण शाहको दिव्ये उपदेशमा नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो भनी स्वीकार गरेका थिए। यस भनाइबाट चार जात बाहेक सबै फूलहरूलाई अवसरबाट बन्चित गरिएको पुष्टि हुन्छ। राज्यस्तरबाट राष्ट्रिय भाषा नेपाली (खसआर्य भाषा) धर्म नै राज्यले आरम्भकालदेखि नै हिन्दुकरणलाई बलियो बनाउने कार्य भयो। हिन्दु धर्मको कथनअनुसार चाड पर्व, चाल-चलन र सरकारी बिदा तय गरियो। (नेपालमा पाँचौं शताब्दीभन्दा पहिले बौद्ध धर्मावलम्बी राजा थिए)। पृथ्वीनारायण शाहकै पालादेखि राज्यभित्र जमिनलाई राज्य जमिन्दारी कायम गरी बिर्ता, गुठी र जागिर जमिन आदिका नाममा भाइ भारदार, सेनाका नायकहरू बाहुन, क्षेत्री, ठकुरीमा वितरण गरियो।
शासक वर्ग नै हिन्दु धर्मावलम्बी बाहुन, क्षेत्री, ठकुरीहरूको राजनैतिक, शैक्षिक, आर्थिक एवं प्रशासनिक जग बलियो हुँदै गयो। शाहकालिन शासक वर्गीय संरचना बाहुन, क्षेत्री, ठकुरी आदिको अवस्था बलियो हुँदै गयो। आदिवासी जनजाति, दलितहरू तथा आम गरिब वर्गहरू रैतीका रुपमा परिणत भए। (तामाङ, २०६५)। यसरी राजपरिवारका सामन्त, प्रशासक, सेनापति, पुरोहित देवथान तीर्थस्थान आदिका निम्ति बिर्ता, गुठी र जागिरे जमिन गरी राम्रा राम्रा जमिनहरू सीमित व्यक्तिहरूको हातमा केन्द्रीय भयो। समाजमा वर्गीय संरचनाले जरा बलियो बनायो। धनी र गरिबको खाडल बढ्दै गयो।
सामन्तवादी दलाल पुँजीवादी सत्ताको केन्द्रीकरणरुपमा राजा-राणाको शासन नेपाल करिब दुई सय चालिस वर्ष चल्यो। त्यसले आमजनता गरिब, किसान, विपन्न परिवार दलित जनजातिहरू, महिला, मुस्लिम तथा मधेशीहरुलाई आफ्नो कब्जामा राख्नको लागि सामन्तवादी चिन्तनको विकास र विस्तारलाई बलियो बनायो।
शासक वर्गहरूले सामन्ती चिन्तनअनुसार आमजनतालाई विद्रोहप्रतिको चेतनालाई दिग्भ्रमित पार्नको लागि अपनाएको सर्वोत्तम उपाय भनेको पुनर्जन्मबाट र कर्मवाद नै हो। कर्मवादले विभिन्न धर्म, रीति रिवाज र परम्पराको आडमा मान्छेको जीवनमा जे-जति घटना परिघटना भएका छन्, तिनीहरू पुनर्जन्मको फल वा कर्मको फलबाट नै हो भनी स्वीकार्ने सोचको विकास गराइ दिए। साधारण अर्थमा एउटा गरिब किसानले आफूमाथि सामन्तले गरेको शोषण, अत्याचार उसको घर जग्गा हडपेको वा श्रीमती आमा, छोरीहरूप्रति गरेको यौन शोषणबारे किसानले गरेको अघिल्लो जन्मको फल वा पापको फलको रुपमा स्वीकार गर्ने सोचको विकास भयो।
आफ्नो शोषणलाई कायम गर्नेको लागि राणाहरूले नेपाली जनतालाई शिक्षाको उज्यालो घामबाट वञ्चित गरे। ब्राह्मणवादी कर्मकाण्ड, जातपात, जन्म पुनर्जन्म, स्वर्ग नरक, भाग्यवाद, रहस्यवाद, छुवाछुत, महिलामाथि दमन र उत्पीडनमाथि नै सामन्तवादी चिन्तन अवशेष गहिरोसँग अडिएको छ। राजनैतिक परिवर्तन भएपछि पनि हालसम्म राजनैतिक पार्टीका नेतृत्वले पुरानै शैलीलाई निरन्तरता दिँदै आएका छन्। भाषामा परिवर्तनका कुरा गरेपनि राज्यसत्ताबाट एकजाति, भाषा, संस्कृति, धर्म, क्षेत्रको संरक्षण गर्दै अन्य जाति, भाषा, धर्म, लिङ्ग र क्षेत्रमाथि शोषण, दमन तथा उत्पीडन कम हुन सकैको पाइँदैन। यसले गर्दा आन्तरिकरुपमा राष्ट्रियतामाथि असर गर्ने काम हुँदै आएको छ।
जनताको लामो जनसंघर्ष जनयुद्ध तथा जनआन्दोलनले सामन्ती राजतन्त्रलाई अन्त्य गरेको छ। जनताका अधिकार स्थापित गर्नेक्रममा नेपालको संविधानले संघीय गणतन्त्र, समावेशी समानुपातिक, लोकतान्त्रीकरण गरी समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको छ। राष्ट्रियतासँग जोडिएका आन्तरिक आयामहरूलाई निराकरणको लागि आदिवासी जनजाति, मधेशी, दलित, महिला मुस्लिमहरूको पूर्णसमानुपातिक प्रणालीबाट सहज निकास निकाल्न सकिन्छ। समावेशी लोकतान्त्रिक पद्धतिबाट तत्कालीन समस्या हल गर्न सजिलो हुन्छ। राष्ट्रिय तथा वर्गीय मुक्तको आन्दोलनबाट नै क्षेत्रीय जातीय तथा लिङ्गीय समस्याहरूलाई दीर्घकालीनरुपमा समाधान गर्न सकिन्छ।
निचोड:
आम जनताका साझा शत्रुका रुपमा विद्यमान सामन्तवादका अवशेषका रुपमा दलाली पुँजीवाद नै आन्तरिक रूपबाट राष्ट्रियतामा असर गरी रहेको छ। आन्तरिकरुपमा राष्ट्रियतामा आघात पुराउनको लागि बाह्यरुपमा साम्राज्यवादको सञ्जालहरू मध्ये भारतीय विस्तारसँग ऐतिहासिक कालदेखि नै जोखिम विद्यमान छ। आन्तरिक आयाम तथा बाह्य जोखिमबाट मुक्त हुनको लागि राष्ट्रिय वा वर्गीय आन्दोलनसँग क्षेत्रीय, जातीय, दलित तथा जनजातिहरूको आन्दोलनलाई एकीकृत गरी परिचालन गरे मात्र संघीयताका मुद्दाहरू तथा राष्ट्रियतासँग जोडिएका आयामहरूबाट हल निकाल्न सकिन्छ।



लोकपाटी न्यूज

