सीता दाहालको मनोबल बढाउन ५० औं विवाहोत्सव मनाइने, कस्तो छ कार्यक्रम ?

Prachanda-sita dahal
लाेकपाटी न्यूज

काठमाडौँ। आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालको विवाह भएको ५० वर्ष पुग्दैछ। यही वैशाख २६ गते अध्यक्ष प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठको कार्यक्रम मनाइने भएको छ।

सीता दाहाल केही वर्षदेखि गम्भिर प्रकृतिको रोगबाट ग्रसित छिन्। सीता दाहालको मनोबल उच्च राख्न प्रचण्ड परिवारले औपचारिक समारोहको आयोजना गरेको हो। कार्यक्रमले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ।

पारिवारिक पीडा र तनावका कारण सीतामा केही वर्षयता पार्किन्सनको समस्या देखिएको छ। नियमित उपचारमा रहेकी दाहालको स्वास्थ्यमा सकारात्मक मनोबल विकास होस् भन्ने मनसायका साथ औपचारिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रचण्डकाे सचिवालय स्राेतले जानकारी दियाे।

सचिवालय स्राेतका अनुसार वैशाख २६ गते प्रचण्ड परिवारले शुभेच्छुकहरुलाई खुमलटार निवासमा बोलाउने तयारी गरेको छ। उक्त दिन शुभेच्छुकहरुले प्रचण्ड र सीतालाई ५० औं विवाह उत्सवका अवसरमा बधाइ दिनेछन्। साथै सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नेछन्।

व्यस्त राजनीतिक चाप र तनावका बीच पनि अध्यक्ष प्रचण्डले पत्नी सीताको स्वास्थ्यमा चासों र हेरचाह गर्दै आएका छन्। पछिल्लो समय अमेरिका पुगेर स्वास्थ्य उपचार गराएका प्रचण्ड र उनको परिवारले सीताको मनोबल बढाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न बिकल्पको खोजी गर्दै आएको छ।

कार्यक्रमले सीता दाहालको मनोबल बढ्ने अपेक्षा गरिएको छ। औपचारिक कार्यक्रम कस्तो हुने भन्ने बारेमा अन्तिम टुङ्गो नलागे पनि उक्त दिन शुभेच्छुकहरुले प्रचण्ड परिवारमा बधाइ तथा सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नेछन्।