- विश्वेश्वर कट्टेल
मेरो एक जना नाताले काकी पर्ने शिक्षक थिइन्। उनी चितवनकै एक माध्यमिक विद्यालयमा शिक्षण पेसामा छिन्। अध्ययनमा दुई विषयमा मास्टर गरेकी। हेर्दा हाँको-डाँको चल्ने खुब फुर्ती-फार्थी लगाउने खालकी। एउटा समवेदना लेख्न पर्यो, उनी कपी र कलम लिएर एक छिन घोरिइन्। त्यो कपीमा धेरैका समवेदना थिए। उनले माथि कसैले लेखेको सार्न थालिन, अल्लि तल पुगेपछि लाग्यो कि, यो त प्रसंग नै मिलेन। कसरी मिलाउने भनेर सोचेकी रहिछन्! मेरा काका खप्पिस अङ्ग्रेजी शिक्षक। काकाले भने सकिएन, कति बेर लगाएको हो। खै! मलाई त लेख्ने आएन, उनको जबाफ थियो। तिम्रो दुई विषयको डिग्री त फेल खायो नि त! काकाले एउटा व्यंग कसी हाले। काकी लरबर-लरबर गरी बल्लतल्लमाथिका धेरै उदाहरण हेरेर तीन लाइन जति समवेदना तयार गरी सही गरेर हिँडे। त्यसमा भएका भाषा अर्थ र शुद्ध अशुद्धको कुरा मैले यहाँ उल्लेख गरिन।
दोष कसको ?
एउटा शिक्षक, त्यो पनि डबल डिग्री होल्डर। के पढेर, कसले पढाएर, कस्तो परीक्षा दिएर डिग्री फटाफट पाएको होला! त्यो घटनाले मलाई भित्र-भित्र पोल्न थाल्थ्यो। यो, यहाँ मात्र घटेको र घट्ने घटना हैन। एक जनाको मात्र समस्या हैन। आम नेपालीको समस्या हो। यहाँको शिक्षाको समस्या हो। शिक्षा पद्धतिको समस्या हो। पढ्नेलाई के दोष। जे पढाए, त्यो पढे। पढाउनेलाई के दोष, जे विषय पढाउनु भनेका थिए, त्यही पढाए। हिजो उनका गुरुले उनलाई जरी पढाएका थिए, त्यसै गरी पढाए। के पढे त एक वाक्य शुद्ध लेख्न नसक्ने गरी। कुनै बहस छ, छलफल छ, पछिपछि हट्न पर्ने बाध्यता। डटेर आफ्नो तर्क राख्न नसक्ने गरी हामीले हाम्रा विद्यार्थीलाई वैकल्पिक सोच विकास गर्ने अवसर नै दिएनौं। किताब घोकेको देखे बाबुआमा खुसी। उनीहरूले पढ्नु भनेको त्यही हो भन्ने ठानेका छन्। सर, मिसले पढाउँछन्, उनीहरूले पढाउने भनेको जे बुझेका छन्, त्यसै गरी पढाएका छन्। हिजो उनका गुरुहरूले उनलाई कसरी पढाउँदथे। दोष कसको ?
जिजीविषा भित्रका कुरा
म किसानको छोरो। मेरो बाजे खेती किसानीसँगै भैँसी पालन गर्नुहुन्थ्यो। उखु लगाउने, खुदो र सखर बनाएर तीन दिनसम्मका बाटो गोरखाको आरूघाट धादिङ त्रिसुली हुँदै हिँडेर काठमाडौं आइ, सोह्र खुट्टेमा बसेर घ्यु, सखर र खुदो बेचेर नुन तेल मट्टितेल लिएर घर जाने। मेरो ‘बा’ले सो कुरा देख्नुभयो, तर कहिल्यै घ्यु सखर बेच्न काठमाडौं आउनु भएन। त्यही बाटो त धेरै हिँड्नु भयो तर, सामान बेच्न हैन शिक्षा लिन। उहाँले दरबार हाई स्कुलबाट एसएलसी दिनुभएको थियो।
त्यसबेला नेपालकै आफ्नो परीक्षा बोर्ड थिएन। भरतको दिल्लीमा थियो। नेपालका लागि काठमाडौं सेन्टर तोकिएको थियो। त्यसैले सबै एसएलसीसम्मको पढाइका लागि पनि काठमाडौंनै आउनु पर्ने थियो। आफ्नो ‘बा’कै प्रेरणाले उहाँले गोरखामा गएर पहिला शैक्षिक संस्थाहरू खोल्ने अभियान नै सुरु गर्नुभयो। पछि कृषि प्राविधिक भएर आधुनिक खेती खास गरी गहुँ अन्नबालीको आधुनिक खेती गर्ने अभियानमा जागिरे भएर जीवन भर लागिरहनु भयो। उहाँले गरेका काम र अनुभव सबै सबैका लागि प्रेरणादायी छन्। यी कुरा यहाँ समेट्न सान्दर्भिक छैन।
राष्ट्रिय संकटको रूप लिँदै
किनकि यसमा हामीले समय सापेक्ष शिक्षामा परिवर्तन नगर्नाले शिक्षाले समाजको मौलिक मार्ग भुलेका छ, त्यसको प्रभाव आज देखा परेका छ। युवा पलायन जबरजस्त छ। यसले राष्ट्रिय संकटको रूप लिँदैछ। शैक्षिक क्षेत्रका कमजोरीबारे, यसले सिर्जना गरेका समस्याबारे अब छलफल र बहस सुरु गर्नुपर्छ भन्ने सोचका साथ यो आलेख तयार गरिएको छ।
मैले आजभन्दा तीन वर्ष पहिले गोरखाको नाम चलेको एक सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर एक कार्यकाल काम गर्ने अवसर प्राप्त गरेँ। त्यहाँ त्यस्ता कयौं, शिक्षक थिए जसले एउटा शुद्ध वाक्य तयार गर्न सक्दैन थिए। करिब त्यो सङ्ख्या ७५ देखि ८० प्रतिशतको हाराहारीमा थियो। त्यही विद्यालय सबैभन्दा राम्रोमा गनिन्थ्यो।
बहुआयमीक हुनैपर्छ
शिक्षक भनेको त बहुआयमीक हुनै पर्दछ, तर आफ्नो विषयभन्दा बाहिर अलिकति चल्न पर्यो भने पसिना नै छुटाउने। आत्मविश्वास नै नभएका देखिन्थे। आफ्ना क्षमता पहिचान गर्न नसकेको अवस्था देखिन्थ्यो। विषय वस्तु पढाउँथेँ, विद्यार्थी पढ्दथे। न त विद्यार्थीमा यो विषय किन हामीले पढ्न परेको ? यो विषय नभएर अरू विषय राख्न मिल्थ्यो मिल्दैन थियो ? यो विषय राख्नुको उद्देश्य के थियो ? प्रश्न कसैले गर्दैन थियो। यसको गाम्भिर्यताको बोध शिक्षकसम्मलाई पनि थिएन।
गजबको पढाइ कला थियो। यथास्थितिवादी। झण्डै, ‘घोकन्ते विद्या धावन्ती खेती’को सेरोफेरो समातेको। शिक्षकभित्र पस्दथे। बोर्डमा शीर्षक लेख्दथे। पाठ्य पुस्तकमा लेखिएको कुरा सरसरी पढ्दथे। त्यहीभित्रको जे लेखिएको छ, त्यसैबाट भाव खोज्न लगाइन्थ्यो, मानिन्थ्यो कि, यहाँ लेखिएका कुराहरू बाहेक त्यस शीर्षकको अर्को कुनै विषय वस्तु नै छैन जस्तो गरी। त्यसका आधार पृष्ठभूमि र अन्य सम्बन्ध नै छैन जस्तै गरिन्थ्यो। विद्यार्थी त्यही घोक्थ्यो, त्यही घोकेको कुराको उत्तर दिन्थ्यो र पास हुन्थ्यो। पहिलेको वेदको ऋचा पढेजस्तै। उसले राम्रो नम्बर ल्याउँथ्यो, त्यही विद्यालय सबैभन्दा राम्रो हुन पुग्दथ्यो, भने अरू विद्यालयको हाल के होला ?
विद्यार्थी र अभिभावक
बाबुआमा दिनभरि मेलापातमा जानु हुन्छ। बिहान चार बजेदेखि उठेर काम गर्नुहुन्छ। गाई, भैँसी बाख्रा, जे जस्ता पशु पालिएको हुन्छ, तिनीहरूलाई कुँडो पानी घाँस पराल गर्यो, छोरा छोरी पढ्न जानु छ भन्यो, हतारहतार खाना बनायो, खाजा बनायो। बल्ल ८ बजे उठ्छन्। चिया खै भनेर सोध्छन्, तयार नभए रिसाउँछन्, बाआमा ४ बजेदेखि व्यस्त हुनुहुन्छ, मैले चिया पकाउन पर्दछ भन्ने ज्ञानसम्म पलाउँदैन। म त पढ्ने मानिस, के को गोवर सोहोर्न ? के को पराल थुत्न जाने ? के घाँस काट्ने, भारी बोक्ने ? मत पढ्ने पो हो त। बस् यही सोच जागेको छ।
बाआमाले पनि के गर्ने, मेरो छोरो मात्र हैन, तल्लो घरे दाइको छोरी पनि त्यस्तै छे! अर्को भाइको छोरो पनि त्यस्तै छ! मेरो छोरालाई मात्र काम लगाउँदा मैले अन्याय पो गरेको हुन्छु कि ? बाआमा बच्चासँग सधैँ डराइ रहन पर्ने अवस्था छ। बाआमाको मनोविज्ञान बुझेको चतुर बच्चा उ-उनीहरूबाट अझ धेरै फाइदा लिन थाल्दछ र नचाहिँदा माग गर्न थाल्दछ। उसको काम त बिहान उठ्नु, एक कप चिया खानु, किताब मिलाए जस्तो गरी समय काट्नु। खाना खाएर विद्यालय जानु। विद्यालयबाट आएपछि बाआमा नआउन्जेल खेल्न जानु। खेलेर आएपछि के-के न काम गरे जस्तो गरी बाआमासँग झगडा गर्नु। खाना खानु पढ्ने बहाना बनाउनु र सुत्नु। प्रायः निम्न मध्यमवर्गका आम विद्यार्थीहरूको दिनचर्या यस्तै देखिन्छ।
सोचाइमा प्रतिकुल प्रभाव
यो अवस्थाको विद्यार्थीमा कस्तो सोच पैदा हुन्छ ? उसलाई लाग्दछ मेरो काम पढ्नु हो। बाआमाको काम उसलाई पढाउनु हो। मेरो काम मेरा नयाँ-नयाँ आवश्यकता खोजी गर्नु हो। राम्रो कपडा, जुत्ता, मोबाइल, घडी वा अन्य वाद्यवादन, खेलकुदका सामान जुटाउने काम गर्नु हो। धुलो हिलोमा पढेका मानिसले काम गर्ने हैन। यस्तो काम त हाम्रा बाआमा काका काकी हजुरबा आवैले गर्ने हो। यो मान्यतामा हुर्केको बच्चाले जीवनलाई कसरी चिनेको छ त ? आफूलाई कसरी बुझेको छ त ?
यसस्थितिले कहालीलाग्दो रूपमा देखा परेको मूल समस्या त के भने विदेशमा पढ्न जाने होडबाजी। एउटा कोरा कल्पनामा जीवन जिउने विद्यार्थी, जो भरखर १८ देखि २० आसपास छन्। विदेश पस्दछन्। अब दिनानुदिनको समस्याले उनीहरू ग्रसित हुन पुग्दछन्। साथीहरू गए, म पनि जानै पर्दछ। गज्जबको मनोवैज्ञानिक होडबाजी चलेको छ। बाआमाले पनि गरिखाने खेत घर बन्धकी राखेर, सुर्का-सुर्की बेचेर, भएका पाठा-पाठी, गाई-भैँसी बेचेर भएपनि विदेश पठाउन बाध्य छन्। विदेशमा गएपछि पढ्छ, पैसा कमाउँछ र यो व्यवहार उतार्छ, केही आशा केही विश्वास र केही बाध्यताबीच उनीहरू यो काम गर्दछन्।
विदेशको कम्ता बिजोक
उता छोरा छोरीको बिजोग अवस्था बन्दछ। कुनै काम र व्यवहारमा नफसेका सबै कुरा बाआमाले जुटाइ दिने, खुवाइ दिने, चुठाइ दिने गरेको जीवनचर्यामा एकाएक बदलाव आउँछ। के गर्ने के नगर्ने ? जागिर खोज्दाको हैरान। जागिर बल्लतल्ल पाउँछ। कहिले अति चर्को घाम र गर्मी, कहिले अति कठ्याङ्ग्रिने जाडो एक्कासि भोग्न पर्दा कयौं विद्यार्थी त त्यसै निराश हुन पुग्दछन्। घरको यादले सताउन पुग्दछ। उनीहरूले बल्ल जीवन बुझ्न सक्ने हुन थाल्दछन्।
निराश मनस्थिति भित्रको वेदना
क्याम्पस र डेरा त्यसपछि नोकरी तीन क्षेत्र, तीनतिर हुन्छ। यो संयोजन मिलाउन नसकेपछि उनीहरू पहिलो प्राथमिकता नोकरी बन्न पुग्दछ। पढ्न गएको छोरो कसैको कामदार बन्न पुग्दछ। पढाइ एकातिर काम एकातिर बसाइ एकातिर उसले कुनै कुरा पनि सहीरूपले सम्हालेर अगाडि बढ्न सक्दैन। यसरी विदेश जाने अधिकांश विद्यार्थीहरू पढ्नको साटो कामको खोजीमा नै जीवन गुजारी रहेको अवस्था बन्दछ। त्यहाँ पुगेपछि नेपाल आउँ कसरी आउने।
उसलाई थाहा छ, उसको बाआमाको हालत। हिजो नेपाल बस्दा नचिनेका बाआमा उसले अब विदेश बसेर चिन्न थाल्दछ। कसरी आफूलाई राखेका रहेछन्, कसरी आफ्नो सर्वस्व पारेर पठाएका रहेछन्। उसले बुझ्न थाल्दछ। त्यसले उसलाई झन् छटपटी गराउँछ। अब केही त गर्नै पर्दछ, भनेर उ जीवन बाँच्ने आधार तयार गर्दै एउटा जीवन धानिरहेको हुन्छ। यो त एउटा सामान्यरूपले देखिएका विषय मात्र हुन्। त्यहाँको हालत निकै दयनीय छ।
निष्कर्ष
१. पहिलो कुरा नेपालको मौजुदा पाठ्यक्रम ‘नेपाल चिन्तन झल्कने गरी गाउँघर र बाआमाको परिनाको मूल्य चिन्न सक्ने जनशक्ति तयार गर्ने, नेपाली माटोको सुगन्ध थाहा पाउने जीवन व्यवहारमा आधारित हुन पर्यो।’ त्यसबाट सृजनशील र क्रियाशील जनशक्ति उत्पादन तथा विकास गर्ने कुरामा बढी ध्यान दिन जरुरी देखिएको छ। व्यवहारिक कक्षा हुन पर्यो। जीवन जिउन कला सिकाउन सक्नु पर्यो। खेत बारीको मूल्य, देशको मर्म, माया ममता चिन्न, चिनाउन सक्ने जनशक्ति तयार गर्ने किसिमको हुन पर्यो।
२. विदेशमा पढ्न जाने विद्यार्थीका वास्तविक समस्याका बारेमा यदि नेपाल सरकारको तर्फबाट खोज अनुसन्धान गर्ने हो भने पनि विदेश जाने मोह कम हुन्थ्यो होला। विदेश भनेको सुनको फुल पार्ने कुखुरी हो भन्ने सोच जुन छ, त्यो सोचयुक्त मोह तोड्न जरुरी छ।
३. विदेश जानेमा नबुझी जानेको सङ्ख्या बढी पाइन्छ। जहाँ-जहाँ विद्यार्थी जाने तयारी गरेका छन्, त्यहाँको वातावरण (जाडो र गर्मी)को अवस्था बुझाउन र पढ्ने स्थान, काम गर्ने स्थान र बस्ने स्थान कसरी व्यवस्थापन गर्न सकिन्छ, समाज, संस्कृति र वातावरण जस्ता कुरामा पहिला कम्तीमा एकदेखि तीन दिनसम्मको कोचिङ दिन जरुरी छ। त्यो कक्षा लिएपछि मात्र अन्य प्रक्रिया अगाडि बढाउने गरी व्यवस्थापन सरकारको तर्फबाटै गर्न जरुरी छ।
४. यस्ता कक्षाबाट एकातर्फ जाने विद्यार्थीले आफ्नो पूर्व मनस्थिति सुदृढ बनाउन सक्दछन्। कतिपय यहीँ बसेर पढ्ने सोच बनाउँछन्। विदेशमा गर्ने दुःख नेपालीले यहाँ गर्ने वातावरण तयार गर्ने हो भने, त्यो अवसर नेपाल सरकारले दिने हो भने अवश्य युवा पलायनको यो अवस्था आउँदैन।
५. नेपाल बसेर पढ्ने सोच, जसले बनाउँछ, उसका लागि विना धितो दुईदेखि पाँच लाखसम्म ऋण दिन व्यवस्था गरी सिक्दै पढ्दै शैक्षिक क्रियाकलापयुक्त अभ्यास गर्ने गरी सरकारले योजना ल्याउन ढिला भइसकेको छ। अस्तु…।



लोकपाटी न्यूज

