नयाँ शक्ति, फोरमसँगै राजपा पनि एकतामा मिसियाे

Baburam-upendra
लाेकपाटी न्यूज

काठमाडौं, १९ वैशाख। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच जारी एकता वार्तामा राष्ट्रिय जनता पार्टी पनि सहभागी भएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच जारी एकता वार्तामा राजपा बरिष्ठ नेता महन्थ ठाकुर पनि सहभागी भएका हुन्।

स्रोतका अनुसार केही समय समयदेखि नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, राजपा बरिष्ठ नेता महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव बबरमहलमा वार्ता भइरहेको छ। राजपा नेपाल निकट स्रोतका अनुसार, एकता वार्ताका लागि अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव नयाँ शक्तिको केन्द्रीय कार्यालय पुगेसँगै राजपा नेता ठाकुर पनि त्यहाँ पुगेका हुन्।

बबरमहलमा नयाँशक्ति पार्टी र राजपाको पार्टी कार्यालय आमनेसामने छन्। त्यसैले, यादव आएलगत्तै ठाकुर पनि वार्ताका लागि गएका हुन्। ‘सभा दुई बजेदेखि तीन नेताबीच गोप्य वार्ता चलिरहेको छ’ स्रोतले भन्यो, ‘नयाँशक्ति र फोरमबीच एकता वार्ता चलिरहेका बेला राजपा पनि त्यसमा मिसिएको हो।’

यसअघि हिजोसम्म नयाँ शक्ति र फोरमबीच पार्टी एकता वार्ता भएको थियो। नयाँ शक्तिले पार्टी एकताका लागि सरकार छोड्नुपर्ने सर्त फोरम समक्ष राखेको थियो। त्योभन्दा अगाडि मधेस केन्द्रित दलहरु फोरम र राजापाबीच एकता वार्ता भएको थियो। पार्टी एकता वार्ताका लागि औपचारिक पत्र आदान प्रदान समेत भएको थियो।