अभद्र व्यवहार र हैरानी विरुद्ध प्रहरीको शैक्षिक अभियान

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, १६ बैशाख । शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध अभियानसम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमूख अतिथि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमूख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले समुदाय र प्रहरीबीच गरिँदै आएका साझेदारीका कार्यक्रमले समाजमा र्पुयाएका सकारात्मक पक्षको बारेमा प्रकाश पार्दै अन्तरक्रियाले शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा अभद्र व्यवहार र हैरानी विरुद्धको अभियानलाई कार्यान्वयन गर्न सहयोग पुग्ने बताए। समृद्ध समाज र व्यवस्थित समाजको निर्माणको परिकल्पना पूरा गर्न हरेक नागरिकले आफ्नो दायित्वलाई सकारात्मक रुपमा लिएर अगाडि बढेमा समुन्नत र सुरक्षित समाज निर्माण गर्न टेवा पुग्ने प्रहरी बरिष्ठ उपरीक्षक लामाले बताए।

विद्यालयहरुको प्रतिनिधिको रुपमा सनराइज बोर्डिङ स्कूलका प्रिन्सिपल तेज प्रकाश श्रेष्ठले प्रहरीले ल्याएको कार्ययोजनालाई सक्दो सहयोग गर्न विद्यालयहरु प्रतिबद्ध रहेको उल्लेख गरे। विद्यार्थीहरुका लागि स्वच्छ र शान्तिपूर्ण समाज निर्माण गर्न सके नैतिक र संस्कारयुक्त विद्यार्थी उत्पादन गर्न सहज हुने उनको भनाइ थियो।

सामुदायिक सेवा केन्द्र कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रमूख प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए। शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान कार्यान्वयनको लागि नेपाल प्रहरीले आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध र हिंसा नियन्त्रण, बालबिवाह, दाइजो, छाउपडी, बोक्सी प्रथा र सामाजिक विकृति नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, आधारभूत कानून, आकस्मिक प्रहरी सेवा ९१००, १०३, १०४०, सडक सुरक्षा, लागूऔषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा, अपराध रोकथाम र जिम्मेवारी, प्रहरीसँग एक दिन लगायतका विषयहरुमा प्रशिक्षण दिनेछ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापक तथा प्रधानाध्यापकहरु, समुदाय–प्रहरी साझेदारीका विभिन्न समितिहरुमा आबद्ध संस्थाहरुका प्रतिनिधिहरु तथा नागरिक समाजका सदस्यहरु, प्रहरी अधिकृतहरु, अभिभावकहरु तथा विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।

विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानीका घटनाहरु रोकथामका लागि नेपाल प्रहरीले “समुदाय–प्रहरी साझेदारी” अवधारणाअन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान वैशाख १३ गतेदेखि शुरु गरेको हो ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘प्रहरीसँग एक दिन’
यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटमा सोमबार बिहान सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमूख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रहरीको काम–कर्तव्य, जिम्मेवारी, प्रहरीले हेर्ने मुद्दाको किसिम र नागरिकलाई प्रदान गरिएको सेवा र हासिल भएको उपलब्धी सम्बन्धमा जानकारी गराएका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रहरी कर्मचारीहरू, अभिभावक एवं र विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्