प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण कस्तो रह्यो, के-के समझदारी भए ?

prachanda
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु।’

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए। महासभामा सहभागी भई प्रधानमन्त्री प्रचण्ड त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका थिए।

चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी भएका थिए।

खेलकुदको उद्घाटन समारोह अघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रपति सी चिनफिङसँग अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो।’

चीनका राष्ट्रपति सि चिनपिङले गरेको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उनको भनाइ छ। ‘कोभिड-१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमण नभइरहेका सन्दर्भमा मेरो चीन भ्रमणले दुई देशबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए। दुई देशबीचको रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ,’ उनले भने, ‘सो विषयलाई पुनःपुष्टि गर्दै नेपाल-चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ दरिलो, अझ प्रगाढ र अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो।’

चीनले गरिबी निवारण र आर्थिक समृद्धिका क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिई चीनसँगको व्यापार, लगानी, अन्तर्देशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने विषयमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले चीनको पूर्ण समर्थन रहने बताउनुभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

सो भेटमा नेपाल-चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको उनले उल्लेख गरे। असल मित्रका रूपमा दुई देशबीच भएका समझदारी अन्तर्राष्ट्रिय मूल्यमान्यता र सिद्धान्तमा आधारित भई अगाडि बढाउने विषयमा कुराकानी भएको उनले जानकारी दिए।

भ्रमणका क्रममा यही सेप्टेम्बर २४ मा दिन चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्तालाई आह्वान गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। सो सम्मेलनमा आफूले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनालाई मूर्तरूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराएको उनको भनाइ छ।

सम्मेलनमा चीन सरकारका प्रतिनिधिको सकारात्मक सन्देश र उद्योगी व्यापारीको उत्साहजनक सहभागिता थियो। नेपाली राजदूतावासमा नेपाली र नेपालका शुभेच्छुक चिनियाँहरू सहभागिता रहेको स्वागत समारोहमा सरिक भई आफूले नेपाल-चीन सम्बन्धको वर्तमान अवस्था र सम्बन्ध सुदृढ गर्न सरकारले चालेका कदमका बारेमा जानकारी गराएको उनको भनाइ छ। दुई देशबीच समझदारीको कार्यान्वयनलगायत सम्बन्ध विस्तारका समग्र पक्षमा सक्रियरूपमा काम गर्न दूतावासलाई प्रधानमन्त्रीको हैसियतमा निर्देशन आफूले दिएको उनले उल्लेख गरे।

चिनियाँ समकक्षी लि छियाङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ताका क्रममा सहकार्यका विविध विषयमा सविस्तार छलफल भएको र त्यसबारेमा दुई देशबाट जारी संयुक्त वक्तव्यमा समेत स्पष्ट जानकारी भइसकेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

द्विपक्षीय वार्ता नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पुर्‍याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध परम्परागत सीमा नाकाको पुनःसञ्चालन, नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

यस्तै, विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्दै द्विपक्षीय व्यापार विस्तार गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सहरबाट हवाई सेवा विस्तार गर्नेलगायतका विषयमा समेत गहन छलफल भएको उनको भनाइ छ। पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले वाचन गरेको विज्ञप्तिअनुसार नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने भएको छ। त्यसैगरी स्याफ्रुबेँसी रसुवागढी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको छ।

भ्रमणपछि हिल्सा सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै देश सहमत भएका छन्। दुवै देश टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउन पनि सहमत भएका छन्। साथै काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको बिस्तार योजनालाई अघि बढाउने, नेपाल-चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिट्टै आयोजना गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

यी हुन् चीनसँग भएका समझदारी

भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर भएको छ। दुई देशका सम्बन्धित अधिकारीबाट हस्ताक्षर भई आदानप्रदान भएका ती समझदारीमा हिल्सा- सिमिकोट सडक परियोजना र नेपाल-चीन पावर ग्रीड इन्टरकनेक्सन परियोजना रहेको छ।

शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य, नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य गर्ने विषयमा समझदारी भएको छ। त्यस्तै, कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य, शास्त्रीय महत्वका ग्रन्थको अनुवाद र प्रकाशन, हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने, व्यापार तथा भुक्तानीसम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठनसम्बन्धी समझदारीसमेत सो अवसरमा भएको छ।

त्यस्तै, वनस्पतिमा आधारित औषधिजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने, चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरणसम्बन्धी पत्रको आदानप्रदान भएको छ। चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण र नेपाली सरकारी कर्मचारीलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान भ्रमणका क्रममा भएको छ।

मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलाङ्चुङ्गोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने विषयमा द्विपक्षीय छलफल भएको छ। मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले सहयोग प्रदान गर्ने भएको छ।

तिब्बत र नेपाललाई रेल, सडक, हवाई सेवा, विद्युत् प्रसारण लाइन, सूचना मार्ग सबै क्षेत्रबाट जोडेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने तथा ल्हासाबाट काठमाडौं हवाई सेवा पुनः सञ्चालन गर्नसमेत चिनियाँ पक्षलाई अनुरोध गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

सेप्टेम्बर २५ मा प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्तामा भएको थियो। सो अवसरमा अध्यक्ष झाओ लेजीले नेपाल र चीनको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान राष्ट्रिय जनकंग्रेसले पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताएका थिए। दुई देशको संसद्बीच कानुन निर्माणको अभ्यास र अनुभव आदानप्रदानबाट दुवै देश लाभान्वित हुने विषयमा आफूले जोड दिएको प्रधानमन्त्रीको भनाइ छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्