तनहुँ, १५ वैशाख । तनहुँको ३ सामूदायिक विद्यालय मर्ज गरिएको छ। विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ सामूदायिक विद्यालय मर्ज गरिएको हो।
वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको उक्त नगरपालिकाका शिक्षा शाखाप्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए।
उनका अनुसार समायोजन भएका विद्यालयहरुमा तीन कक्षासम्म अध्यापन हुन्थ्यो। ‘विद्यार्थी संख्या न्यून भएका र निजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको छ। नगर शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो’, उनले भने।
समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत रहने शाखा प्रमुख पौडेलले बताए।नगरपालिकाले भिमाद नगरपालिका ७ स्थित पोखरीछाप आधारभूत विद्यालयको दुई माथिल्लो कक्षा हटाएको छ। कक्षा ५ सम्म पढाइ हुँदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाइएकाले अब त्यहाँ कक्षा ३ सम्म पढाइ हुनेछ।



लाेकपाटी न्यूज

