पशुपति परिसरभित्र त्यो दृश्य

59334983_2361959207417401_3054182326863921152_n
तर, एक्कासी आँखा पशुपतिको अगाडि लास बोकेर ल्याइरहेको दृश्यतिर गयो। ताली पिट्दै गरेक हात एक्कासी रोकिए, हाँसिरहेका अनुहार मलिन भए। जति आनन्द महशुस भएको थियो, त्योभन्दा सयौं गुणा बढ्ता पीडा महशुस गर्‍यो यो मस्तिष्कले। सयौंको बीचमा कोही रुँदै लासको पछिपछि, अनि अरु ताली पिट्दै गरेको दृश्य देख्दा मन खिन्न लाग्यो।
लाेकपाटी न्यूज

नवीन पौडेल

सामाजिक सञ्जालमा राखिएका पोस्टहरु, गरिएका टिप्पणीहरु देख्दा ताजुब लागेर आउँछ। होइन, हामी नेपाली के भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए। यो नकारात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँबसुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको खटपट कम हुन्छ कि भनी साँझ पशुपतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवारी पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवेश निषेध भनेर लेखिएको पोस्टर टाँसिएको थियो। तर, जति नैतिकताको भाषण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

पशुपति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप बढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बाग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जलाइरहेको लास हेरिरहें। तर, त्यो पीडाभन्दा खुशी हुन त मानिसहरुको भीड नै उपयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घण्टीको आवाज अनि त्यो आरती देख्दा र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो।

तर, एक्कासी आँखा पशुपतिको अगाडि लास बोकेर ल्याइरहेको दृश्यतिर गयो। ताली पिट्दै गरेक हात एक्कासी रोकिए, हाँसिरहेका अनुहार मलिन भए। जति आनन्द महशुस भएको थियो, त्योभन्दा सयौं गुणा बढ्ता पीडा महशुस गर्‍यो यो मस्तिष्कले। सयौंको बीचमा कोही रुँदै लासको पछिपछि, अनि अरु ताली पिट्दै गरेको दृश्य देख्दा मन खिन्न लाग्यो।

मन्दिर अगाडि बसिरहेका मानिसहरु लास ल्याउन साथ ज¥याकजुरुक उठेर छेउ लाग्न थाले। आरती चलिरहेकै छ, त्यहाँ मृतकका आफन्त चिच्चाउँदै रोइरहेका छन्, वाचकले वाचन गरिरहेकै छन्, भक्तजनहरु कोही ताली पिटिरहेका छन्, कोही नाँचिरहेका छन्। बिचरा, त्यो मृतकको परिवारमा कस्तो पीडा महशुस गरिरहेको होला ? कस्तो मानस्पटल बनाएको होला।

रोदनमा बजेको ताली र नाँच मलाई पाच्य भएन र मेरो आरती हेर्ने चाहना त्यतिमै सकियो। जीवन कहिले सकिने हो, कसैलै अन्दाज पनि छैन। हामी मानव हौं, आफन्त होस् वा पराई, हामीमा मानिसप्रति सम्वेदना जाग्छ। तर, पशुपतिको दृश्यले म निरुत्तर भएर फर्किएँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्