काठमाडौं । न ठूलो लगानी, न धेरै जनशक्ति। चलचित्रका लागि कलाकार जन्माउने नाटकघर पछिल्लो समय व्यवसायिक बन्दै गएका छन्। आजभोलि मानिसहरुको रुचि चलचित्रभन्दा थिएटरमा मञ्चन हुने नाटकमा बढिरहेको छ। सीमित बजेट र सीमित कलाकारमा थिएटरले मनग्य आम्दानी गरिरहेकै छन्।
नाटकघर भन्ने बित्तिकै नाटक मञ्चन गर्ने थलो भन्ने बुझिन्छ। तर, नेपालका थिएटरले भने नाटक मञ्चनसँगै नयाँ कलाकार पनि उत्पादन गर्दै आएका छन्। पछिल्लोसमय नेपाली चलचित्र क्षेत्रमा थिएटरबाट गएका कलाकारहरुको राम्रो प्रस्तुति देखिन्छ। नयाँ पुस्ता थिएटरको अभिनयबाट चलचित्रमा प्रवेश गरी करिअर बनाउन थालेका छन्।
पञ्चायत, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र नेपालसम्म आइपुगेको सर्वनाम थिएटरले ३८ वर्षको यात्रा तय गरेको छ। अशेष मल्लको अगुवाइमा एक समूहले २०३८ सालमा खोलेको संस्था हो, सर्वनाम। आर्थिक, सामाजिक, राजनीतिक विकृति–विसंगतिलाई प्रत्यक्ष अभिनयमा उतारेर जनचेतना फैलाउने उद्देश्यले जुटेको एक समूहले नेपालमा सडक नाटकको सुरुवात गर्यो, त्यही अभियानलाई सर्वनाम थिएटरका माध्यमबाट निरन्तरता दिए।
संस्थापक मल्ल भन्छन्, ‘रंगमञ्च एउटा निःस्वार्थ काम हो, यसमा निरन्तर लागिरहनुपर्छ। रंगकर्म व्यक्तिगत नभई समाज, देशका लागि गर्ने हो।’ मल्लले देशमा रंगमञ्चको विकासको आवश्यकता औँल्याए। ‘नेपालमा थिएटरको विकास केही रुपमा भए पनि कल्चरको रुपमा विकसित हुन सकेको छैन। यसलाई व्यावसायिक बनाउन पनि आवश्यक छ।’
सर्वनाम थिएटरमा तीन तीन महिनाको तालीम हुन्छ। जसअनुसार १ वर्षमा यसले ५० कलाकार उत्पादन गर्छ। यसको अहिले १५ औं ब्याज चलिरहेको छ। यहाँ नयाँ विद्याथीलाई भ्वाइस एण्ड स्पीच, फिजिकल फिटनेस, म्युजिक, कथा ले्खन र निर्देशन लगायतका प्रशिक्षण दिने गरिन्छ। ‘अभिनय सिक्न आउने विद्यार्थीका लागि मण्डला ओपन प्लेटफर्म हो’ संस्थापक मल्ल भन्छन्।
३० वर्ष पूरानो इतिहास बोकेको सर्वनाम नाट्य समूहले राजधानीको डिल्लीबजारस्थित कालिकास्थानमा स्थापित यस थिएटरले करीब ७ वर्षदेखि थिएटर कलाकार उत्पादन गर्दै आएको छ। सबै विद्यार्थी कलाकार बन्छु भनेर मात्र नआउने र कोही आत्मविश्वास बढाउन पनि पनि अभिनय सिक्न आउने गरेको मल्ल बताउँछन्। उनी भन्छन्, ‘फिल्मतिर कलाकार चाहियो भने पनि रिफरेन्स दिन्छौं।’
धनकुटामा जन्मिएका अशेष मल्ल सानैदेखि नाटकमा निकै रुचि राख्थे। उनी सानैदेखि नाटक पढेर नाटक गर्थे। २०३२ मा आफैले लेखेको नाटक तुवाँलोले ढाकेको आकाश लिएर धनकुटाबाट धरान, विराटनगर वीरगञ्ज हुँदै काठमाडौं आए। विभिन्न जिल्लामा उक्त नाटक देखाउँदै उनीहरु ७ दिनमा काठमाडौं आइपुगे। जहाँ सबै भाग्य परीक्षणमा आएका थिए। अरू हिँडे, अशेष अडिए। अशेष मात्र भाग्यमानी बने। एक महिनासम्म एकेडेमीमा भीडभाडले नाटक चल्यो। फिल्ममा जस्तै टिकट काटेर नाटक देखाउने सपना विपना बनेपछि अशेषले १५ सय कमाए। त्यो १५ सय थिएन, १५ लाख थिएन, १५ करोड पनि थिएन। त्यो १५ सय उनको जीवन नाटकमा लगाउने जीवनद्वार थियो।
उनले एमए पढ्न त्रिवि भर्ना भए, जहाँ उनलाई नाटक गर्न हल उपलब्ध गराइयो। त्यहाँ उनले निरन्तर नाटक अभ्यास गरे। सुरु सुरुमा मल्ल कलेजकै साथीहरुलाई जम्मा पारेर नाटककै अभ्यास गर्थे। त्यसपछि उनलाई नाटक भनेको टिम ओर्क होजस्तो लग्यो। नाटक एक्लै गर्न सम्भव हुँदैन भन्ने उनले बुझें। त्यसपछि उनले टिम बनाएर अघि बढे।उनले आधुनिक नाटक बुझ्न ब्रिटिस, अमेरिकन र भारतीय लाइब्रेरी खुबै धाए। सडकदेखि सडकसम्म बन्यो आधुनिक नाटक, जसबाट उनले निकै प्रशंसा पनि पाए। मल्ललाई सडक नाटक देखाउने नेपालकै पायोनियर भन्न सकिन्छ।
उनी त्रिविका प्रोफेसर बनेका छन्। सयभन्दा बढी नाटकका लेखक र प्रदर्शनका द्रष्टा पनि बनेका छन्। हरेक क्षेत्रमा पागल भएर लाग्नु मान्छेको सफलताको सूत्र हो भन्ने मान्यता उनको छ। यसले यसो भन्ला कि उसले उसो भन्ला कि भनेर रोकिँदै अगाडि बढ्ने मान्छे सफल बन्न नसक्ने उनी बताउँछन्।
उनकी श्रीमती डा. सावित्री मल्लले पनि नाटकमै विद्यावारिधि गरेकी छिन् भने छोरी सम्पदा बलिउडमा फिल्म लेखनमा व्यस्त छिन्। परिवारको भरपुर साथ र सहयोगबाट सन्तुष्ट भएको उनी बताउँछन्।
कलाकार उत्पादन गर्दै थिएटर
अशेष भन्छन्, ‘नेपालमा सिनेमाको स्तर एकदम घटेर गए। नेपाली सिनेमामा पश्चिमी सभ्यता भित्रिन थाल्यो। दर्शकहरुले नयाँ टेस्ट चाहन थाले। परम्परागत अभिनयलाई दर्शकले रुचाउन छोडे। यसै क्रममा थिएटरबाट अभिनय सिकेर फिल्ममा जाने ट्रेण्ड शुरु भयो। चलचित्र निमार्ताहरुले नाटककै कलाकारलाई सिनेमामा स्थान दिन थाले। थिएटरका कलाकारले नै चलचित्रलाई जीवित राखेका छन्। नेपाली चलचित्रप्रति विश्वास जगाएका छन्। जसको फलस्वरुप आजभोलि दर्शकहरुप्रति नेपाली चलचित्रको मोह जागेको छ।
थिएटरबाट गएका कलाकरले चलचित्रलाई यथार्थपरक बनाएको उनको दावी छ। उनीहरुको प्राकृतिक अभिनयले चलचित्र जुर्मुराएको र पुर्नजीवित भएको उनको भनाइ छ। नाटक जीवन्त कला हो। किनभने फिल्ममा एउटा सिन ५० पटक खिच्न सकिन्छ, नाटकमा त्यो र्न सकिँदैन। यसका लागि लामो अभ्यास चाहिन्छ। नाटकमा अभिनय गर्न एक कलाकारले २/३ महिना नै अभ्यास गर्नुपर्छ। त्यस क्रममा ऊ पूर्णतः चरित्रमा डुब्छ।
तर, सिनेमामा कलाकार एकछिन सुटिङमा मात्र चरित्रमा प्रवेश गर्छ, त्यसैले उसको अभिनय प्राकृतिक देखिँदैन र त्यो कलाकार पनि जीवन्त हुन सक्दैन। संसारका चर्चित कलाकारको विगत हेर्ने हो भने उनीहरु नाटकबाटै गएका हुन्छन्। नाटक सम्मानित कला हो। अहिले फिल्मभन्दा नाटकतर्फ दर्शकहरुको आर्कषण बढेको छ। त्यसमा पनि बौद्धिक दर्शकहरु नाटक हेर्न बढी रुचाउँछन्।
नाटकले हाम्रो समाजको वास्तविक घटनाको चित्रण गर्दछ। यो काल्पनिक नभएर हाम्रै समाजका वास्तविक घटनामा आधारित हुन्छ। हाम्रा समस्या र अभाव, हामीले भोगेका पीडा, हाम्रो समाजमा महिलाप्रतिको दृष्टिकोण, महिला हिंसाका कुराहरु, बाल विवाहका कुरा, रुढीवादी अन्धविश्वास, अशिक्षा गरिबी, बेराजगारीजस्ता थुप्रै समस्याको यसले उजागर गर्छ। फिल्ममा नेपाली संस्कृति झल्किन छोडेको छ। तर, नाटक पूर्णतः मौलिक हुन्छ। यसले हाम्रा विधि, संस्कृति लोप हुनबाट जोगाएको छ।
साहित्यको स्रोत भनेको कला हो। नाटकलाई केही समय अघिसम्म नराम्रो दृष्टिकोणले हेरिन्थ्यो। नाटकमा अभिनय गर्नेलाई चरित्रहीन नै भन्ने गर्थे। अझ नाटकका लागि महिला नै पाइँदैनथे। समाजमा नराम्रो आरोप लाग्ने डरले उनीहरु ईच्छा भएर पनि यसबाट टाढा रहन्थे।
अहिले समाज परिवर्तन भएको छ। नाटक अथवा नाटकघरलाई हेर्ने दृष्टिकोण सकारात्मक परिवर्तन आएको छ। अभिभावकहरुले आफ्ना छोराछोरीलाई आफै नाटक क्लास खोजीखोजी भर्ना गराएका पनि छन्। पछिल्लो समय थिएटरतिर पुरुषभन्दा महिलाको आकर्षण बढ्दो पाइन्छ। नाटकघर व्यवसायिक हुन खोजे पनि व्यवसायिक हुन सकेका छैनन्।
नाटकमा मानिसको सहभागिता बढी हुन्छ, उत्पादनको लागत पनि बढी हुन्छ। चलचित्र हलजस्तो यसको पहुँच पनि सबै ठाउँमा छैन। त्यसैकारण नाटक फिल्मभन्दा महंगो लागेको हो। बिस्तारै मितव्ययी बनाउँदै यसलाई सर्वसुलभ बनाउन सकियो भने नाटक सबैको पहुँचमा पुग्न सक्छ।



लाेकपाटी न्यूज

