अज्ञात रोगले लियो आठको ज्यान

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

हुम्ला, १४ वैशाख। हुम्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गाउँपालिकामा पहिचान हुन नसकेको रोग फैलँदा ८ जनाको मृत्यु भएको हो।

गाउँमा फैलिएको अज्ञात रोगका कारण एक साताभित्रै ८ जनाको ज्यान गएको छ। उक्त रोगले १२ जनाभन्दा बढी बिरामी परेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। स्थानीय मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीका अनुसार ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनारको मृत्यु भएको हो।

यस्तै वडा नम्बर ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापाको मृत्यु भएको छ। रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए।

एक हप्ताअघि पानी परेसँगै उक्त रोग फैलिएको हो। सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने उक्त रोगका कारण अन्त्यमा बिरामीको मृत्यु हुने गरेको छ। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नबस्ने तथा औषधिसमेत नभएका कारण उपचारमा समस्या भइरहेको स्थानीयबासिन्दाले बताएका छन्।

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा पर्छ। बिरामीको उपचार तथा रोग नियन्त्रणका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्