अवैध लागूऔषध : अन्सारीसहित तीन पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ०७ वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४८ केजी ८ सय ग्रामसहित अंमर जित सिंहलाई प्रहरीले पक्राउ गरेको छ। भारत बिहार बैसालीग्राम बस्ने ३२ वर्षीय सिंहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवनापुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बिआर ३१ एम ५०५१ नम्बरको कार जाँच गर्नेक्रममा कारमा फल्सबटम बनाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।

त्यस्तै सर्लाहीको ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित भारत मझपपुर बस्ने ५० वर्षीय कमरुदिन अन्सारीलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका अन्सारीलाई झोलामा लुकाई छिपाई राखेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१० स्थित सडकबाट नवलपरासी (पश्चिम) कालिनन्दन गाउँपालिका–३ बिलासपुर बस्ने १९ वर्षीय अर्जुन गुप्तालाई नियन्त्रित लागूऔषध डाइजेपाम ९३ एम्पुल, प्रोमिथाजाइन ९० एम्पुल, नुर्फिन ७० एम्पुल, ब्रुप्रिनोफिन २६ एम्पुल, फेनारगन ६ एम्पुल, फेनसिडिल १५ बोतल र गिल्नकफ २८ बोतलसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले युपि ५६ बि ६४८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुप्तालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्