काठमाडौं, ६ वैशाख । तारकेश्वर नगरपालिका-१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा एक जनाको मृत्यु भएको छ ।
पोल ढल्दा करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको करेन्ट लागेर मृत्यु भएको छ । आफनै घरको बिद्युतको मिटरमा तार जोडने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान उनको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा बसको ठक्करबाट ज्ञान बहादुर दाहालको मृत्यु भएको छ । धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बा. ४ ख ८६६७ नम्बरको बसले शुक्रबार बिहान सोही ठाउँ बस्ने ५० बर्षीय दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा २१ वर्षीय अजय बोखिम मृत फेला परेका छन् । सिरिजंगा गाउँपालिका-३ कुन्जरी बस्ने २१ वर्षीय बोखिम शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहीबार दिउसो माछा मार्न भनि घरबाट हिँडेका उनी घर फर्कि नआएपश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।



लाेकपाटी न्यूज

