काठमाडौं, ४ बैशाख। आर्थिक वर्षको शुरुदेखि नै नेपाल आउने विदेशी लगानी सुस्त रहेको छ। उद्योग विभागको वैदेशिक लगानीका उद्योग दर्तामा कमीमात्र होइन वास्तविक लगानी प्रवाहमा पनि कमी आएको छ।
शुरुदेखि नै सुस्त रहेको लगानी वर्षको उत्तरार्धतिर आउँदा पनि खासै बढ्न सकेको छैन।अघिल्लो वर्षको तुलनामा यो साउनदेखि फागुनसम्म आधा लगानी घटेको छ।चालु वर्षको आठ महिनामा ६ अर्बं ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी लगानी आएको छ।
अघिल्लो वर्षको तुलनामा यो ५२ प्रतिशत कम हो।अघिल्लो वर्ष यही अवधिमा १४ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो लगानी ५८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ७७ प्रतिशतले बढेको थियो।
नेपालमा वैदेशिक लगानी कहिलेकाही ठूलो परियोजनामा आउँदा धेरै देखिने प्रवृत्ति रहेको छ। नयाँ सरकार गठन हुँदा सबै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहने र समय परिपक्क भएपछिमात्र लगानी गर्ने स्वभावका कारण यस्तो भएको हुनसक्ने बताउँदै आएपनि परिणाममा देखिन सकेको छैन।
अघिल्लो महिनामात्र लगानी सम्मेलन आयोजना गरेको सरकारले व्यावसायिक वातावरणका लागि कानूनी तथा नीतिगत पूर्वाधार बनाएको छ।
अबका दिन वैदेशिक लगानी प्रवाह बढ्ने सरकारी अधिकारीहरु विश्वस्त छन्। सेवा सुविधा र छुटको अफर सरकारले दिएकाले लगानी आकर्षित हुनेमा अर्थमन्त्रीदेखि उच्पदस्थहरु विश्वस्त देखिन्छन्।
तर नियम कानून भन्दा एउटा व्यक्तीको निर्देशनमा व्यापारीमाथि धरपकड हुन थालेपछि पछिल्लो समय झनै व्यवसायिक वातावरण विग्रंदै गएको व्यापारीहरुको आरोप छ।
नेपलामा कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सर्भे अनुसार २ सय ५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ।



लाेकपाटी न्यूज

