भोजपुरको अरुणमा भयो ‘जोडी परेवा’ काे मञ्चन

01
लाेकपाटी न्यूज

भोजपुर, ०३ वैशाख । भोजपुरको अरुण गाउँपालिकामा ‘जोडी परेवा’ नामक नाटक मञ्चन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ। नयाँ वर्ष २०७६ को सुअवसरमा अरुण कला साहित्य समाजको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

अरुण गाउँपालिका उपाध्यक्ष बिनिता ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अथितिका रुपमा लामो समयदेखि सूचनाको हक अभियानमा सरिक संस्था आर.टि.आइ.एड इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका राष्ट्रिय कलाकार तथा लेखक जीवन थापा क्षितिज, कलाकार तथा निर्देशक गणेश उपाध्याय र उमेश कार्कीलाई आमन्त्रित गरिएको थियो।

सन्तोष थापाको लेखन तथा निर्देशन रहेको उक्त नाटकको सह–निर्देशन तिलक थापा र पुजन आचार्यले गरेका छन्। सामाजिक विषयवस्तुमा आधारित उक्त ‘जोडी परेवा’ नाटकमा पुजन आचार्य, तिलक थापा, भूमिका ढकाल, सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, लोकेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य लगायतले दमदार अभिनय गरेका छन्।

कार्यक्रममा नाटक मञ्चनसँगै नृत्य प्रतियोगिता पनि सम्पन्न गरिएको थियो। नृत्य प्रतियोगिता अन्तर्गत प्रा.वि स्तरीय नृत्यमा मनिसा थापा र रिक्तिमाया तामाङ क्रमशः पहिलो र दोस्रो भएका छन् भने खुल्ला नृत्यतर्फ मिना भुजेलको समूह प्रथम, भोजकुमारी ढकालको समूह दोस्रो र दिपा ढकालको समूह तेस्रो भएका छन्। प्रतियोगितामा विजय प्राप्त गर्नेलाई नगदसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले नाटकले सामाजिक यथार्थलाई समेट्न सकेको बताइन्। उनले कला र संस्कृति समाज विकासका संवाहक भएको बताउँदै त्यसको जगेर्नाको लागि नव कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय कलाकार तथा लेखक जीवन थापा क्षितिजले कलाकारले समाजमा भएका यथार्थ घटनालाई ऐनाझैँ छर्लङ्ग देखाउने मात्र नभएर समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कलाकारिताका माध्यमबाट देशमा केही गर्छु भन्नेहरुका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए।

कार्यक्रममा बोल्दै अरुण कला साहित्य समाजका अध्यक्ष अनिश ढकालले कला र संस्कृतिको संवद्र्धनका लागि आफूहरुले सकेको पहल गर्ने बताउँदै अग्रज कलाकार तथा स्थानीय तहबाट सहयोगको अपेक्षा गरेको बताए। उनले यही ठाउँमा जन्मिएकाहरु देशका विभिन्न ठूला ओहोदामा पुगेको स्मरण गराउँदै पछिल्लो समय कला क्षेत्र मौलाउँदै गएको र त्यस्लाई मलजल गर्न समाजले कत्ति पनि कन्जुस्याईं नगर्ने बताए।

स्थानीय श्री विश्वप्रेमी प्राविधिक माध्यमिक विद्यालयमा सम्पन्न सो कार्यक्रमको सञ्चालन अरुण कला साहित्य समाजकी सल्लाहकार दिल कुमारी ढकालले गरेकी थिइन्। कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष ध्यान बहादुर राई, प्रधानाध्यापक शालिकराम ढकाल लगायतका स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्