सरकारविरुद्धको आन्दोलनमा विचार मिल्नेसँग सहकार्य गर्छौं : पूर्वमन्त्री यादव

rajkishor yadav.JPG01
लाेकपाटी न्यूज

काठमाडौं, ०२ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्वमन्त्री राजकिशोर यादवले सरकारविरुद्धको आन्दोलनमा कांग्रेसलगायत विचार मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्। वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाउँदै यादवले यस्तो बताएका हुन्।

उनले भने, ‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन। सरकारलाई दोष थोपरेर उम्किन खोजेको होइन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’

पछिल्लो समय विकासको नाममा कतै विनाश मात्रै त भैरहेको छैन ? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले २०७६ सालमा मुलुकको सर्वाङ्गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्ने पनि आवश्यकता रहेको औंल्याए । उनले भने, ‘विचारबिनाको विकास कसरी हुन्छ ?’ आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने, ‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ । विश्वकै शक्तिशाली देशहरु पनि यसबारे चिन्तित छन् । हामी पनि यसबाट प्रताडित हुने अवस्था छ । अहिले हाम्रो वनको अवस्था के छ ?’ उनले प्रश्न गरे।

उनले नेपालका नेताहरुको विचित्रको रोग भनेको नै मञ्च पाएपछि भाषण ठोक्ने भएको उल्लेख गर्दै नेपाललाई नेपालजस्तो बनाउनुपर्ने बताए । उनले भने, ‘हामी सिंगापुर र स्विट्जरल्याण्ड बनाउँछौं भन्छौं । तर, नेपाललाई नेपालजस्तो बनाउँछौं भनेर हामीले कहिल्यै पनि सार्वजनिक प्रतिबद्धता गरेनौं । यो अत्यन्तै दुःखदायी कुरा हो ।’

जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने,‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’ वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए । वर्तमान सरकार फरक विचार राख्नेलाई जाइलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए । उनले भने, ‘सरकारको यो कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको छ ।

उनले अहिलेको सरकार विगतको सरकारभन्दा फरक भएकोले यो सरकार आएसँगै नेपाली जनताको जीवनमा के–के फरक पर्यो भन्ने कुरा देखाउनुपर्ने पनि स्पष्ट पारे । यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । उनले भने, ‘बडो प्रतिकुलताको अवस्थामा पनि हामीले यो सरकारलाई समर्थन जारी राख्यौं । तर, एक वर्षसम्म पनि केही नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं ।’

सरकारलाई सचेत गराउने उद्देश्य बोकेर नै आफूहरुले दबाबमूलक कार्यक्रम अघि सारेको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’ आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जनाए । उनले भने, ‘महाधिवेशनको तिव्र तयारीमा छौं । अहिले संगठनलाई बलियो बनाउनतिर हामी लागेका छौं ।’