नेताहरुलाई प्रश्न : के अङग्रेजी बोल्दैमा विद्वान् भइन्छ ?

Bhim Gautam
संसारका धेरै मुलूकका अनुभवी नेताहरुले अङ्ग्रेजी जान्दाजान्दै पनि आफनै राष्ट्र र राष्ट्रिय भाषामा अन्तर्राष्ट्रिय मञ्चहरुमा बोलेका धेरै उदाहरणहरु छन्। बेलायत, अमेरिका, अष्ट्रेलिया,न्युजिल्याण्ड लगायत केही मुलूकमा प्रयोग हुने अङ्ग्रेजी भाषालाई संसारका अधिकांश युरोपियन, ल्याटिन अमेरिकन र एसिया प्यासिफिक राष्ट्रहरुमा प्रयोग गरिँदैन।
लाेकपाटी न्यूज

भीम गौतम

भाषा मानव जातिको सबैभन्दा बलियो औजार हो, जुन हरेक क्रियाकलापमा आवश्यक हुन्छ। भाषाको माध्यम र भाषिक इतिहासले नै माजव जातिको ऐतिहासिक विकासक्रमलाई लेखन परम्पराको माध्यमबाट लिपिबद्ध गरिएको छ। इशापूर्व ५००० वर्ष अगाडिदेखि मध्यपूर्वबाट लेखन शैलीको विकास हुँदै भारतीय उप–महाद्वीपमा इशापूर्व २००० को सेरोफेरोमा अक्षरीय पद्दतिमार्फत् भाषाले मानव विकास, कला, संस्कृति, साहित्य र इतिहासलाई विभिन्न रुपबाट संकलित गरेका प्रमाणहरु भेटिन्छन्।

महाभारतको युद्ध तथा राजनीतिक परिवेशजस्तै आधुनिक संसारमा भाषा र त्यसको प्रस्तुतिलाई राजनीतिक बहस निकै चाखपूर्ण तरीकाले विमर्श गरिएको पाइन्छ। खासगरी २० शताव्दीको विज्ञान र आम सञ्चारको विकासले राजनीतिक नेताहरुले बोल्ने भाषा, उनीहरुको अन्तर्वार्ता र भाषणहरुले विभिन्न अर्थहरुमा प्रयोग गरेको पाइन्छ। नेपालमा पनि लिच्छवी र मल्लकालमा नेवारी संस्कृति र मैथिली भाषालाई बढी प्रयोग गरेको देखिन्छ। काठमाडौं (तत्कालीन नेपाल) उपत्यकामा जनमानसमा नेपाली, मठ–मन्दिरमा संस्कृत र राजकीय नाटक तथा रङ्गमञ्चमा मैथिली भाषाको प्रयोग हुने गर्दथ्यो।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपाली भाषा (तत्कालीन गोर्खा भाषा) ले कानूनी र प्रशासनिक भाषाको मान्यता पायो भने नेपार मैथिली लगायत अन्य भाषाहरु समुदायमा मात्र बोलिने भाषाका रुपमा प्रयोग भए। संस्कृत भाषा पनि पण्डित, पुरोहित र उच्च ब्राह्माण वर्गमा सीमित हुन पुग्यो। सन् १८१५ को सुगौली सन्धीमा अङ्ग्रेजी भाषाको प्रयोग भएपनि जंगबहादुर राणाको बेलायत भ्रमणपछि दरवार हाइस्कुलमार्फत् अङ्ग्रेजी भाषा पनि नेपाली शिक्षा र राजनीतिक चेतनामा प्रवेश गर्‍यो।

वि.सं. २००७ सालमा राणा शासन समाप्त भएपछि नेपाली राजनीतिमा वैदेशिक असर बढ्न गयो, जसको प्रभाव अंग्रेजी, हिन्दीजस्ता भाषाहरु पनि नेपाली भाषाको विकल्पका रुपमा देखिन थाले। नेपालीपछि अंग्रेजी र केही मात्रामा संस्कृत भाषालाई शिक्षामा प्रयोग गरियो। एकातिर विश्वव्यापीकरण र विकास एवं आम सञ्चारमा आएको फेरबदलले नेपालमा नीजिकरणको माध्यमबाट अङ्ग्रेजीको प्रभावहरु देखिन थाल्यो भने अर्कोतिर तत्कालीन माओवादी जनयुद्धमार्फत् बुर्जुवा र गाइखाने शिक्षा बहिस्कारको अभियान चल्न पुग्यो। विदेशी भाषा र संस्कृतिभन्दा आफ्नै भाषा, साहित्य र संस्कृतिको विकास गर्नुपर्ने एउटा राष्ट्रिय अभियान शुरु भयो।

नेपाली समाज २०६२/०६२ को आन्दोलनमा होमिदा पनि नेपाली भाषा र संस्कृतिको पक्षधर र अङ्ग्रेजी भाषा पक्षधरको रुपमा विभाजित देखियो। देशमा गणतन्त्रको स्थापनापछि नेपाली राजनितिक मञ्चहरुमा अङ्ग्रेजी जान्ने र नजान्ने कुरामा नेपाली नेताहरुको मूल्याङ्कन शुरु हुन थाल्यो। खासगरि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा विभिन्न समयमा नेपाली नेताहरुले बोलेका कुराहरु र उनीहरुले जानी नजानी अङ्ग्रेजीमा गरेका लिखित तथा मौखिक भाषण गर्ने कुरा परम्परा नै हुन थाल्यो।

बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने अङ्ग्रेजीमा कुरा गरेर मात्र कोही महान् र बौद्धिक हुने होइन। आफना कुराहरु व्यवस्थित रुपबाट आफ्नै मातृभाषामा प्रयोग गर्दा कोही कमजोर र अपमानित हुनु पर्दैन। संसारका धेरै मुलूकका अनुभवी नेताहरुले अङ्ग्रेजी जान्दाजान्दै पनि आफनै राष्ट्र र राष्ट्रिय भाषामा अन्तर्राष्ट्रिय मञ्चहरुमा बोलेका धेरै उदाहरणहरु छन्। बेलायत, अमेरिका, अष्ट्रेलिया,न्युजिल्याण्ड लगायत केही मुलूकमा प्रयोग हुने अङ्ग्रेजी भाषालाई संसारका अधिकांश युरोपियन, ल्याटिन अमेरिकन र एसिया प्यासिफिक राष्ट्रहरुमा प्रयोग गरिँदैन।

नेपालमा पनि अंग्रेजी भाषाको प्रयोग गर्दा आफू बढी विद्धान् हुने कुरो भ्रम मात्र हो। केहीसमय अगाडि मन्त्री गोकर्ण विष्टको अङ्ग्रेजीलाई नेपाली मिडियाहरुले समाचार बनाएका थिए, जुन अनावश्यक थियो। भर्खर सम्पन्न नेपाल इन्भेष्टमेन्ट समिटमा केही नेपाली मन्त्रीहरुले बोलेको अङ्ग्रेजी फेरि सतहमा आएको छ, जुन बहस र विवाद अनावश्यक छ। हाम्रा राजनेताहरु पनि नेपाली वा आफूलाई सजिलो हुने मातृभाषामा कुराकानी र छलफल हुने बानी बसालौं। अनि मिडियामा काम गर्ने मित्रहरुले पनि भाषा एउटा माध्यम मात्र हो, यो ज्ञान र बौद्धिकता नाप्ने कसी होइन भन्ने कुरा बुझौं।

अबको युगमा अनुवादक र मेशिन अनुवादको माध्यमबाट एउटा भाषाको कुरो सजिलै अर्को भाषामा रुपान्तरण गर्न सकिन्छ। अर्को कुरा औपचारिक मञ्चहरुमा हामीले हाम्रै मातृभाषामा बोल्दा विश्वमा नेपाली भाषा थप स्थापित हुन्छ। यसले नेपालको पहिचान र विकासलाई नै मद्दत गर्छ। तसर्थ, नेपाली नेताहरुले सकी नसकी अङ्ग्रेजी भाषा बोल्नु हुँदैन, त्यो जरुरी पनि छैन।

(लेखक गौतम त्रिभूवन विश्वविद्यालयमा भाषा विज्ञान विषयमा प्राध्यापन गर्छन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्