वैदेशिक रोजगार : विप्रेषणले कहिलेसम्म देश चल्छ ?

hemkala
लाेकपाटी न्यूज

हेमकला अधिकारी
काठमाडाैं,२४ चैत । प्रविधिको विश्वव्यापीकरण पश्चात् नेपाली युवाहरुको वैदेशिक रोजगारीप्रतिको आकर्षण तिव्र गतिमा वृद्धि भइरहेको छ । योसँगै नेपालका युवा जनशक्तिहरु विदेशी मुलुकमा रोजगारीका लागि जाने क्रम दु्रत गतिमा बढिरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको महत्वपूर्ण रोजगार प्राप्त देशहरुमा साउदी अरेबिया, कतार, मलेसिया, युएई., कुबेत, ओमन, दक्षिण कोरिया आदि हुन् । पछिल्लो चरणमा लेवनान, अफगानिस्तान र जापानमा पनि नेपाली कामदारहरुको लागि अवसरहरु सिर्जना भएका छन् ।

आफू शिक्षित हुँदाहुँदै पनि देशमा रोजगारी पाउन कठिन भएको र पाएको रोजगारीले पनि हातमुख जोड्न नै हम्मे–हम्मे पर्ने भएकाले नेपालका लाखौं युवायुवतीहरु रोजगारीको शिलशीलामा विदेश जान बाध्य भएका छन् । सन् २०१६÷१७ को आर्थिक सर्वेक्षण अनुसार सन् २००१÷०२ मा नेपालबाट बैदेशिक रोजगारीमा जाने कामदाहरुको संख्या ५५ हजार भन्दा बढी थियो । यो संख्या सन् २०१६÷१७ मा बढेर ४ लाख नाग्यो । यो आँकडाअनुसार वैदेशिक रोजागारीमा जाने कामदारहरुको संख्या दिनप्रतिदिन तिब्र रुपमा बढिरहेको पाइन्छ ।

नोपाली युवा युवती विदेश पलायन हुनुकोे मुख्य कारणको रुपमा देशको राजनीतिक अस्थिरता र गरीबी रहेको पाइन्छ । गरीबिको कारण घरव्यवहार चलाउन समस्या भएको र देशमा उपयुक्त रोजगारी अवसर नपाएका कारण आजको युवा जनशक्ति धमाधम विदेश पलायन हुन बाध्य भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले पठाएको वैदेशिक मुद्रा वा विप्रेषणले नेपालको आर्थिक विकास, गरिबी निवारण र जिवनस्तर सुधारमा ठूलो भूमिका निर्वाह गरिरहेको छ । यसका साथै यसले वैदेशिक मुद्राको सञ्चय वृद्धि गरी अनियन्त्रित रुपमा वृद्धि भएको व्यापार घाटालाई थेग्ने काम पनि गरिरहेको छ । त्यसैले नेपालको गरीबी निवारण र जिवनस्तर सुधारमा पनि वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो भूमिका छ । त्यसैले नेपालको अर्थतन्त्रलाई विप्रेषणमा आधारित अर्थतन्त्र पनि भन्ने गरिन्छ ।

पछिल्लो समय १८ वर्ष नागेका सबैजसो युवायुवतीहरु रोजगारीका लागि विदेश जाने भएकाले गाँउघरमा वृद्धवृद्धा र केटाकेटी मात्रै रहने भएकाले गाँउ घरका कृषिजन्य जग्गा जमिन पनि बाँझै रहन थालेका छन् । गाउँका खेतबारीमा काम गरेर खान लाउन नपुग्ने र आर्थिक अभावले गर्दा नेपालका युवायुवतीहरुले रोजगारीका लागि खुल्ला गरिएका राष्ट्रहरुलाई सपनाको संसार बनाउन थालेका छन् । यसले गर्दा गाउँघर नै सुनसान हुन थालेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने प्रवृत्ति फेसनकै रुपमा विकास भएको जस्तो देखिएको छ । देशका युवाजनशक्तिहरु सबै विदेश पलायन हुनाले राष्ट्रमा विकराल स्थिति सिर्जना हुन थालेको छ । मानिसहरुले आफनो जिवनको लक्ष्य नै विदेशी भूमिमा खोज्न थालेका छन् ।

आजकाल साना साना बालबालिकाहरुलाई पनि ठूलो भएर के गर्ने ईच्छा छ भनेर सोध्यो भने म त ठुलो भएर जापान, अमेरिका, अष्ट्रेलिया, कोरिया जस्ता राष्ट्रमा जाने र धेरै पैसा कमाउने भन्ने जवाफ दिन थालेका छन् । उनिहरुका बाबा आमा पनि छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिएर देशमै केही गर्न लगाउने भन्दा पनि विद्यालय तहको पढाइ सकेपछि राम्रो विदेशी मुलुकमा रोजगारीको लागि पठाउने भन्ने सपना नै बुनिसकेका हुन्छन् ।

नेपालको शिक्षा प्रणाली व्यावहारिक र प्रयोगात्मक नभएका कारण जति नै पढेपनि देशमा भनेजस्तो रोजगारी पाइने होइन, बरु बेलामा वैदेशिक रोजगारीमा गएर पैसा कमाउन सकिने भने राम्रो हुन्छ भन्ने मान्यता धेरैजसो मासिहरुमा रहेको पाइन्छ । यसले गर्दा देशका दक्ष जनशक्तिहरु तिब्र गतिमा पलायन हुने र देशमा ठूलो मात्रामा युवाहरुको संकटको अवस्था सिर्जना हुने खतरा देखिएको छ । हिमाल, पहाड तराई एकैठाउँ भएको विश्वमै जलस्रोतको दोस्रो धनी देश भनेर चिनिएको, प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको स्वर्ग जस्तो मेरो देशका जनताहरुलाई आज समुन्द्रि किनारमा अवस्थित बालुवा नै बालुका भएका खाडि मुलुकहरुले गुलामी बनाइरहेको देख्दा एकदमै दुःख लागेर आउँछ । पछिल्लो समय निकै चर्चामा रहेको र राम्रो कमाइ हुने भनिएको राष्ट्र दक्षिण कोरियामा रोजगारीमा जाने मानिसहरुको एकदमै भिड लागेको छ ।

अझ नेपालमा बिडम्वनाको कुरो त के छ भने अलि अलि भएको रोजगारीमा पनि दक्ष जनशक्तिलाई नलगाएर राजनीतिक चलखेल र घुसखोरी गरेर राम्रा होइन हाम्रालाई महत्व दिइने गरिएको पाइन्छ । त्यसैले गर्दा आज डिग्री पास गरेका शिक्षित मानिसहरु पनि घरमै सर्टिफिकेट थन्काएर कोरिया जस्ता मुलुकहरुमा कामदारको सपना जानका लागि तछाड मछाड गरिरहेका छन् । देशमा बसेर रोजगारीको कुनै विकल्प नभएको हो कि, युवा जनशक्तिलाई बिदेशी मुलुकहरुले आकर्षण बढाएको हो ? विदेशी मुलुकमा आप्mनो सपना बुनेर गएका कति नेपाली नागरिकहरु विदेशमा काम गर्ने शिलशिलामा मृत्यु भई सयौंको संख्यामा काठको बाकसमा फर्कने गरेका छन् । वैदेशिक रोजगारीमा बुनेको सपना छिनभरमै अन्त्य भएको र उनिहरुको परिवारको बिचल्ली भएको घटनाहरु पनि धेरै देखिएको, सुनिएको छ । विदेशी भूमिमा गएर पसिना बगाउनु भन्दा, आप्mनै देशमा परिश्रम गरेर रोजगारमुलक राष्ट्र बनाउनु पर्छ भन्ने सोच युवाहरुमा जागृत हुनपर्छ र सरकारले पनि सिपमूलक तालिम तथा रोजगार अभिमुखीकरण गरेर जनतालाई आत्मनिर्भर बन्न सहयोग गर्नुपदर्छ । विदेशिएका युवाहरुलाई पनि स्वदेश फर्काउन प्रयत्न गर्नुपर्दछ र राष्ट्रलाई विकास र समृद्धिको यात्रामा अगाडी बढाउनु पर्दछ, तब पो देश बन्छ ।

हेमकला अधिकारी, भाेजपुर ( हाल : मध्यठिमी, भक्तपुर )

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्