काठमाडौं, २२ चैत । काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गरिने भएको छ । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले ‘युगल साँझ’ आयोजन गर्ने भएका हुन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले ‘युगल साँझ’ चैत्र २९ हुने जानकारी दिदैं उक्त साँझको सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारे । उनकाअनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तिले विश्वास दिलाए ।
सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरको भनाइ छ । उनले भने, ‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’
आफ्नो साङ्गीतिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् ।
मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ ।
‘जसको लागि यस समाजले उक्त उपाधि दिलाउनका लागि अभियानकै नेतृत्व गर्ने जानकारी पनि यहाँ गराउँदछौं । तर यो अभियानमा तपाईं पत्रकार ज्यूहरुको सहयोग विना कल्पना पनि गर्न सकिंदैन । यो कार्यक्रमको मुख्य उद्देश्य सल्यान र कर्णाली प्रदेशको लोक संस्कृतिको संरक्षण, प्रचार–प्रसार र अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा उत्पादन गर्नु रहेको छ’ जारी विज्ञप्तीमा भनिएको छ ।
उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ ।
कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् ।
कार्यक्रम समाजका महासचिव फौद बहादुर बस्नेत, सचिव तुलसी भण्डारी, पर्यटन व्यवसायी भीम भारती र सल्यान युवा सञ्जाल काठमाडौंका सुदर्शन बुढाथोथकीको पनि सहभागिता रहेको थियो । उक्त युगल साँझमा सहभागी हुनेहरुको लागि पाँच सय र हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको पनि समाजले जनाएको छ ।



लाेकपाटी न्यूज

