विभिन्न घटनामा परी चारको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १८ चैत । चितवन र पाल्पाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सडकमा ना. ४ च ३२९० नम्बरको भ्यानले बा. ९० प ८१३२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा पुनः सोही ठाँउमा रोकी राखेको बा.३ ख ७९९३ नम्बरको बसको पछाडि भागमा ठोक्किन गई गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङ ज्याम्रुङ बस्ने ३५ वर्षीय राजन धमलाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजारस्थित कालिगण्डकी करिडोरमा सोमबार बिहान हाल नम्बर नखुलेको स्काईभेटरले बाटो खन्ने क्रममा माथिबाट ढिस्को खस्न गई पुरिन जाँदा गम्भीर घाइते भएका स्काईभेटर चालक बाँके वागेश्वरी गाउँपालिका–४ बस्ने ४३ वर्षीय भगबहादुर थापाको उपचारको लागि रामपुर अस्पताल पाल्पा लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

त्यस्तै झापाको शिवसताक्षी नगरपालिका–३ बस्ने ७९ वर्षीया धनकुमारी पाण्डे सोमबार बिहान सोही ठाउँस्थित कन्काइ नहरको ढोकामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै पर्वतको पैँयु गाउँपालिका–६ सरौ खोलास्थित साधने बस्ने ६० वर्षीया चन्द्री रानाको भिरबाट लडेर सोमबार बिहान मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस काट्न जाने क्रममा भिरबाट करिब ५० मिटर तल खस्न गई घाइते भएकी चन्द्रालाई उपचारको लागि स्याङ्जाको वालिङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्