प्रेम मानवताको दोस्रो नाम हो। -गौतम बुद्ध
परमात्मा प्राथनाको हैन, प्रेमको भोको छ। – महर्षि दयानन्द सरस्वती
ज्ञानको शितल प्रकाशमा प्रेमको बिरुवा कहिल्यै उम्रँदैन। -कांट
धेरै गरे मैले दुनियाँसँग प्रेम र दुनियाँले ‘म’सँग। त्यसैले त सबै मुस्काराहट उनका ओठमा थिए र उनका सबै आँसु मेरो आँखामा। -रवलील जिब्रान
प्रेम भगवानको सर्वश्रेष्ठ वरदान हो। -भोल्टेयर
मानिस मात्र हैन पशु पनि प्रेमको वशमा पर्छ। न्युयोर्कमा एक जीद्धी घोडालाई उसको मालिकले प्रेमले वंशमा गरेर आज्ञाकारी बनाए। मानिसहरू यो देखेर छक्क परे। प्रेम मानव जिन्दगीको एक मुख्य तत्त्व हो। हर समस्यामा तपाई प्रेमले सहायता प्रदान गर्न सक्नु हुन्छ। यो एक साँचो सहयोग हो प्रेममा असिम शक्ति छ। यस्ता-यस्ता कार्य प्रेमद्वारा गर्न सकिन्छ , जुन देखेर औला टोक्नु पर्ने हुन्छ। प्रेम एक स्वाभाविक प्रवृत्ति हो। जीवनको एक मूल प्रवृत्ति हो। सबै प्राणीमा प्रेमको भावना पाइन्छ। सृष्टिको रचनामा प्रेम एक मूल तत्त्व हो। प्रेम रहेन भने सृष्टि चल्न सक्दैन।
प्रेममा जादु जस्तो शक्ति छ। प्रेमको जादुले ठूला-ठूला काम गरेर देखाउन सक्छन्। सुगाले मानिसको बोली बोल्न सिक्छ। प्रेमपाशमा बाँधिएको मानिस आफ्नो प्रियको लागि प्राणको बाजी लगाउने गर्छ। प्रेमी वा प्रेमिका गुमाउँदा आत्महत्या गर्ने गर्छ। यस्ता धेरै घटना छन्। केही स्त्रीहरू आफ्नो पतिको मृत्यु पछि जीवित रहन चाहन्नन् र शरीर त्याग गर्छन्।
प्रेमले बनाउनुस्
मानिसहरुको बीचमा प्रेम भाव हुनुपर्छ। -गौतम बुद्ध
वैरभाव हटाउने एउटै उपाय प्रेम हो। -बौद्ध दर्शन
जसले आफ्नो कुटुम्ब, दरिद्र, दीन तथा रोगीप्रति माया दर्साउँछ, त्यसका सन्तान बढ्छन् र धेरैले कल्याणको अनुभव गर्दछ। -विदुर नीति
एक स्त्रीले नपिटीकन आफ्नो बच्चालाई विनम्र र सच्चरित्र बनाइन्। मानिस भन्थे प्रेमले बच्चा बिग्रन्छ। ती स्त्रीले प्रेमले बच्चालाई योग्य बनाइन। उनले प्रेमको कुनै कमी हुन दिइनन्। ती बच्चाको स्वभावको आश्चर्यजनक विकास भयो। लट्ठीमा ती स्त्रीलाई विश्वास थिएन। शारीरिक दण्ड दिनु उसको बिचारमा गलत थियो। उनी प्रेममा विश्वास गर्थिन्। शारीरिक दण्ड दिनमा विश्वास गर्ने छिमेकीमा पनि यसको प्रभाव पर्यो। उनीहरूले आफ्नो धारणा बदल्नु पर्यो। उनीहरूलाई आश्चर्य लाग्यो ती स्त्रीका बच्चाको छिमेकका बच्चामा पनि प्रभाव पर्यो।
छिमेकीले मान्नु पर्यो प्रेमपूर्वक व्यवहारको नै बच्चामा राम्रो प्रभाव पर्छ। सदव्यवहार र प्रेमपूर्वक व्यवहारबाटै कसैको पनि चरित्र उच्च उठाउन सकिन्छ। प्रेमको शक्ति प्रबल छ। यो असिम शक्तिमा नै शान्ति छ। सुख र शान्तिमा नै प्रेम छ। प्रेमको पथमा हिँड्नुपर्छ जो मानिस, त्यही ईश्वरसँग एकाकार हुन सक्छ। त्यो परमपिता परमात्माको स्वरूपको शक्ति र प्रेमको अनुभव गर्न सक्छ। प्रेमबाटै चाहेको बस्तु प्राप्त गर्न सकिन्छ। सबै मनोकामना पूर्ण हुनसक्छ। जब प्रेममय हुन्छ, तब तपाईंको सम्बन्ध त्योसँग हुन्छ जो सृष्टिको सबै प्राणीलाई सबै कुरा दिन्छन्। जब सबका दातासँग तपाईं जोडिनु हुन्छ, तब तपाईंलाई के थाहा छ। तपाईं जे चाहनु हुन्छ, त्यही तपाईंले पाउनु हुनेछ ।
प्रेमको सहारामा तपाईंले सबै प्रकारको दुःख कष्टमा विजय पाउन सक्नुहुन्छ। तपाईं कुनै कारखाना चलाउनु हुन्छ, तपाईंका मजदुरले हड्तालको नोटिस लगाए। उत्पादन ठप्प हुन लागेको छ। बजारमा तपाईंको उत्पादनको माग छ। धेरै विक्रीको अवसर त्यो समय धेरै कठिनाइपूर्वक आयो, जुन व्यर्थमा जानेछ। यो संकटको घडीमा तपाईं यदि प्रेममय हुनुहुन्छ भने तपाई साँचो मनले आफ्ना कर्मचारीको मागमा बिचार गर्न सक्नुहुन्छ, उनीहरूको हित बुझ्नु हुन्छ, तब उनीहरू सँग सिधा सम्पर्क गर्नुस्। यदि माग सही छ भने पुरा गर्नुस्। जुन गलत माग हो, त्यसको विषयमा उनीहरूलाई सम्झाउनुस्। तपाईंको मनमा यदि साँचो प्रेम छ, सहानुभूति छ, चलाखी छैन भने मानिसले तपाईंको कुरा मान्ने छन्। तपाईंको प्रेमले उनको हृदय जित्ने छ।
प्रेमको शक्ति
प्रेम नै हो सिर्जनाको प्रथम विधि, यही विश्व आधार जान, प्रेमै हो दिव्यताको मधुमय करुणा, प्रेम हो विश्व प्राण। -लक्ष्मी प्रसाद देवकोटा
जीवनको सबै कुराहरू प्रेमको अंगालो भित्र आउँछ, जीवनको प्रत्येक कदम , प्रत्येक क्षेत्रमा प्रेमको प्रभाव पर्छ। -युटाँस
मनमा उठ्ने सबै कुविचारलाई प्रेमले नष्ट गर्न सक्छ। यदि प्रेमपूर्वक बिचारको सञ्चार मनमा हुने हो भने वासनात्मक विचार मेटिएर जान्छ। प्रेम वासनाभन्दा अलग कुरा हो। पति-पत्नीको बीचमा पनि जति प्रेम प्रगाढ हुँदै जान्छ, त्यति वासना हट्दै जान्छ। आमाको स्पर्श पाएर रोइरहेको बच्चा अचानक चुप हुन्छ। जुन बच्चा अबोध छ, जसलाई अझै केही थाहा छैन, त्यो बच्चा पनि अरूको काखमा बस्छ, आमाको काखमा आएपछि शान्त हुन्छ। प्रेमको जादु हो यो। बच्चाको हृदयमा आमाको प्रेमको छाप हुन्छ। त्यसैले तपाईं बच्चालाई भरपुर प्रेम दिनुस्। कहिल्यै बच्चालाई शारीरिक दण्ड नदिनुस्। उसलाई उचित मार्गदर्शन दिनुस्। उसको मनमा दुष्ट विचारको, काल्पनिक भयको अलिकति पनि प्रवेश हुन नदिनुस्।
बच्चाको अगाडि कहिल्यै कमजोरी, हार,निराशा, क्रोध, घृणा र ईर्ष्याको कुरा नगर्नुस्। सधैँ उनीहरूको अगाडि उत्साह, प्रेम, सहानुभूति, उन्नति र आदर्शको कुरा नै गर्नुपर्छ। यसबाट बच्चाको आत्मिक बल बढ्छ। उनीहरूको मन सदा हर्ष र उत्साह, आनन्द र प्रेमले भरिएको हुन्छ। यस्तो बिचार भएका बालक कहिल्यै असफल या दुःखी हुँदैनन्। गलत ढंगले गरिएको पालन पोषणले बालकको सही ढंगमा विकास हुँदैन। निराशा, घृणा र हारको कुरा सुन्ने मानिसको बिचार यस्तो खालको हुन्छ र यस्ता बालकको मन मलिन हुन्छ। उनीहरूको भविष्य अन्धकारमय हुन्छ।
जुन बालकको मनमा सुरु देखि नै घृणा, क्रोध, ईर्ष्या आदि दुर्गुणतिर आकर्षित गरिन्छ। ती बच्चा कहिल्यै योग्य बन्न सक्दैनन्। उनीहरू महान् बन्न सक्दैनन्। जुन मानिसलाई आज हामीहरू खुङ्खार अपराधीका रुपमा हेछौँ, जसको नाम सुनेरै पनि मानिसहरू डराउँछन्। उनीहरू ठूलो अपराध गर्न पनि चुक्दैनन्, यस्ता मानिसको बाल्यकालको इतिहास उठाएर हेरेपछि तपाईंले पाउनु हुन्छ। उनीहरूले प्रेम पाएनन्।उनीहरूलाई प्रेम गर्न सिकाइएको थिएन। अधिकांश त यस्ता छन्, जसलाई बाल्यकालमा घृणा नै सिकाइयो। पालन पोषण, जिद्दी, क्रोध र पतिशोधको कुरा सिक्दै भयो।
‘प्रेमले तपाईंलाई सहयोग पुर्याउन सक्छ’
पूर्ण प्रेमले भय निवारण गर्छ। -एञ्जील
प्रेम ईश्वरको तत्त्व हो, स्वार्थ देखि टाढा हुनुपर्छ, यो मानिसको सर्वश्व हो। -इमर्सन
हजारौं लाखौँ व्यक्ति प्रेमको अधिनमा रहेर आफ्नो जीवन बिताउँछन्। -महात्मा गान्धी
करोडौं कुटुम्बहरू, परिवारहरूको मन प्रेमको भावनामा समेटिन्छ र मग्न हुन्छन्, सयौँ राष्ट्र मेलमिलापका साथ रहन्छन्। -महात्मा गान्धी
प्रेम गरिबको छाप्रोलाई पनि स्वर्ण महल तुल्याउँछ। -होल्टो
प्रेम एक सत्य बस्तु हो, जसलाई तिमी त्यस्तै प्रकार उपेक्षा गर्न सक्दैनौं, जसरी तिमी आफ्नो शरीरलाई उपेक्षा गर्न सक्दैनौं। -लियो टाल्सटाय
तपाईं जुन समाजमा बस्नु हुन्छ, यसमा पाइला पाइलामा यस्ता अवसर आउँछन्। कुनै न कुनै समस्या आउने गर्छन्। समस्या सुल्झाउनको लागि प्रेमले तपाईंलाई सहयोग पुर्याउन सक्छ। कसैसँग तपाईंको शत्रुता भयो, झगडा भयो, तपाईं बारम्बार सोच्नु हुन्छ- उसले तपाईंलाई कुनै न कुर्न हानि पुर्याउने छ या तपाईं उसलाई हानी पुर्याउन चाहनुहुन्छ। यो वैरभावबाट वैर बढ्दै जानेछ। तपाईंको बिचारको तरंगले उसलाई पनि प्रभावित पार्नेछ। जे तपाईं सोच्नुहुन्छ, त्यही उसले पनि सोचेको पाउनु हुन्छ।
तपाईं क्षमा भाव उदित गर्नुस्। हृदयबाट उसलाई क्षमा गर्नुस् र मनमा कुनै मैलो रहन नदिनुस्। तपाईंको मन निर्मल र स्वच्छ हुनेछ र त्यसको प्रेमपूर्ण बिचार बन्नेछ तब उसले पनि मनेदेखि क्षमा गर्नेछ। उसको मन पनि निर्मल हुनेछ। अतः प्रेम सिक्नुस्। क्षमा र प्रेम अमोध अस्त्र हुन।इसा, गान्धी र महावीरसँग यही अस्त्र थिए। यहीबाट उनले विश्व जिते। तपाईं पनि आफूभित्र रहेको प्रेमको प्रवृत्तिको विकास सही दिशामा गर्नुस्। प्रेम बाँढ्नूस्, प्रेम पाउनुस्।
परिणाम: प्रेम त्यो शक्ति हो, जसको बलमा ईश्वर पनि प्राप्त गर्न सकिन्छ। प्रेमबाटै तपाईं विश्व जित्न सक्नुहुन्छ। प्रेमको भाषा राम्रो व्यापारको मूल मन्त्र हो। सफलता प्राप्त गर्नु छ भने हरेकसँग प्रेमपूर्वक बोल्न सिक्नुस्।
प्रस्तुति : मिलन आफन्त



लोकपाटी न्यूज

