सर्लाही, १८ चैत। हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा चारजना घाइते भएका छन् ।
बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको हो। बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको हो। फर्निचरबाट सल्किएको आगो चन्देश्वर शाहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पड्किएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिलिण्डर पड्किँदा हरिपुर नगरपालिका–९ पिडारीका ४५ वर्षीय विश्वनाथ शाह र कविलासी नगरपालिका–१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन शाहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिए। स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ ।



लाेकपाटी न्यूज

