प्रचण्ड : आतङ्ककारी कि क्रान्तिकारी नायक ?

binod khanda timilsina
प्रचण्ड, बाबुराम तिनै नेता हुन्, जसले शान्ति प्रक्रियाको कुशल नेतृत्व गरे। शान्ति प्रक्रियामा मोडल मानिएका नेल्शन मण्डेला र अफ्रिकी मोडलपछिको सफल नमूना नेपालको शान्ति प्रक्रिया हो। नेपालको शान्ति प्रक्रियाका सर्जक, शान्ति सम्झौताको एकमात्र जीवित हस्ताक्षरकर्ता, शान्ति प्रक्रियाको पूर्णताका लागि सबै कुरा त्याग गर्नसक्ने गतिशील नेताको छवि बनाएका व्यक्ति हुन् प्रचण्ड। अन्तर्राष्ट्रिय मञ्चमा नोवेल शान्ति पुरस्कार प्राप्त योग्य व्यक्ति हुन् उनी।
लाेकपाटी न्यूज

विनोदखण्ड तिमिल्सेना

अमेरिका, अमेरिकी जीवन भनेपछि आम नेपालीहरु हुरुक्कै हुन्छन, हुन्छौं। विदेश मोहलाई प्रश्रय दिँदै यस्तो भनाई प्रचलित छ–‘इण्डियन म्युजिक, जापनिज वाइफ, चाइनिज डिस, अमेरिकन लाइफ’ अर्थात् पृथ्वीको भू–स्वर्ग अमेरिका। यस्तै लाइफका बारेमा एउटा सन्दर्भ जोडौं।

बर्दिया, गोरखा र काभ्रेबाट पढाइका लागि काठमाडौं गई स्नातक तहमा अध्ययनरत ३ युवाहरु घुरन, रामेश र कुलेन्द्र आफ्नो पढाई बीचमा छोडेर अमेरिका जाने, डलर कमाउने र ऐश आरामको जीवन बिताउने निधोमा पुगे। दलालमार्फत् प्रतिब्यक्ति तीस लाख तिरेर लुकीछिपी चोर बाटोबाटै भए पनि अमेरिका छिर्ने गरी उनीहरु रवाना भए।

करीब ५/६ महिनाको पट्यारलाग्दो र जोखिमयुक्त गैरकानूनी तवरको अमेरिका प्रवेश अत्यन्तै कठिन भयो। कहिले समुन्द्रमा डुङ्गा यात्रा, कहिले होटलमा कोचिएर बसाई, कहिले जङ्गलमा पैदल यात्रा, कहिले ट्रकमा मालसामान ढुवानीका बोराहरुको चेपमा। खाना र बासको कुरा छोडौं, दिसा पिसाबसमेत गर्न नपाई हरमै पिसाब छोड्नुपर्ने विवशताको नरकीय कष्टसाध्य यात्राकै क्रममा अमेरिका छिर्नुपूर्व नै घना जङ्गलको बीचमा रामेशको मृत्युु हुन्छ।

रामेशको मृत शरीरलाई जङ्गलमा स्याउलाले छोपेर आँशुका धारा बगाउँदै घुरन र कुलेन्द्र अमेरिका छिर्छन्। अमेरिका छिरिसकेपछि पनि काम पाउन गाह्रो हुन्छ। पि.आर.को लोभमा घुरनले पेपर म्यारिज गर्छ, ऊ करीब बधुवा मजदुरको जीवन जिइरहेको । कुलेन्द्र चाहिँ आफूजस्तै अमेरिका पुग्न मरिहत्ते गरेर अमेरिका पुगेकी परिचित महिलासँग लिभिङ टुगेदरमा रहेर जीवन धकेलिरहेको छ।

अमेरिका पुगेर ऐश आरामको जीवन जिउने आकाङ्क्षाको शिकार भएका उनीहरु पश्चाताप र ग्लानीको भावमा तड्पिरहेका छन्। पश्चातापको भुमरीमा छन्। देशको राजनीतिक अस्थिरता, बेरोजगारी अनि राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनलाई गाली गर्दै अमेरिका सवार हुनुभन्दा देशमै रहेर केही गर्न सकेको भए न रामेशको ज्यान जान्थ्यो, न घुरन र कुलेन्द्रले हण्डर नै खानुपर्थ्यो।

नेपालबाट अमेरिका गएर प्रगति गरेका केही नगन्य व्यक्तिहरुबाहेक धन आर्जन गर्ने र भू–स्वर्ग भनी प्रचारित अमेरिकाको नागरिक भएर जिउने लालसा वा ‘इप्सान्त’ले अमेरिका तानिएका नेपाली युवाहरुको जीवन छियाछिया भएको छ। नेपालको अराजकता, बेरोजगारी, राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद, राजनीतिकरण र लुटलाई चिर्न नसक्दा लाखौं युवाशक्ति पलायन भएको छ, नगन्य युवाले प्रगति गरे पनि विदेसिएका प्रायः सबै युवा नूनिलो आँशु पिउँदै पश्चाताप, ग्लानी र कुण्ठाको शिकार भएका छन्। स्वयं आफूलाई र आफ्नो देशको पछौटेपन, गरिबी र अव्यवस्थालाई दोषी करार गर्दै मुग्लानको जीवन जिएका छन्।

प्रस्तुत कथा २०३९ सालमा अखिल र नेविसङ्घको झडपको क्रममा वीरेन्द्र बहुमूखी क्याम्पस भरतपुरको प्राङ्गणमा मारिएका सहिद शिव पौडेलको स्मृतिमा प्रत्येक वर्ष साहित्य सङ्गम चितवनले दिँदै आएको सहिद शिव पौडेल स्मृति पुरस्कार २०७५ पाउन सफल साहित्यकार रह शर्माको उपन्यास ‘इप्सान्त’को हो। उपन्यासमा नेपाली युवालाई कसरी अमेरिका मोहले छोपेको छ ? त्यहाँ पुगेर युवाले कति कष्ठसाध्य जीवन भोगेका छन् ? भन्ने विषयमा साहित्यकारको सजीव, भावमय र रोमाञ्चक प्रस्तुति रहेको छ।यसबारे यति नै भनुँ। विदेसिएका नेपालीबाट प्रतिभा पलायन मात्रै भएको छैन, प्रविधि, सीप, ज्ञान, अनुभव र धन पनि भित्रिएको छ, यसमा कुनै शंका छैन। तर, यहाँ उठाउन खोजेको विषय अमेरिकासँगै जोडिएको अलि फरक प्रसङ्गमा छ।

अमेरिका पुगिसकेका केही नेपालीका गतिविधि हेर्दा उनीहरु कुण्ठा, पश्चाताप र ग्लानीको यति ठूलो दलदलमा भासिएका रहेछन् कि उनीहरुमा मातृभूमिप्रति रत्तिभर ममता र साइनो पनि छैन कि ? भन्नेसम्मको संशय पैदा भएको छ। यही २०७५ भाद्र महिनामा पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री एवं हाल नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अमेरिका पुगेका थिए। गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदको कार्यक्रममा सहभागी हुन गएको समयमा ‘बेटर डेड द्यान रेड’ (लाल वा वाम वा कम्युनिस्ट हुनुभन्दा मर्न राम्रो), ‘मर्डरर गो ब्याक’ (हत्यारा फर्की जा) जस्ता प्लेकार्डसहित प्रदर्शन गर्ने केही नेपाली र पूर्वनेपालीहरु देखिए।

प्रसङ्ग त्यतिले मात्रै पुगेन। २०७५ को चैत्र पहिलो र दोस्रो साता आफ्नो श्रीमति सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपालका पूर्वप्रधानमन्त्री, सत्तासीन पार्टी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्धसमेत अत्यन्तै गम्भीर व्यवहार एक पूर्वनेपाली नागरिकबाट भयो। खासगरि ‘एउटा चिरपरिचित आतङ्ककारी अमेरिकामा घुमिरहेको छ, उसलाई तत्कालै पक्राउ गरी कारवाही गरियोस्’ भनेर प्रचण्डविरुद्ध लिखित निवेदन दिएको समाचार आए। यी दुवै घटनाहरुको अन्तर्य नेपालमा पुनः द्वन्द्व चर्काउन चाहने तत्वहरुको चलखेलबाहेक अरु केही होला र ?

अमेरिका छिरेका सबै नेपाली वा पूर्वनेपालीहरुमा आफ्नो जन्मभूमिप्रति माया, सरोकार र चिन्ता छैन भन्ने लेखकीय मानक होइन। तर, माथि उल्लेखित व्यवहार देखाउनेहरुमा जन्मभूमिप्रति कुण्ठा, आवेग, राग र प्रलाप बढी देखियो। देशका पूर्वप्रधानमन्त्रीलाई विदेशी भूमिमा बेइज्जत गर्दा नेपालीको सान र मान बढछ ? नेपाली जनताको जनअभिमतबाट चुनिएर देशको नेतृत्व गरिसकेका र वर्तमान सत्तारुढ पार्टीका अध्यक्षमाथि आतङ्ककारीको आरोप लगाउन तम्सिने पूर्वनेपालीहरु देखिँदा उनीहरुभित्रको नेपालीपन भातृत्व र ममता मरिसकेको प्रतीत हुँदैन र ?

हो, द्वन्द्वको समय र संकटकालमा तत्कालीन नेकपा माओवादी र माओवादी नेताहरुलाई अमेरिकाले आतङ्ककारीको सूचिमा राखेको थियो। द्वन्द्वकालमा देशको व्यवस्था एउटा थियो, एकले अर्काको आम्नेसाम्ने रहने कल्पना गर्दैनथे। परिवर्तनका लागि जीवनको आहुति दिन तम्तयार नेपालीहरुको अदम्य साहस र सौर्यको विम्व थियो नेपाली जनयुद्ध। जागिर, घरपरिवार, पढाइ, सुखसयल सबैलाई तिलाञ्जलि दिएर देशमा परिवर्तन गर्न लम्केको त्यही पुस्ताको नेतृत्व हो प्रचण्ड र बाबुराम। नेपालले मात्रै होइन, अनमिनमार्फत् संयुक्त राष्ट्र संघलाई साक्षी राखेर संसारले नेपाली जनयुद्धलाई अनुमोदन गर्‍यो, शान्ति सम्झौतामार्फत्।

तत्कालीन सरकार र सरकारको आग्रहमा अमेरिका लगायतले आतंककारी करार गरेको नेकपा माओवादी नेपालको शान्ति प्रक्रियाको अनिवार्य, जिम्मेवार र अभिन्न अङ्गमा रुपान्तरण भयो। सेना समायोजन भयो, हतियार व्यवस्थापन भयो। समाजवाद निर्माणको मार्ग प्रशस्त गर्दै संविधान ०७२ जारी भयो। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतासहित ४१ वटा मौलिक अधिकार स्थापित भए। यी सारा वृतान्तहरु बिर्सेर नेताहरुलाई फेरि द्वन्द्वकालको चश्माले हेर्ने ? संविधानसभा र त्यसपछिका दुईवटा निर्वाचनबाट खारिएर देशको नेतृत्वसमेत गरिरहेका नेतामाथि द्वन्द्वकालीन गिद्धेदृष्टि लगाउँदै विदेशमा बेइज्ज्यत गर्न खोज्ने ? वास्तवमा यो गतिविधि नेपाल र नेपालीमाथिको बेइज्जयत हो।

नेपालको शान्ति प्रक्रिया मौलिकतामा सम्पन्न भएको हो। प्रचण्ड, बाबुराम तिनै नेता हुन्, जसले शान्ति प्रक्रियाको कुशल नेतृत्व गरे। शान्ति प्रक्रियामा मोडल मानिएका नेल्शन मण्डेला र अफ्रिकी मोडलपछिको सफल नमूना नेपालको शान्ति प्रक्रिया हो। नेपालको शान्ति प्रक्रियाका सर्जक, शान्ति सम्झौताको एकमात्र जीवित हस्ताक्षरकर्ता, शान्ति प्रक्रियाको पूर्णताका लागि सबै कुरा त्याग गर्नसक्ने गतिशील नेताको छवि बनाएका व्यक्ति हुन् प्रचण्ड। अन्तर्राष्ट्रिय मञ्चमा नोवेल शान्ति पुरस्कार प्राप्त योग्य व्यक्ति हुन् उनी। यो उनको व्यक्तिगत उपलब्धि मात्र होइन, नेपाल र नेपालीका लागि गौरव पनि हो। तसर्थ, तिलक श्रेष्ठहरुको झेल किमार्थ स्वीकार्य छैन। अझ यस्ता स्वाँठहरुलाई नेपाली भन्नुपर्दा मन अमीलो हुन्छ।

त्यसैले ‘इप्सान्त’को दौडमा जन्मभूमि नै बिर्सने काम नगर्ने कि ? द्वन्द्व न्यूनीकरणमा योगदान पुर्‍याउन नसके पनि द्वन्द्व बढाउने चरहरु नखोज्ने कि ? नेपालमा द्वन्द्व भए दुख भोग्ने नेपालीले नै हो, तिलक श्रेष्ठहरुले होइन। पूर्वाग्रही बनेर विगत मात्रै कोट्याउनुभन्दा वर्तमान र आगतको ख्याल गरी कदम चाल्दा सबैको भलाइ हुन्छ कि ? शान्तिको हलुका श्वास फेर्न लागेको नेपालमा सके शान्तिलाई मलजल गरौं, नसके पनि कम्तिमा द्वन्द्वकोे बिरुवा रोप्ने धृष्टता नगरौं, धन्यवाद।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्