आर्थिक समृद्धिको लागी लगानी सम्मेलन महत्वपूर्णः अर्थमन्त्री

Yubraj Khatiwada
लाेकपाटी न्यूज

काठमाडौं,१३ चैत। सरकारले लगानी सम्मेलनलाई एक उत्सवका रूपमा लिदै नेपाल लगानीका लागि उपयुक्त थलो हो,भन्ने तथ्य स्थापित गर्ने भएको छ।

अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे। सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घका पदाधिकारीलाई साथमा नै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडालेभने, “सम्मेलन सबै नेपालीको साझा अभियान हो।
यसलाई सफल पार्न र देशमा वैदेशिक लगानी भित्र्याउन समेत महत्वपूर्ण अवसर हा ।”
उनले विकासका सम्भावना र आवश्यकतालाई ख्याल गर्दै सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ताका बीचमा सुमधुर सम्बन्ध विकास गरी राष्टिय आवश्यकतालाई पूरा गर्न समेत सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।

सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको उनले उल्लेख गरे।
सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत गरिएको छ। सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानी कर्ता सहभागी हुने छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानी कर्ता लगायतको सहभागिता रहने छ।


दुई दिनसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ। सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ।


लगानीका लागि सहज वातावरण बनाउने लक्ष्यका साथ ती ऐन, केही नियमावली तथा निर्देशिकामा समेत सुधार गरिएको अर्थमन्त्री डा खतिवडाको भनाइ थियो ।

सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिट लंकेश, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट्, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ व्यक्तिको सहभागिता रहनेछ।

बन्द हडतालका कार्यक्रम छाडेर विदेशी लगानी कर्तालाई नेपाली हँसिला खुशीला छन् भन्ने सन्देश दिनुपर्ने उनको जोड थियो। सम्मेलनका लागि सुरक्षा व्यवस्था समेत चुस्तचुरुस्त पारिएको बताए।

“नेपालमा रोजगारी भएन भने हामी, हाम्रा सन्तान रोजगारीका लागि विदेश जाने वातावरणा नबनोस”, उनले भने, “हाम्रा पाहुनालाई स्वागत गरौँ, नेपाली हँसिला, खुसिला छन भन्ने प्रमाणित गरौँ।” उनले सुरक्षाकर्मी तथा विमानस्थलका सबै कर्मचारीलाई सुरक्षाको व्यवस्था मिलाउँदै राम्रोसँग पाहुनालाई स्वागत गर्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्