ट्राफिक जाम हटाउन प्रहरी हेडक्वार्टरमा उच्चस्तरीय बैठक

police discuss
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । ट्राफिक जाम व्यवस्थापनका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गम्भीर गृहकार्यमा लागेका छन्।

आज नेपाल प्रहरी क्लब भुकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना–२०७५’ सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायसँग छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवम् सुढृढ गर्नका लागि ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट दत्तचित्त भएर काम गर्नुपर्ने बताएका छन्।

सबै सरोकारवालाहरुले एकआपसमा समन्वय गरी आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भएर आगाडि बढ्नुपर्नेमा उनले जोड दिए। उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना दीर्घकालीन रुपमा लागु हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्य योजनालाई सामान्य पूर्वाधारको रुपमा खडा गरी काम गर्न सक्छौं भन्ने कुराको प्रदर्शन गर्न उपस्थित सबै सरोकारवाला पक्षलाई आग्रह समेत गरे ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख प्रहरी बरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उक्त कार्ययोजना सम्बन्धी प्रस्तुतीकरण गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सबल र सुरक्षित बनाउन सरोकारवाला सम्पूर्ण निकायहरुबीच अन्तरक्रिया गरी ३ महिने अल्पकालीन कार्य योजना तयार पारी लागू गर्ने उद्देश्यअनुरुप कार्यक्रम आयोजना गरिएको बताए।

उक्त ३ महिने कार्य योजनाअन्तर्गत रिङरोड भित्रका कोरिडोर संचालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ बनाउने, ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षणमा ब्यापकता दिने, बस पकेट नियमन गरी संचालनमा ल्याउने र पार्किङ व्यवस्थापन गर्ने लगायतका कार्यक्रम रहेको प्रहरी बरिष्ठ उपरीक्षक पन्तले जानकारी दिए।

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि प्रस्तुत गरिएको कार्य योजनाबारे कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राख्नुका साथै सहभागीहरुबीच खुल्ला अन्तरक्रिया तथा छलफलसमेत भएको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमूख चिरीबाबु महर्जन, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमूख जिल्ला अधिकारीहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमूख, प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमूख, सडक विभागका निर्देशक, यातायात व्यवस्था विभागका निर्देशककाे सहभागिता थियाे।

बैठकमा गुणस्तर तथा नाप तौल विभागका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण काठमाडौंका प्रतिनिधि, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरका क्षत्रीय निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, महानगरीय प्रहरी परिसर काठमाडांै, भक्तपुर र ललिपुरका कार्यालय प्रमूखहरू लगायत अन्य सरोकारवाला निकायका प्रमूख एवम् प्रतिनिधिहरु सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्