हुम्ला, १२ चैत । हुम्लामा हिमपात हुँदा एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको हो ।
जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थीहरुलाई समस्या परेको हो । मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थी बढी प्रभावित भएको जानकारी दिए ।
जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरू भएको छ । चैत १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या भएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।
जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसईई परीक्षा दिने विद्यार्थीलाई समस्या परेको छ । यस वर्षको एसईईमा जिल्लाबाट ९ सय ५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।



लाेकपाटी न्यूज

