सामाजिक कार्य के हो, कसरी गर्ने समाजसेवा ?

debyani thapa
बेलायतबाट सुरु भएको यसको विकास आज संसारभरि ब्याप्त छ। यो कार्य प्रगतिशील प्रकृतिको हुन्छ। यो बहुउद्देश्यीय कार्य पनि हो, जहाँ स्वयं व्यक्तिले एक्लै गर्न केही जटिलता आउँछन्। तर, एक्लै गर्न नसक्ने भने होइन। यो क्रमवद्ध र चरणवद्ध पनि हुन्छ। यसरी क्रमवद्ध र चरणवद्ध अनुसार नै हरेक सामाजिक कार्यका लागि आवश्यक समूह र सेवाको छनौट गरी प्राथमिकता दिइन्छ।
लाेकपाटी न्यूज

देव्यानी घर्ती मगर

मैले मेरो स्नातक तह सामाजिक कार्यबाट गरेको छु। सानैदेखि गाउँमा हुर्के बढेकाले पनि होला, यो विषय हाम्रो कैयौं परम्परागत रुपमा चल्दै आएको चलन र प्रक्रियासँग नै सम्बन्धित हुँदो रहेछ। तर, सिद्धान्तमा आधारित कुराहरु पढ्दा भने अलि बढी घोटिनपर्ने पनि भयो। यसरी पढ्दा मेरो सानैदेखिको समाजसेवा गर्ने इच्छा र चाहनाले होला, यो विषय पढ्न खुबै रमाइलो लाग्यो। र, मलाई समाजमा रहेका गरीब, दुखी, निमुखा, बेसाहराहरुलाई सहयोग गरेर आफूलाई सामाजिक कार्यमा लगाउने आधारभूत सैद्धान्तिक ज्ञान पनि आर्जन भयो।

सामाजिक कार्य या समाज–कार्यको छोटो अर्थ समाजका लागि गर्ने काम हो। यो आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ। यसमा आफ्नो घर परिवारभन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरुदेखि ठूलो समुदाय हुँदै सिंगो राष्ट्रलाई पनि सहयोग गर्न सकिन्छ। बास्तवमा सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यहरुका बारेमा अध्ययन गरिन्छ। यस्ता विज्ञानहरुमा मूख्यतः समाजशास्त्र, मानवशास्त्र, व्यवहारिक ज्ञान, व्यवस्थापन, जनसंख्या, शिक्षा, भूगोल, इतिहास, कानून, राजनीतिशास्त्र, मनोविज्ञान, प्रशासन आदिहरु पर्छन्।

सामाजिक कार्यको विकास १९ औं शताब्दी अगाडि भएको हो। सामाजिक कार्यले विभिन्न संस्थाहरुमा र संस्थाहरुमार्फत सहयोग दिलाउने काम गर्दछ। यसको सुरुवात व्यक्तिहरुले दिने दान या चन्दाबाट सुरु भएको हो। यो दान या चन्दा धार्मिक संगठन र निसहायहरुका लागि केही व्यक्तिहरुले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि सिको गरेर यसको अवधारणा सुरु भयो। यसको अवधारणा सुरु हुँदा त्यसबेलाको समाज धर्मभीरु थियो। र, धर्मकै नाममा मान्छेहरुले नजानिँदो तरिकाबाट समाजसेवा वा सामाजिक कार्यलाई अपनाउँदै गए। यो प्रक्रियाले विभिन्न ठाउँ र देशमा नजानिँदो तरिकाले प्रसारवादको रुप लिइरह्यो र विशेषगरि औद्योगिक क्रान्तिपछि मूर्तरुप लिन पुग्यो।

यसै सिलसिलामा मान्छेहरु एक समुदायबाट अर्को समुदायमा जान थाले र समाज सेवा गर्न थाले। यो प्रक्रिया विभिन्न समाज हुँदै एक देश र अर्को देशसम्म पुग्न थाल्यो। यसरी सामाजिक कार्य राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्म पनि फैलिन थाल्यो। मान्छेहरु गतिशील भए, अनि प्रविधियुक्त पनि। गतिशीलता र प्रविधिले गर्दा सामाजिक सेवाकै नाममा मान्छेहरुलाई देशभित्र र बाहिर नयाँ–नयाँ ठाउँहरुको भ्रमण गर्न र आफूले जानेका कुरा शेयर गर्न सजिलो भयो। यसरी उनीहरुले जानेका, सिकेका र बुझेका कुराहरुलाई सिद्धान्तको रुपमा प्रस्तुत गरियो। र आज हामी त्यही सैद्धान्तिक मान्यताको आधारभूत कुरा स्नातक तहको पाठ्यक्रममा पढ्छौं।

सामाजिक कार्य गर्नका लागि नयाँ ठाउँहरुमा विशेषगरि सिकारुहरुको लागि गाइडेन्सहरुको सहयोग आवश्यक हुन्छ। एक्लो रुपमा काम गर्नुभन्दा पनि ग्रुपमा गर्दा धेरै कुराहरु सिकिन्छ, जानकारी पनि हुन्छ। सामाजिक कार्यअनुसार नै विभिन्न समूह, समुदाय र लक्षित वर्गहरुलाई विभिन्न संस्थाहरुले सहयोग र सेवा गर्दछन्। बास्तवमा यो कार्य मानव जीवनका लागि अति आवश्यक पनि हुन्छ। यसरी कार्य गर्दा यसको आफ्नो छुट्टै खालको नियम र सिद्धान्त हुन्छ।

बेलायतबाट सुरु भएको यसको विकास आज संसारभरि ब्याप्त छ। यो कार्य प्रगतिशील प्रकृतिको हुन्छ। यो बहुउद्देश्यीय कार्य पनि हो, जहाँ स्वयं व्यक्तिले एक्लै गर्न केही जटिलता आउँछन्। तर, एक्लै गर्न नसक्ने भने होइन। यो क्रमवद्ध र चरणवद्ध पनि हुन्छ। यसरी क्रमवद्ध र चरणवद्ध अनुसार नै हरेक सामाजिक कार्यका लागि आवश्यक समूह र सेवाको छनौट गरी प्राथमिकता दिइन्छ।

समाजमा भए–गरेका वर्तमान पक्षहरुलाई क्रमिक रुपमा सुधार गर्न यसले विशेष जोड दिन्छ। यसका लागि हामीले समाजमा रहिआएका धर्म, संस्कृतिलाई पनि मूख्य प्राथमिकतामा राखेर काम गर्नुपर्छ। हरेक समाजका आ–आफ्नै खालको धर्म, संस्कृति, राजनीति, सामाजिकीकरणको प्रक्रिया, भेषभूषा आदि भएको हुनाले सामाजिक सेवाको तौरतरिका पनि फरक हुने गर्दछ। उदाहरणका लागि हाम्रो समाजमा विभिन्न जात–जातिहरु, ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थारु, चेपाङ, विश्वकर्मा, नेपाली, बादी लगायत विभिन्न जात जातिहरु र धर्ममा हिन्दू, बौद्ध, मुस्लिम, इशाई लगायतका धर्ममा असर नपर्ने गरी सामाजिक कार्यलाई अगाडि बढाउनु पर्छ।

बास्तवमा सामाजिक कार्य एक खेल परिवर्तक पनि हो। यो एउटा शैक्षिक एवं व्यवसायिक विधा पनि हो। यसले व्यक्तिगत आधारमा, समूहमा या समुदायमा व्यक्तिहरुको सहायता लिई समाजसेवाको प्रकृतिअनुसार प्राथमिकता निर्धारण गर्दछ। जसमा व्यक्ति आफ्नो सहायता स्वयं कसरी गर्ने भन्ने सिक्छ। यसकै माध्यमबाट व्यक्ति र समाजले वर्तमान परिस्थितिसँग आफ्नो समस्याको पहिचान गरी समाधान कसरी सुल्झाउने भन्ने क्षमता राख्दछ।

तसर्थ समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्मसन्तोषी पनि हुन्छ। समाजसेवामा वैयक्तिक आधार, समूह अथवा समुदायको सहायता लिइने भएको हुनाले यसलाई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षहरुको पनि अध्धयन गर्नुपर्छ। नत्र यसले सम्बन्धित व्यक्ति, परिवार, समुदाय वा सिङ्गो समाजलाई नै नराम्रो प्रभाव पार्न सक्छ।

सामाजिक कार्यमा विशेषगरि असहाय र दुखी व्यक्ति र समुदायहरुमा सेवाको भावना, उनीहरुको आत्मसम्मानको कदर, उनीहरुको सामाजिक सम्बन्धको सम्मान, आफ्नो इमान्दारिता र नैतिकताको प्रदर्शन, काम गर्दा सधै सामाजिक न्यायमा जोड र आफू सम्बन्धित कार्यमा निपूण भएको हुनुपर्छ। नत्र सामाजिक कार्य सामाजिक कार्य नभएर अरु कार्य हुन् जान्छ र त्यसले सामाजिक कार्यको प्रकृतिप्रति नै प्रश्नचिन्ह उठ्छ। छोटोमा भन्दा त्यो सामाजिक कार्य नभएर सामाजिक काम गर्छु भन्ने व्यक्ति र संस्थाको व्यक्तिगत उद्देश्य पूर्ति मात्र पूरा हुन जान्छ, सामाजिक कार्य असामाजिक कार्य हुन् जान्छ। त्यसले झन् ती व्यक्ति र समाजलाई थप पीडा दिन्छ।

सामाजिक कार्य यति सुन्दर हुँदाहुँदै पनि हाम्रो देशमा भने सामाजिक कार्य जति सुन्दर हुनुपर्ने हो, त्यति छैन कि भन्ने लाग्छ। विद्यालयका गुरु, गुरुआमादेखि गैरसरकारी संघसंस्था र सरकारी संघ संस्थादेखि राजनीतिक दलसम्मको भूमिका पनि त्यति आशालाग्दो देखिन्न। भनिन्छ, ‘अहिले हाम्रो देशमा समाज कल्याण परिषदमा दर्ता भएका र नभएका गरी ४५००० जति गैरसरकारी संस्थाहरु छन्। ती संघ संस्थाहरु सबैको मूख्य उद्देश्य सामाजिक वा समाजसेवा नै हो।’ तर ती संघसंस्था कहाँ छन्, के गर्छन्, लक्षित वर्ग र समुदायमा कति गएका छन्, त्यो हामीले आफ्नै समाजमा आफ्नै आँखाले देखेका छौं, कानले सुनेका छौं।

यस्तै गोजी र झोली संघसंस्थाकै निम्ति मन्त्रीले सचिव कुटेका समाचार पनि हामीले पढेकै छौं। अनि, सामाजिक संघसंस्थामा सामाजिक कार्यकर्ता या कर्मचारीहरु कसरी छनौट हुन्छन्, त्यो सुनेकै छौं, समाचारमा पनि पढ्न पाएकै छौं। ती संघसंस्थाले कसरी कार्यक्रम चलाउँछन्, के गर्छन्, कति बिल पेश गर्छन्, राजनीतिक दल र सरकारमा भएका मान्छेलाई कसरी प्रभावमा पार्छन्, त्यो पनि पढेकै छौं, सुनेकै छौं।

सैद्धान्तिक र व्यवहारिक कुरामा जे–जति फरक भए पनि सामाजिक कार्य विशेषगरि समाज र नागरिकप्रति समर्पित कार्य हो। यो व्यक्तिगत स्वार्थबाट सधैं टाढा रहने गर्दछ। नेपालको विकास क्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहास छ। विभिन्न कालखण्डमा धेरै अभियान्ताहरुले सामाजिक सेवाका लागि जीवन समर्पित गरेका प्रशस्तै दृष्टान्त छन्। हाल यो क्रम जारी नै छ। चरम व्यक्तिगत, पारिवारिक, नातागत र धन कमाउने स्वार्थको राजनीतिक छायाँले सामाजिक अभियान्ताहरुलाई छोपेको छ। तर, पनि अभियन्ताहरुको अभियानमा कुनै कमी आएको छैन।

यो बास्तवमा एउटा पेशा पनि हो, जसले वैज्ञानिक तरिकाबाट समस्याको समाधान गर्दछ। एक अर्थमा समाजलाई उन्नतितर्फ लैजानु र भड्केको मनलाई सिलाउनु नै सामाजिक सेवा हो। तसर्थ शुद्ध मनले हामी जहाँ र जुन अवस्थामा छौं, त्यहीँबाट समाज सेवामा लागौं। सम्पत्तिको नाममा जन्मदा हामी रित्तो आएका थियौं, मर्दा पनि रित्तै जाने हौं। तसर्थ सक्दो आफ्नो गाउँ, ठाउँ र समाजका लागि केही गरौं, केही दिऔं। तर, गाउँ–ठाउँबाट खोसेर केही पनि नलिऔं, अस्तु !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्