विभिन्न अभियोगमा १३ पक्राउ (नामसहित)

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियामा अबैध रुपमा संकलन गरी लैजान लागेको अन्दाजी ४९ ग्राम सुन र कतारी रियाल ७ सय ४० सहित धनुषा जनकपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय धिरज महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महतले अवैध रुपमा संकलन गरी लैजान लागेको उक्त सुन तथा कतारी रियाल सहित विमानस्थलमा खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो । महतोलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

त्यस्तै काठमाडौं काँडाघारी बस्ने भारत सितामणी घर भएका १७ वर्षीय अजय शास्त्रीलाई नियन्त्रित लागूऔषध नुर्फिन १४ एम्पुल, फेनारगन १५ एम्पुल र डाईजेल्याप १५ एम्पुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काँडाघारीस्थित सडकमा हिँडिरहेको अवस्थामा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सिराहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३० ट्याब्लेट, स्पास्मो–प्रोक्सिभन १८ थान र डाइलेक्स डि.सी. १ सय मिलिलिटरको २० बोतल सहित मिर्चैयाँ नगरपालिका–७ बस्ने २७ बर्षीया अनिला यादव र उदयपुर कटारी नगरपालिका–६ की १८ बर्षीया अपिस थापालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकालागी जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको सागुरीगढी गाउँपालिकापा–५ भद्राक्षेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सुनसरी ईटहरी उपमहानगरपालिका–११ सिमरवना बस्ने २० वर्षीय संजय लिम्बु समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाँडाबजारबाट खटिएको टोलीले उक्त सडकमा को.२ ह २९१० नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक लिम्बुसमेत अटोमा सवार ४ जनालाई पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कापेन्टार बस्ने ४० वर्षीय कान्छालाल स्याङतानको घरबाट करिब १ सय ६० केजी लागूऔषध गाँजा फेला पारी आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्याङतानको घर जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । फरार स्याङतानको प्रहरीले खोजी गरिरहेको छ ।

धारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा नागार्जुन नगरपालिका–८ बस्ने राजु कार्की र १७ वर्षीय सन्जु कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–८ भिरकोट उत्तरगाँउस्थित सोही स्थान बस्ने १७ वर्षीय सलमान मकरान्ती र आईते भन्ने बिपिन लामा चक्कु प्रहारबाट घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते भएका मकरान्ती र लामाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ ।

त्यसैगरी जबरजस्तीकरणी तथा जबरजस्तीकरणी उद्योग समेत गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ कल्याण चोक बस्ने ५३ वर्षीय देवी लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही स्थान बस्ने ११ वर्षीया बालिकालाई चैत १ आफ्नो घरमा बोलाई ललाइफकाइ कोठामा लगि जबरजस्तीकरणी गर्नुका साथै सोही स्थान बस्ने ७ वर्षीया बालिकालाई जबरजस्तीकरणी उद्योग गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी तालतलैयामा प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

त्यस्तै कुटपिटमा संलग्न रहेका शहिदनगर नगरपालिका–३ यदुकुहा बस्ने रामदेव महतोलाई आइतबार राति ईलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा एक कार्यक्रममा भोज खाने क्रममा मादक पदार्थ सेवन गरी आएका महतोले सोही स्थान बस्ने ३२ वर्षीय प्रमोद ठाकुरलाई भोजको विषयलाई लिएर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका ठाकुरलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपश्चात् थप उपचारको लागि विराटनगर न्युरो अस्पताल, विराटनगरतर्फ पठाइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्