काठमाडौं, १० चैत । सिराहामा आगलागीमा परी २ जनाको मृत्यु भएको छ । त्यस्तै सिराहा, बारा, बर्दिया र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १६ लाख २५ हजार ८ सय ६० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका–१४ अमिलटार बस्ने ३२ वर्षीय दिपक धमलाको घरमा शनिबार दिउँसो आगलागी हुँदा ६ वर्षीया छोरी दिक्षा धमला र सोही ठाँउ बस्ने निप्यराज पोखरेलकी ७ वर्षीया छोरी रितु पोखरेलको आगोले जलेर मृत्यु भएको छ । आगलागीबाट दिपक धमलाको घरभित्र रहेको सर–सामान जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै बाराको देवताल गाउँपालिका–५ बेनौली बस्ने गया शाहको फुसको गोठ घरमा शनिबार राति बिद्युत तार सर्ट भई आगलागी हुँदा गोठ, धान १० क्विन्टल, ना.१४ प ३७०२ नम्बरको मोटरसाइकल, चौपाय ७ वटा गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै बर्दियाको गुलरिया नगरपालिका–३ निमकोठिया बस्ने केशब रैदास सहित ३ जनाको घर, गोठ र परालको टौवामा शनिबार दिउँसो अचानक आगलागी हुँदा करिब १ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहस्थित रामगोबिन्द सुनारको सोनी कोल्डस्टोरमा आइतबार बिहान बिद्युत सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेको मदिरा, फ्रिज लगायतका सामाग्री र नगद १ लाख ९२ हजार ८ सय ६० रुपैयाँ समेत गरी करिब ७ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

