धादिङ, ६ चैत । होली मनाउन भनेर घर जाँदै गरेका एक युवकको मृत्यु भएको छ । पोखरातर्फ जाँदै गरेका उक्त युवकको आज धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका ५ बेनिघाट गोमती पुलमा एकापसमा ठोक्कीदा दुर्घटना भएको थियो ।
दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



लाेकपाटी न्यूज

