करिश्माले एसइइकाे परीक्षा दिने : कस्ताे छ तयारी ?

karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइकाे फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले दैनिक १६ घन्टासम्म पढ्ने गरेको बताउँछिन् ।

करिश्माले स्कुल पढ्न थालेको चार वर्ष भयो । ७२ सालमा कक्षा सातमा भर्ना भएर स्कुले अध्ययन शुरु गरेकी करिश्मा अहिले १० कक्षाकी विधार्थी हुन् । यतीबेला उनको लक्ष्य भनेकै यस पटकको एसइइमा बिशिष्ट श्रेणी ल्याउनु हो ।

यही १० चैतबाट यो वर्षको एसइइ परीक्षा शुरु हुँदैछ । परीक्षाको रुटिन आएपछि आफ्नो व्यस्तता अझ बढेको उनले बताइन् । स्कुल भर्ना भएपछि अभिनेत्री करिश्माले फिल्ममा समय दिन भने सकिनन् । सोही कारण उनी पछिल्लो समय तीन वर्ष यताबाट फिल्म अभिनयमा भन्दा स्कुल अध्ययनमा व्यस्त रहिन् ।

यो वर्ष उनले एउटा मात्र चलचित्रको गीतमा नृत्य गरिन् । आगामी ३ जेठमा रिलिज हुने चलचित्र जात्रै जात्राको गीत माया पिरिममा उनले नृत्य गरिन् । आईतबार काठमाडौंमा एक समारोहबीच यो गीतको रिलिज कार्यक्रममा अभिनेत्री करिश्माले भनिन्, ‘मलाई थुप्रै फिल्मबाट अभिनयको लागि बिगतझैं यो वर्ष पनि प्रस्ताव आएको थियो । तर, यो वर्ष नै एसइइ परेकाले फिल्ममा काम गरिन ।’ उक्त गीत निकै कर्णप्रिय बनेको र पढाईबाट आफू एक दिन भए पनि फुर्सद रहन जात्रै जात्राको यो गीतमा अभिनय गरेको पनि करिश्माले प्रकाश पारिन् ।

परीक्षाको लागि उनले अंग्रेजी, बिज्ञान, गणित बिषयको अहिले बढी तयारी गरिरहेकी छिन् । नेपाली लगायतका बाँकी बिषयको तयारी पनि आफूले पूर्ण रुपमा गरिरहेको अभिनेत्री करिश्माले बताइन् ।

यी अभिनेत्रीले हरेक वर्ष फागु पूर्णिमाको दिन आफ्नो घरमा चलचित्रकर्मीहरुलाई बोलाएर होलीको कार्यक्रम राख्दै आएकी थिइन् । तर, यस पटक १० चैतबाट एसइइकाे परीक्षा परेको र ६ गते होली रहेकाले परीक्षाको तयारी पुरा गर्न होलीको कार्यक्रम नराखेको बताइन् । उनी एसईईको परीक्षा सकिएपछि होलीको सट्टा बैशाखमा चलचित्रकर्मीलाई बोलाएर बनभोज कार्यक्रम राख्ने तयारी गरेको बताउँछिन् ।

एसइइपछि पढाईलाई निरन्तरता दिँदै उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएकी करिश्माले आफूसँगै एसइइ दिने विद्यार्थीहरुलाई राम्रो तयारीका साथ यस पटकको परीक्षा दिएर सफल हौं भन्ने अनुरोध गरेकी छिन् । जीवनको आफ्नो पहिलो एसइइ परीक्षा भएकाले आफूले पनि पूरा तयारी गरेर निर्धक्कसँग यो परीक्षा दिन लागेको करिश्माले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्