दमन गर्दा विप्लव समूह शक्तिशाली हुन्छ : अनिल झा

Anil_kumar_jha
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने, ‘राजपा शान्तिपूर्ण आन्दोलनको लाइन छोड्दैन। हाम्रा मागहरु पूरा भएका छैनन् ।’

बुधबार रिपोर्टर्स क्लबमा बोल्दै झाले यस्तो बताएका हुन् । उनले भने, ‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ । अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घट्नामा आधारित भएर भएको हो । त्यसरी टिकापुर घट्नामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन् ।’

उनले टिकापुर घट्नामा चौधरी संलग्न पनि नभएको जिकिर गरे । झाले थपे, ‘जुन दिन त्यो घट्ना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन् । अर्को दिन, थारुहरुको जुन प्रकारको अस्मिता, सम्पत्ति, इज्जत सबै लुटियो । त्यो घट्नाको बास्तविकताबारे गीरिशचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छ जस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’

उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ । उनले भने, ‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाई पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’

उनले थपे, ‘हामी कुनै पूर्व सहमति नभएमा संसदमा फेरि पनि त्यसको विषयमा कडा आवाज उठाउने नै छौं । जहाँसम्म रेशम चौधरीलाई भैसकेको सजाय छ, कुनैपनि तहको अदालतले हामी विधिको शासन मान्नेहरुको बारेमा गर्ने फैसला र निर्णयलाई हामी स्विकार गर्दछौं ।’

झाले अघि थपे, ‘तर, त्यो निर्णयबाट राजपा र रेशम चौधरीलगायतका जतिपनि अहिले फैसलाबाट जो–जो मर्माहत भएका छन् । ती सबै पीडितहरुको तर्फबाट उच्च अदालतमा चाँडै नै फेरि पनि सुनुवाईको लागि आग्रह गरिनेछ । मुद्दालाई त्यसभन्दा माथिको कोर्टमा लगिनेछ । र, हामीलाई विश्वास छ, पक्कै पनि यी अहिले दोषी कहलिएका रेशमजी लगायतका साथीहरु निर्दोष सावित हुनुहुन्छ ।’

सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने,‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनै पनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।’

उनले विगतको घट्नाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दापनि वार्ता तथा सम्वादद्धारा समस्याको अवतरण गराउने प्रयास गरिएको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखे । उनले भने,‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्