काठमाडौं। सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो एक सातामा ४९.०७ अंकले गिरावट आएको छ। नेपाली सेयर बजार चालु आर्थिक वर्षको सुरुवातसँगै उतारचढाब भइरहेको छ।
अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन बिहीबार पाँचौ दिनको लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। यो साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा भएकाले सेयर बजार पनि बन्द भयो। साताको तीन दिन मात्रै कारोबार भएको छ। तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ। बिहीबार पनि सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो।
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० बिन्दुमा झरेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२३ अंकले घटेको थियो। सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
साताको दोस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ बिन्दुमा झरेको थियो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले घटेको थियो। मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो।
बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ बिन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इन्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१३ अंकले बढेको छ। बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएको थियो। न्युज एजेन्सी नेपालबाट



लोकपाटी न्यूज

