काठमाडौं। भारतको झारखण्डामा आइतबार केबलकार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको भारतजीय सञ्चारमाध्यमहरुले जनाएको छ।
त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। इण्डिया टुडेले केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन नसकेको उल्लेख गरेको छ। १२ वटा केबलकारमा अहिले पनि ४८ जना मानिसहरू केबलकारमा अड्किएका छन्।
केबलकारमा अड्किएकाहरुलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।
त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।



लोकपाटी न्यूज

